
२४ वैशाख, काठमाडौं । बाल मन्दिरको जग्गा भाडा प्रकरणमा घोटाला गरेको आरोपमा १७ जनाविरुद्ध मुद्दा दायर भएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनअनुसार बुधबार काठमाडौं जिल्ला अदालतमा ठगीको कसुरमा मुद्दा दायर भएको हो ।
सीआईबीले यो कसुरमा २० जनाविरुद्ध पक्राउ पुर्जी लिएर अनुसन्धान अघि बढाएको थियो । तीमध्ये तीन जनाको मृत्यु भइसकेको पाइएको छ । मृत्यु भएको भन्दै तीन जनाको हकमा मुद्दा नचल्ने निर्णय गरिएको छ ।
मृत्यु भएका कारण मुद्दा नचल्नेहरूमा बृहस्पती विद्यालय व्यवस्थापन प्रालि (वृहस्पती विद्यासदन)का अख्तियार प्राप्त तत्कालीन अध्यक्ष चिरन्जिवि तिवारी, नेपाल बाल संगठनका तत्कालीन कोषाध्यक्ष मनोहर गोपाल श्रेष्ठ र नेपाल बाल संगठनका तत्कालीन उपमहासचिव सुमन शाक्यविरुद्ध मुद्दा नचल्ने निर्णय भएको अभियोगपत्रमा उल्लेख छ ।
उनीहरू बाहेक १७ जनाविरुद्ध ६० करोड ३९ लाख ७७ हजार २३१ रुपैयाँ बिगो मागदाबी गर्दै ठगीको कसुरमा मुद्दा दायर भएको छ । मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २४९ अनुसारको ठगी कसुरमा मुद्दा दायर भएको छ । जसमा ७ वर्षसम्म कैद हुनसक्ने उल्लेख छ ।
नक्सालस्थित नेपाल बाल संगठन (बालमन्दिर) को नाममा रहेको ११९ रोपनी १२ आना ३ पैसा जग्गामध्ये २८ रोपनी ५ आना १ पैसा हाल वृहस्पति विद्या सदनले भाडामा लिएको छ । वृहस्पतिले भाडामा लिएकोमध्ये ५ रोपनी जग्गा राई स्कुललाई २०७६ सालदेखि भाडामा दिएको थियो ।
२०५९ सालमा उक्त जग्गा २०८९ सालसम्म भाडामा लिनेदिने सम्झौता भए पनि उक्त अवधि सकिन १७ वर्ष बाँकी हुँदै २०७२ साल साउन ३ गते थप ३८ वर्षका लागि सो जग्गा वृहस्पति विद्या सदनले भोगचलन गर्न पाउने गरी सम्झौता भएको थियो ।
पछिल्लो सम्झौता अनुसार यो जग्गा वृहस्पति विद्या सदनले २१२७ सालसम्म उपभोग गर्न पाउने देखिएको छ ।
भाडादर प्रतिरोपनी ३ लाख ९३ हजार रुपैयाँका दरले २८ रोपनीभन्दा बढी जग्गाको वार्षिक भाडा १ करोड १० लाख रुपैयाँ लिने गरी नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्य र वृहस्पति विद्या सदनका तर्फबाट पुरुषोत्तमराज जोशीले सम्झौता गरेका थिए ।
यो प्रकरणमा अहिले मुद्दा दर्ता भएकी नेपाल बाल संगठनकी पूर्वअध्यक्ष रीता सिंह वैद्य नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहकी दिदी हुन् ।
चलनचल्तीको भाडाभन्दा कम दरमा भाडामा लिनेदिने सम्झौता गरेर ठगी गरेको भन्दै बाल संगठनका तर्फबाट परेको उजुरीमा सीआईबीले अनुसन्धान गरेको थियो ।
प्रतिक्रिया 4