+
+
Shares

रेशम पक्रन पत्र लेख्ने महिमानलाई ३ कसुरमा म्याद थप गरिने

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १९ गते १३:५६

१९ वैशाख, काठमाडौं । सर्वोच्च अदालतको लेटरहेड दुरुपयोग अनधिकृत पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई तीन वटा कसुरमा म्याद थप गर्ने तयारी गरिएको छ ।

रेशम चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार पठाउनुपर्ने पत्र लेख्ने अदालतको मुद्दा रिट दर्ता शाखाका विष्टविरुद्ध तीन वटा कसुरमा म्याद माग्ने तयारी प्रहरीले अघि बढाएको छ । सोही अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंले तयारी अघि बढाएको छ ।

प्रहरी स्रोतका अनुसार उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ८४, दफा ८६ र दफा २७६ को कसुरमा म्याद माग्नुपर्ने भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा कागजात पेश गर्ने तयारी गरिएको छ । त्यसपछि सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतसँग म्याद माग्ने छ ।

मुलुकी फौजदारी अपराध संहिताको दफा ८४ मा झुट्टा जानकारी दिन नहुने उल्लेख छ । कसैले कुनै राष्ट्रसेवकलाई निजले कानुन बमोजिम गर्नुपर्ने काम गर्नबाट रोक्न लगाउन वा गर्न नहुने काम गर्न लगाउने नियतले कसैलाई झुट्टा जानकारी दिन हुँदैन । यस्तो कसुर गरेमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना दुवै सजाय हुने व्यवस्था छ ।

दफा ८६ मा राष्ट्र सेवकलाई मद्दत दिन इन्कार गर्न नहुने उल्लेख छ । कुनै राष्ट्रसेवकले आफ्नो पदीय कर्तव्य पालन गर्दा यस्तो काममा मद्दत दिनपर्ने कानुनी कर्तव्य भएको व्यक्तिले त्यस बमोजिम मद्दत दिन इन्कार गर्न हुँदैन ।

यस्तो कसुर गर्नेलाई ६ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने उल्लेख छ ।

त्यसैगरी दफा २७६ मा कीर्ते गर्न नुहने छ । उनले कीर्ते गरेर दुरुपयोग गरी अनधिकृत पत्र लखेको आरोप छ । जसअनुसार अदालतको फैसला वा आदेश कीर्ते गर्नेलाई ८ वर्षसम्म कैद र ८० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ ।

अहिले प्रहरी हिरासतमा रहेका विष्टले अनधिकृत पत्र लेख्दै रेशमलाई पक्राउ गर्न भन्दै उनी आफैं गत बुधबार प्रहरी परिसर पुगेका थिए । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेर डिल्लीबजार कारागार पुर्‍याएको थियो । पत्र अनधिकृत भएको खुलेपछि पाँच घण्टामै रेशम रिहा भएका थिए भने विष्ट पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?