
News Summary
Generated by OK AI. Editorially reviewed.- डेनमार्कको कोपनहेगनमा आयोजित इनास युरोपको दशौं क्षेत्रीय कार्यक्रमको नाच र गीत प्रतियोगितामा आशिष श्रेष्ठ र झरना सुनार प्रथम भए ।
- प्रतियोगितामा विभिन्न देशका प्रतिस्पर्धीहरूले भाग लिएका थिए र विजेताले एक वर्षको ‘गुडविल एम्बासडर’को भूमिका पाउनेछन्।
- कार्यक्रमले नेपाली कला र संस्कृतिको प्रवर्द्धन गर्दै युरोपभरका नेपाली कलाकारहरूलाई जोड्ने कार्यमा योगदान दिएको छ ।
बार्सिलोना । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) युरोपद्वारा आयोजित दशौं क्षेत्रीय कार्यक्रमको गायन र नृत्य प्रतियोगितामा डेनमार्कका आशिष श्रेष्ठ र झरना सुनारले पहिलो स्थान हासिल गरेका छन्।
मे १६ र १७ गते डेनमार्कको कोपनहेगनमा सम्पन्न दुईदिने कार्यक्रमको दोस्रो दिन सम्पन्न प्रतियोगितामा युरोपभरका प्रतिस्पर्धीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
गायनतर्फ फ्रान्सकी अञ्जली बराइली दोस्रो र डेनमार्ककै स्वरुपा केसी तेस्रो स्थानमा रहे।नृत्यतर्फ बेल्जियमकी आरोही शर्मा दोस्रो र फ्रान्सकी रोशिना अधिकारी तेस्रो भइन् । जर्मनीकी त्रिस्ता कार्की ढोलीले ‘स्व. सन्तकुमार थापा मगर स्मृति ट्रफी’ सहित विशेष पुरस्कार हात पारिन्।
विजेताहरूले इनास युरोपका लागि एक वर्षको ‘गुडविल एम्बासडर’को भूमिका पाउनेछन्। साथमा प्रथमले ८ सय, दोस्रोले ५ सय र तेस्रोले ३ सय युरो नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्राप्त गरे।
इनास युरोप क्षेत्रीय समिति र इनास डेनमार्क राष्ट्रिय समितिको संयुक्त आयोजनामा सम्पन्न दुई दिने कार्यक्रमको पहिलो दिन दशौं युरोपियन भेला सम्पन्न भएको थियो।
युरोपस्थित राष्ट्रिय समितिहरूले कार्य विवरण प्रस्तुत गर्दै भावी योजना पनि सार्वजनिक गरे ।
सहभागीहरूले यस्ता कार्यक्रमहरूले युरोपभर छरिएका नेपाली कलाकारलाई जोड्ने र नेपाली कला-संस्कृतिको प्रवर्द्धनमा योगदान दिने बताए।कार्यसम्पादनको आधारमा उत्कृष्ट राष्ट्रिय समिति घोषित हुने परम्पराअनुसार यस वर्षको उपाधि इनास जर्मनीले जितेको छ ।
युरोप संयोजक प्रकाश तिवारीको अध्यक्षता र इनास ग्लोबलका संस्थापक अध्यक्ष पुष्प बरुवालको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा युरोपभरका समितिका प्रतिनिधि, सल्लाहकार तथा संघसंस्थाका पदाधिकारीहरूको उल्लेख्य उपस्थिति थियो ।
कार्यक्रमको दोस्रो दिनको सांस्कृतिक समारोहमा डेनमार्कका लागि नेपाली राजदूत सुम्निमा तुलाधर प्रमुख अतिथि थिइन् ।
उनले नेपाली कला, भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा इनासको भूमिका महत्वपूर्ण रहेको बताउँदै नेपाली दूतावासको निरन्तर साथ रहने प्रतिबद्धता जनाइन्।इनास युरोपको एघारौं युरोप स्तरीय कार्यक्रम बेल्जियममा हुने भएको छ ।
प्रतिक्रिया 4