
News Summary
Generated by OK AI. Editorially reviewed.- डा. सीके राउतले संघीय सरकारले विकास निर्माणका काम प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्ने बताएका छन्।
- प्रदेश र स्थानीय तहहरूले विकास कार्यमा केन्द्र सरकारले सहकार्य र समन्वयको भूमिका मात्र खेल्नुपर्ने र स्थानीय तहलाई बलियो बनाउनुपर्ने सुझाव दिएका छन्।
- राउतले जनता आवास कार्यक्रमप्रति प्रश्न उठाउँदै यसले विपन्न वर्गलाई विस्थापित बनाएको आरोप लगाएका छन्।
३१ वैशाख, काठमाडौं । जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. सीके राउतले संघीय सरकारले विकास निर्माणका काम प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्न माग गरेका छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै अध्यक्ष राउतले प्रदेश र स्थानीय तहलाई बलियो बनाउन प्रस्ताव गरकाे हुन् ।
‘अब विकासकारी हस्तान्तरणको सिद्धान्तलाई लिनुपर्दछ । यो फलानोको घरदेखि ढिस्कानोको घरसम्म ढलान बनाउने काम संघीय सरकारको होइन,’ उनले भने, ‘विकास निर्माणका सबै कामहरु प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गर्नुपर्छ । उनीहरुसँग सहकार्य र समन्वय गर्ने होइन ।’
स्थानीय स्तरका सडक, ढलानजस्ता विकास निर्माणको कार्य संघीय सरकारको नभएको उनले तर्क गरे । उनले विकास कार्यमा केन्द्र सरकारले समन्वय र सहकार्यको भूमिका मात्रै खेल्नुपर्ने बताए ।
उनले भने, ‘त्यही भएर अब हामीले धेरै लोभ नगरेर विकास निर्माणका सबै काम प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्ने सिद्धान्त बजेटमा अवलम्बन गर्नुपर्छ ।’
अध्यक्ष राउतले ‘जनता आवास कार्यक्रम’ प्रति प्रश्न उठाउँदै यसले विपन्न वर्गलाई विस्थापित बनाएको आरोप लगाए । उनले सरकारले ल्याउने बजेटले जनताको वास्तविक समस्या सम्बोधन गर्नुपर्नेमा उनको जोड छ ।
नागरिकमैत्री सेवा उपलब्ध गराउन सिंहदरबारले नसक्ने कुरा व्यवहारतः पुष्टि भइसकेको समेत उनको भनाइ छ । —न्युज एजेन्सी नेपाल
प्रतिक्रिया 4