+
+
Shares

कांग्रेस-एमाले गठबन्धन कायम रहे राष्ट्रिय सभामा खुम्चिन्छ माओवादी

२०७६ साल माघमा भएको चुनावबाट निर्वाचित १९ सदस्यहरू आगामी फागुनमा कार्यकाल सकिएर बिदा हुँदैछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १८ गते १४:२९
राष्ट्रिय सभाको फाइल फोटो ।

१८ वैशाख, काठमाडौं । हाल राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र पहिलो दल हो । तर, माओवादी पहिलो दल आगामी फागुनसम्म मात्रै कायम रहनेछ ।

त्यसपछि हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनपछि कुन दल ठूूलो दलको रूपमा आउँछ भन्ने तय हुनेछ ।

५९ सदस्यीय राष्ट्रिय सभा स्थायी सदन हो । जहाँ एकतिहाइ सदस्यका लागि प्रत्येक दुई/दुई वर्षमा निर्वाचन हुन्छन् । एकतिहाइ सदस्य बिदा भएर जाने र एकतिहाइ सदस्य नयाँ निर्वाचित भएर आउने संवैधानिक व्यवस्था छ ।

यही व्यवस्था अनुसार २०७६ साल माघमा भएको चुनावबाट निर्वाचित १९ सदस्यहरू आगामी फागुनमा कार्यकाल सकिएर बिदा हुँदैछन् ।

हाल माओवादी राष्ट्रिय सभामा १७ सांसदसहित सबैभन्दा ठूलो दल छ । वर्तमान सत्ता गठबन्धन कायम रहे माओवादीले आगामी माघमा हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा आफ्नो पार्टीका राष्ट्रिय सभा सदस्य जिताउन गाह्रो पर्नेछ ।

त्यसो हुँदा माओवादी १७ बाट १० सांसद संख्यामा झर्न सक्छ ।

संविधानको धारा ८६ अनुसार राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतदाता प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहन्छन् ।

प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतको भार फरक हुन्छ ।

प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख अधिकांश कुनै न कुनै राजनीतिक दल आवद्ध छन् । जसमा सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेका ज्यादा छन् ।

कांग्रेस र एमाले मिल्दा अर्को दलको कुनै व्यक्ति राष्ट्रिय सभामा आउन मुस्किल छ । यस्तोमा वर्तमान सत्ता गठबन्धन कायम रहे आगामी फागुनपछि राष्ट्रिय सभामा माओवादी केन्द्र पहिलो दलबाट खुम्चिन सक्ने नेताहरू बताउँछन् ।

हाल राष्ट्रिय सभामा माओवादीका १७, कांग्रेसका १६, नेकपा एमालेका १०, एकीकृत समाजवादीका ८, जनता समाजवादी पार्टी नेपालका ३, लोकतान्त्रिक समाजवादीका १, राष्ट्रिय जनमोर्चाका १ र ३ जना मनोनीत सांसद छन् ।

यसमध्ये १९ जनाको कार्यकाल सकिएर नयाँ आउने हुन् ।

बिदा हुन लागेका राष्ट्रिय सभा सदस्यहरूमा नेकपा एमालेका ८ जना, नेकपा माओवादी केन्द्रका ७ जना, एकीकृत समाजवादीका १, जनता समाजवादी पार्टी नेपालका १, लोकतान्त्रिक समाजवादी पार्टीका १ र मनोनीत १ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?