
२१ वैशाख, सुर्खेत । सुर्खेतको भेरीगंगामा एक युवती मृत भेटिएकी छिन् । गुर्भाकोट नगरपालिका–५ की २६ वर्षीया प्रेमा ओली आइतबार दिउँसो मृत भेटिएकी हुन् ।
भेरीगंगा नगरपालिका–१२ झिगेनारा खोलामा मृत भेटिएकी ओलीको आइतबार बेलुका मात्रै शव पहिचान भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एव डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।
उनका अनुसार घटनास्थलमा पुगेका आफन्तले ओलीको शव पहिचान गरेका हुन् । रत्न राजमार्गको छिन्चु–सुब्बाकुना सडक खण्डको छिन्चु बजारदेखि झन्डै एक किलोमिटरको दुरीमा उनको शव भेटिएको थियो ।
पानीमा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी शनिवार बिहान घरबाट छिन्चु बजार जान्छु भन्दै हिँडेको र घर नफर्केपछि परिवारले प्रहरीलाई खबर गरेको थियो ।
उनका श्रीमान् नेपाली सेनामा कार्यरत रहेको र घरमा सासू, ससुरा, एक छोरी सहित उनी बस्दै आएकी थिइन् । ‘मृतकको शरीरमा घाउ, चोट पनि देखिएको छ । शवको प्रकृति हेर्दा शंका गर्ने ठाउँ देखिएकाले गम्भीर भएर अनुसन्धान गरिरहेका छौँ,’ डिएसपी बुढथापाले अनलाइनखबरसँग भने ।
अनुसन्धानका लागि प्रहरीको केनाई शाखा नेपालगन्जबाट कुकुरसहितको टोलीसमेत पुगेको छ । घटनास्थलको मुचुल्का तयार गरे पोस्टमार्टमका लागि शव पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4