
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रेस काउन्सिल नेपालले ५ मातृभाषामा अनुवादित पत्रकार आचारसंहिता सार्वजनिक गर्यो।
- अध्यक्ष बालकृष्ण बस्नेतले मातृभाषाको प्रवर्द्धनमा पत्रकारिताको भूमिका महत्वपूर्ण भएको बताए।
- डा. गोपाल ठाकुरले मातृभाषाको संरक्षण र प्रवर्द्धनका लागि सहकार्य आवश्यक रहेको उल्लेख गरे।
९ जेठ, काठमाडौँ। प्रेस काउन्सिल नेपालले विभिन्न ५ मातृभाषामा अनुवाद गरी पत्रकार आचारसंहिता सार्वजनिक गरेको छ । योसहित नेपाली मिडियामा विभिन्न ८ मातृभाषाका आचारसंहिता प्रयोगमा आएका छन् ।
शुक्रबार काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेत, भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुर र राष्ट्रिय समाचार समातिका अध्यक्ष धर्मेन्द्र झाले भोजपुरी, राई वान्तावा, तामाङ, डोट्याली, लिम्बु भाषामा अनुवादित पत्रकार आचारसंहिता सार्वजनिक गरे । यसअघि काउन्सिलले थारू, मैथिली र नेपाल भाषामा अनुवादित आचारसंहिता सार्वजनिक गरिसकेको छ ।
कार्यक्रममा बोल्दै भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले स्थानीयपन नहुने र मौलिकता छोडियो भने मातृभाषा नरहने बताए । प्रेस काउन्सिल नेपालले आयोजना गरेको विभिन्न ५ भाषामा अनुवादित पत्रकार आचारसंहिता र संहिता भाषागत पत्रकारिता विशेषाङ्क सार्वजनिकीकरण कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले पत्रकारिताको माध्यमबाट मातृभाषाको संरक्षण गर्न जरुरी भएको उल्लेख गरे ।
डा. ठाकुरले लेख्यरुप नभएका भाषाको प्रवद्र्धनका लागि प्रेस काउन्सिल नेपाल र भाषा आयोगबिच सहकार्य गर्न तयार रहेको बताए । काउन्सिलले मातृभाषामा पत्रकार आचारसंहितालाई अनुवाद गर्ने कार्य साहसिक कार्य भएको बताए । उनले भने, ‘भाषा एकबाट अर्कोमा अनुवाद गर्नु आफैँमा नयाँ सिर्जना हो यो एक एड्भेन्चर हो।’
काउन्सिलले नेपाली भाषाामा रहेको पत्रकार आचारसंहितालाई नेपालभाषा, थारू, मैथिली, राई वान्तावा, वाम्बुले राई, भोजपुरी, तामाङ र डोट्याली भाषामा समेत अनुवाद गरेको छ । ती मध्ये ५ भाषामा अनुवादित आचारसंहिता शुक्रबार सार्वजनिक गरिएको हो ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले देशका विभिन्न भूभागमा बोलिने मातृभाषाको प्रबद्र्धनमा पत्रकारिताको महत्वपूर्ण योगदान रहने बताउनुभयो ।उहाँले सञ्चारको सबैभन्दा नजिकको र बुझिने भाषा नै मातृभाषा भएकाले यसको प्रवर्द्धनका निम्ति काउन्सिलले काम गरेको उल्लेख गरे ।
‘मातृभाषाका सञ्चार माध्यम नेपाली पत्रकारिताका सुन्दरता र राज्यको वैभव हुन् । त्यसैले यसलाई प्रबद्र्धन गर्न काउन्सिलले विभिन्न रचनात्मक काम गर्दै आएको छ, अध्यक्ष बस्नेतले भने ।
कार्यक्रममा बोल्दै राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले देशका धेरै भुभागमा अझै पनि नेपाली भाषा बुझ्ने समुदाय नभएकाले मातृभाषामा पत्रकारिता गर्नु जरुरी भएको उल्लेख गरे । आम जनता सुसूचित गर्न मातृभाषा पत्रकारिताको अर्को विकल्प नभएको भन्दै उहाँले मातृभाषा र स्थानीयपनलाई वेवास्ता गरिए देशको लोकतन्त्र नै नबाँच्ने बताए ।
यस्तै सार्वजनिक सेवा प्रसारणका सञ्चालक समिति सदस्य फुलमान बलले मातृभाषा सबल बनाउन तत् भाषामा पत्रकारिता गर्नु जरुरी रहेको बताए । पत्रकारिताको माध्यमबाट मातृभाषाको विस्तारका लागि अहिले सञ्चारको शैली फेरिनुपर्ने उल्लेख गरे ।
पत्रपत्रिका रेडियो र टेलिभिजन मात्र नभइ न्यू मिडियाको माध्यमबाट मातृभाषामा पत्रकार आचारसंहिताको प्रचार प्रसार गरिनुपर्ने उनको भनाइ थियो । ‘मातृभाषामा भइरहेको पत्रकारिता न्यू मिडियामा रुपान्तरण हुनैपर्छ यसले मातृभाषा बचाउँछ’ उनले भने ।
प्रतिक्रिया 4