
News Summary
Generated by OK AI. Editorially reviewed.- सांसद सोबिता गौतमले तीनकुने घटनाको क्षतिपूर्ति, घाइतेको अवस्था र पुनस्र्थापनाका सवाल गृहमन्त्री रमेश लेखकलाई सोधिन्।
- गृहमन्त्रीले घटनामा घाइते दुईजनाको उपचार जारी रहेको र निःशुल्क उपचार व्यवस्था भएको जानकारी दिए।
५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले गत चैत १५ गते आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने तीनकुने घटनामा भएको क्षति र घाइतेको अवस्थाबारे गृहमन्त्री रमेश लेखकलाई प्रश्न गरेकी छिन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा भाग लिँदै उनले घटनाको क्षतिपूर्ति स्थानीयले कहिले प्राप्त गर्ने ? घाइतेको अहिलेको अवस्था के हो ? कुरुवालाई के व्यवस्था गरिएको छ ? लगायतका प्रश्न गरिन् ।
‘काठमाडौं क्षेत्र नम्बर २ अन्तर्गत तीनकुने घटनाको क्षतिपूर्ति स्थानीयहरूले कहिले प्राप्त गर्छन् ? उक्त घटनामा गोली लागि घाइते भएका घाइतेको वर्तमान स्थिति के छ ? उपचारको क्रममा राज्यको तर्फबाट कस्तो सहयोग प्राप्त भइरहेको छ ?,’ उनले प्रश्न गरिन्, ‘घाइतेको कुरुवाको लागि के व्यवस्था गरिएको छ ? घाइतेको समाजमा पुनस्र्थापनाका लागि रोजगारीको सुनश्चितताका लागि के भएको छ ?’
सांसद गौतमको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले तीनकुने घटनामा घाइते भएकामध्ये २ जनाको उपचार जारी रहेको जानकारी गराए ।
साथै, सरकारले घाइतेको निःशुल्क उपचार गरिरहेको पनि गृहमन्त्री लेखकले बताए ।
‘काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको घटनाको क्रममा भएको क्षतिको सन्दर्भमा अनुसन्धान कार्य जारी रहेको छ । उक्त घटनामा गोली लागि घाइते भएकामध्ये हाल २ जना उपचाररत रहेका, बाँकी स्वास्थ्यलाभ गरी घर फर्किसकेको जानकारी म अनुरोध गर्न चाहन्छु । घाइतेको सरकारले निशुल्क उपचारको व्यवस्था गरिरहेको छ,’ सांसद गौतमको प्रश्नमा गृहमन्त्री लेखकले भनेका छन् ।
अन्य व्यवस्था प्रचलित कानुन अनुसार नै हुने उनले बताए ।
सांसद गौतमले यो घटनामा देखाएको गम्भीरता र महत्त्वलाई धन्यवाद दिँदै गृहमन्त्री लेखकले आफू र सरकार पनि गम्भीर रहेको बताए ।
‘उहाँहरूको पुनस्र्थापना र रोजगारीका लागि सरकार गम्भीर छ, आवश्यक कार्य गरिनेछ भन्न चाहन्छु धन्यवाद,’ सांसद गौतमले भनिन्, ‘जुन गम्भीरता र महत्त्वका साथ विषय उठाउनुभएको छ त्यसका लागि धन्यवाद । मैले गम्भीरतापूर्वक लिएको छु, सरकारले गम्भीरताका साथ लिएको छ ।’
प्रतिक्रिया 4