 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय युवा संघ नेपाल दशौं राष्ट्रिय महाधिवेशनमा पोखरामा हुँदैछ ।
- राष्ट्रिय महाधिवेशनले ९ सदस्यीय पदाधिकारी र १५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ
- संगठनको नेतृत्वका लागि पाँच जनाकाे दावेदारी देखिएकाे छ।
६ जेठ, काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल पोखरामा हुने दशौं राष्ट्रिय महाधिवेशनको अन्तिम तयारीमा जुटेको छ ।
नेकपा एमालेमा आवद्ध युवाहरूको संगठन भएकाले पार्टी पंक्तिकै ध्यान पोखराकेन्द्रित हुन पुगेको छ । ‘यो संगठनको संस्थापक अध्यक्ष अहिले आफैं देशको प्रधानमन्त्री र पार्टीका अध्यक्ष हुनुहुन्छ, त्यसो भनेपछि युवा संघको महाधिवेशनप्रति सिंगो पार्टीको ध्यान जाने नै भयो,’ युवा संघका इन्चार्ज राजीव पहारी भन्छन् ।
पार्टी पंक्तिको चासोलाई सम्बोधन गर्नेगरी महाधिवेशन सम्पन्न हुने उनी बताउँछन् । ‘इन्चार्जको हैसियतमा भन्दा युवा संघको नेतृत्व सर्वसम्मतिले चयन हुन्छ, त्यसको पहल कदमी लिइनेछ,’ पहारी भन्छन्, ‘अहिले जसरी नेतृत्वमा दावी गरिँदैछ, त्यसलाई पनि स्वभाविक रूपमा लिनुपर्छ ।’
तर सर्वसम्मतिले नेतृत्व चयन सजिलो भने देखिँदैन । एमालेको बदलिँदो निर्णय बमोजिम ९ सदस्यीय पदाधिकारी र १५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नुपर्नेछ । जबकि अहिले ३३३ सदस्यीय केन्द्रीय कमिटी र १७ जना पदाधिकारी छन् ।
४० वर्ष नाघेकाहरू स्वतः संगठनको नेतृत्वबाट बाहिरिने भएकाले केही सहज भने छ । उमेर हदका कारण उपाध्यक्षहरू अमित लामा, पुष्प श्रेष्ठ, रमेश तिवारी, सीता सुवेदी र अनिता कन्दङ्गवा संगठनबाट अलग भइसकेका छन् ।
बाँकी पदाधिकारीमा पनि अध्यक्षकै आकांक्षी चारजना देखिएका छन् । हालका अध्यक्ष क्षीजित थेबे, उपाध्यक्षहरू कृष्णहरी केसी, प्रकाश गौतम, महाराज गुरुङ र महासचिव सुमन पुरी भावी नेतृत्वको दौडमा छन् ।
अरु पदाधिकारीमा पनि दाबेदार संख्या धेरै छन् । हालका सचिवहरू निरोज पौडेल, महेश चौलागाई, निशा लिम्बू, कुवेर अधिकारी, विनय शाह, खेम शर्मा, बलराम बेलवासे र पर्वत भण्डारी माथिल्लो पदमा जान चाहन्छन् ।
सचिवभन्दा माथि अध्यक्ष, एक महिलासहित दुई उपाध्यक्ष, एक महासचिव र एक उपमहासचिव पद मात्र छन् ।
धेरैको चाहना महासचिव पदमै छ । हालका उपमहासचिव राजन थापा स्वभाविक महासचिव पदका दावेदार छन् । कोषाध्यक्ष राकेश राईले पनि दाबी गर्ने पद उपाध्यक्ष वा महासचिव नै छ ।
विधान बमोजिम चार जना सचिव निर्वाचित हुनेछन् । तर यो पदमा पनि आकांक्षी संख्या धेरै छन् । सचिवालय सदस्यहरू विनोद राई, मदन गिरी, मदन भण्डारी, मोहम मिजमलगायत सचिव पदका स्वभाविक आकांक्षी छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4