News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेले १८ सिटका लागि भागबण्डा गरी उम्मेदवार चयन गरेका छन्।
- नेपाली कम्युनिस्ट पार्टीले कांग्रेस र एमालेसँगको तालमेलबाट बाहिरिएर एकल रुपमा उम्मेदवारी दिने तयारी गरेको छ।
- माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुखहरूले मतदान गर्नेछन्।
२२ पुस, काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेसँगको तालमेल प्रयासबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाहिरिएको छ । योसँगै प्रमुख दलहरू मिलेर राष्ट्रिय सभा चुनाव लड्ने गरी महागठबन्धन बनाउने प्रयास तत्काललाई भत्किएको छ ।
राष्ट्रिय सभाको १८ सिटका लागि हुन लागेको निर्वाचनमा कांग्रेसले ९ जना र एमालेले ८ जना उम्मेदवार उठाउने गरी भागबण्डा गरेका छन् । उनीहरुले उम्मेदवार पनि चयन गरिसकेका छन् ।
कांग्रेस र एमालेले मधेश प्रदेशमा जनता समाजवादी पार्टी नेपाललाई एउटा सिट दिने भएका छन् । मधेश प्रदेशमा जसपा नेपाल तेस्रो दल हो । बाँकी प्रदेशमा कांग्रेस र एमाले नै प्रमुख प्रतिस्प्रर्धी दल हुन् ।
दुई मुख्य प्रतिस्प्रर्धी दल कांग्रेस र एमालेले भागवण्डा गरेर उम्मेदवार उठाउँदा अर्को प्रतिस्प्रर्धी दल नेपाली कम्युनिस्ट पार्टी महागठबन्धनबाट अलग भएको छ । यो पार्टीले एकल रुपमा उम्मेदवारी उठाउने तयारी गरेको छ ।
नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश ज्वाला अनलाइनखबरसँग भन्छन्, ‘कांग्रेस र एमालेसँग गठबन्धन नहुने भयो । हाम्रो पार्टीको तर्फबाट सबै ठाउँमा उम्मेदवारी पर्छ ।’
आगामी ११ माघमा हुने निर्वाचनका लागि आज बिहान १० बजेपछि उम्मेदवारी दर्ताको समय छ । निर्वाचन भने आगामी माघ ११ गते हुनेछ ।
राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुन्छन् । सात वटै प्रदेशमा ५५० प्रदेश सभा सदस्य छन् । ७५३ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी एक हजार ५०६ मतदाता रहन्छन् ।
यी मतदाताहरूले राष्ट्रिय सभा सदस्यको रिक्त १९ मध्ये १८ पदका लागि माघ ११ गते मतदान गर्नेछन् । मनोनित सांसद वामदेव गौतमको ठाउँमा भने सरकारले अर्को व्यक्तिको नाम सिफारिस गर्नेछ । बाँकी १८ पदका लागि चुनाव हुन लागेको हो ।
अंकगणितमा बलिया कांग्रेस–एमाले
कोशी प्रदेशबाट ३ जना, मधेश प्रदेशबाट ४ जना, बागमती र गण्डकी प्रदेशबाट २/२ जना, लुम्बिनी प्रदेशबाट ३ जना, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २/२ जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुँदैछ ।
राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस र एमाले मिल्दा अन्तर्घात भएन भने यी दुई दलले राष्ट्रिय सभामा हुन लागेका निर्वाचनमा सबैतिर जित निकाल्न सक्नेछन् । मधेश प्रदेशमा रहेको तेस्रो शक्तिलाई समेत समेटेकाले यसलाई अझ मद्दत गर्नेछ ।
कोशी प्रदेशमा एमालेको ४२१० र कांग्रेसको ३७२२ मतभार जोड्दा ७०२२ हुन्छ । जुन कूल मतभार १०१३५ को दुई तिहाइ बहुमत हो ।
यो प्रदेशमा नेकपाको १६२३ मतभार छ ।
मधेश प्रदेशमा पनि कांग्रेस र एमाले बहुमतमा छन् । यो प्रदेशमा कांग्रेसको ३१०४ र एमालेको २४०८ जोड्दा ५५१२ मतभार हुन्छ । यो जम्मा मतभार १०८३९ को बहुमत हो ।
मधेश प्रदेशमा नेकपा चौथो छ र यसको १३४६ मतभार छ ।
बागमती प्रदेशमा कांग्रेसको ४०१३ र एमालेको २५७१ मतभार छ । दुवै जोड्दा ६५८४ मतभार पुग्छ । यो बागमती प्रदेशको जम्मा मतभार १०३३५ को बहुमत हो । बागमती प्रदेशमा नेकपा दोस्रो ठूलो दल हो । यहाँ नेकपाको मतभार २७३८ रहेको छ ।
गण्डकी प्रदेशमा कांग्रेसको मतभार २७०४ छ । एमालेको २४५८ छ । दुवै मिल्दा ५१६२ पुग्छ । यो पनि कूल मतभार ६४१० को दुई तिहाइ मत हो । यहाँ नेकपाको १०१३ मतभार छ
लुम्बिनीमा कांग्रेसको ३१७९ र एमालेको २८१० मतभार जोड्दा ५९८० हुन्छ । यो पनि कूल मतभार ८७५३ को दुई तिहाइ मत हो । यहाँ नेकपाको १३९६ मतभार छ ।
कर्णालीमा पनि कांग्रेस र एमाले मिल्दा (१८६३ र ११(५ मतभार) ३०५८ मतभार पुग्छ । यहाँ ५१२२ कूल मतभार हो । यो प्रदेशमा दोस्रोमा रहेको नेपाली कम्युनिस्ट पार्टीको १८४४ मतभार छ ।
सुदूरपश्चिममा कांग्रेसको २५५८ मतभार छ । यसमा एमाले १५३३ थपिए ४०९१ पुग्छ । यहाँ जम्मा ६१५३ मतभार छ । जसको दुई तिहाइ मतभार कांग्रेस र एमाले मिल्दा पुग्छ ।
यहाँ नेपाली कम्युनिस्ट पार्टीको १३६५ मतभार छ ।
प्रतिक्रिया 4