
News Summary
Generated by OK AI. Editorially reviewed.- कोशी अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले नियम उल्लंघन गरी सोझै खरिद गरेका छन्, जसले प्रतिस्पर्धाको अवसर नदिएको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ।
- सार्वजनिक खरिद नियमावली अनुसार २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको सामग्री सोझै खरिद गर्न सकिने व्यवस्था भएता पनि, उच्च मूल्यको खरिद नियम उल्लंघन भएको पाइएको छ।
- प्रतिस्पर्धा सीमित बनाएर गरिएको खरिद कार्यले नियम उल्लंघन गरेको र यसले सरकारी स्रोतको दुरुपयोग हुने जोखिम रहेको महालेखा परीक्षकको रिपोर्टले औंल्याएको छ।
३१ वैशाख, काठमाडौं । कोशी अस्पतालले गत आर्थिक वर्षमा ८ करोड ६१ लाख ७१ हजार रुपैयाँ बराबरको औषधि तथा औषधिजन्य सामग्री प्रतिस्पर्धा बेगर सोझै खरिद गरेको पाइएको छ ।
महालेखा परीक्षकको प्रतिवेदन अनुसार कुल खरिदमध्ये ३ करोड ३० लाख ६९ हजार रुपैयाँ गत वर्षको टेन्डर दरबाट र बाँकी ४ करोड ९१ लाखको सोझै खरिद गरिएको हो ।
तर, कोशी अस्पतालले एकमुष्ट लागत अनुमान बनाएर खुला बोलपत्रमार्फत खरिद गर्नु पर्ने भएता पनि, प्रतिस्पर्धा नगराई औषधि खरिद गरिएको देखिएको छ ।
दोस्रो पटक पनि अन्य प्रतिस्पर्धीलाई अवसर नदिई पुनः बोलपत्र आह्वान नगरी सोही प्रक्रिया दोहोर्याइएको थियो ।
यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ करोडभन्दा बढीको औषधि उपकरण सोझै खरिद भएका छन् ।
सार्वजनिक खरिद नियमावलीलाई छलेर प्रतिष्ठानले ६ करोडभन्दा बढी मूल्यका औषधिजन्य तथा अन्य सामग्री सोझै खरिद गरेको महालेखाको प्रतिवेदनमा छ ।
र, प्रतिवेदनअनुसार प्रतिष्ठानले पटक–पटक तीन कोटेसन माग्ने शैलीमा ६ करोड २७ लाख ८८ हजार रुपैयाँ बराबरको सामग्री खरिद गरेको र त्यसमध्ये केवल असार महिनामा मात्र ६ करोड १६ लाख १५ हजार रुपैयाँको भुक्तानी गरेको देखिएको छ ।
यसरी प्रतिस्पर्धा सीमित बनाएर गरिएको खरिद कार्य नियमावलीविपरीत रहेको महालेखा परीक्षक कार्यालयको ठहर छ ।
सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८५(१क) अनुसार सार्वजनिक निकायले २५ लाख रुपैयाँसम्मको औषधिजन्य मालसामान उत्पादनकर्ताले राष्ट्रियस्तरको पत्रिकामा प्रकाशित मूल्यमा सोझै खरिद गर्नसक्ने व्यवस्था छ ।
यस्तै, नियम ८४(१क) बमोजिम ५० लाख रुपैयाँसम्मको सामग्री सिलबन्दी दरभाउ पत्रमार्फत खरिद गर्न मिल्ने उल्लेख गरिएको छ । त्यसभन्दा माथिको खरिद भने बोलपत्र प्रणाली मार्फत मात्र गर्नुपर्ने व्यवस्था छ ।
प्रतिक्रिया 4