+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

धितोपत्र ब्रोकर पनि जोगिन सकेनन् दीपेन्द्र अग्रवालको ठगीबाट

धितोपत्र बोर्डले अनुसन्धान गर्दा अग्रवालले दर्जन बढी धितोपत्र दलाल कम्पनीबाट कारोबार गर्ने र सकेसम्म झुक्याउन खोज्ने गरेको पाइएको छ । उनले सेयर मूल्यमा अस्वाभाविक चलखेल गर्न सेयर उपलब्ध नै नहुने गरी माग अर्डर गर्ने विषयमा समेत बोर्डले निगरानी गरिरहेको छ ।

भुवन पौडेल भुवन पौडेल
२०८२ जेठ ११ गते ८:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल स्टक एक्स्चेन्जले सेयर कारोबारी दीपेन्द्र अग्रवालको गतिविधि अनियमितता र करिब १३ करोडको कर तिर्दै नपाएको विषयमा अनुसन्धान गरिरहेको छ।
  • अग्रवालले विभिन्न धितोपत्र दलाल र कम्पनीसँग कारोबार गर्दा अनियमितता र झुक्याउने कार्य गरेको आरोप लागेको छ, जसको अनुसन्धान जारी छ।
  • धितोपत्र बोर्डले अग्रवालमाथि अनुसन्धान पूरा गरी प्रहरीलाई प्रतिवेदन पठाएको भए पनि थप कारबाहीमा ढिलाई भएको जानकारी दिइएको छ।

९ जेठ, काठमाडौं । केही वर्षअघि सेयर कारोबारी दीपेन्द्र अग्रवालले धितोपत्र दलाल नम्बर ४३ बाट कारोबार गर्थे । अरूको टीएमएस चलाउने अग्रवालले उक्त धितोपत्र ब्रोकरसँगको सेयर खरिद गर्दा तिर्नुपर्ने करिब १३ करोडको हिसाब अझै पनि मिलेको छैन ।

अग्रवालको कारोबारलाई लिएर नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का उच्च अधिकारीले अस्वाभाविक गतिविधि नगर्न सुझाउँदै खुट्टा भाँचिदिने भन्दै धम्क्याउन समेत भ्याएका थिए ।

त्यसैगरी पछिल्लो समय उनले कारोबार गरेको सिप्ला सेक्युरिटिजको विवाद प्रहरीकोमा नै पुगेको थियो । सिप्ला सेक्युरिटिजले बोर्डमा बुझाएको विवरण अनुसार करिब पौने करोड रुपैयाँ पाउनुपर्ने देखिन्छ । तर, अग्रवालले भने ३ करोड ब्याजसहित १० करोड ८८ लाख पाउनुपर्ने दाबी गर्दै धितोपत्र बोर्डमा उजुरी दिएका थिए । त्यसपछि सोही विषयलाई लिएर धितोपत्र बोर्डले पनि अनुसन्धान गर्‍यो । बोर्डले उक्त अनुसन्धान प्रतिवेदन नेपाल प्रहरीलाई पठाएको छ ।

त्यसैगरी अग्रवालले कारोबार गरेका हातेमालो, श्रीकृष्ण सेक्युरिटिजसँग कारोबार पनि सहज राफसाफ भएको देखिँदैन । साथै, उनले कारोबार गर्ने गरेका धितोपत्र दलाल व्यावसायी नम्बर ३८, ७३, ५८ लगायतमा कारोबार गर्ने तथा अनावश्यक दुःख दिने गरेको धितोपत्र बोर्ड स्रोतले जनाएको छ ।

धितोपत्र कारोबार अग्रवालले सिप्ला सेक्युरिटिजमा उधारोमा कारोबार गरेर सेटलमेन्टमा लफडा भएको धितोपत्र बोर्डको अध्ययनले देखाएको छ ।

अग्रवालले अन्य व्यक्तिका नामबाट उधारोमा कारोबार गरेको र कारोबार सीमा माग गर्दा अग्रिम भुक्तानी दिनुपर्ने २५ प्रतिशत रकम नदिने, दिएको खण्डमा पनि कमजोरी भएको चेक दिने गरेको देखिन्छ । बोर्डकै अध्ययन हेर्दा पनि अग्रवालले ज्योति अग्रवालको नामबाट कारोबार गर्दा ३ अर्ब ३० करोड रुपैयाँको ग्लोबल आईएमई बैंकको मिति नभएको चेक दिएको देखिन्छ ।

कारोबार खाता खोलेपछि बजार मूल्य बढाउन र घटाउन आफ्नै सेयर म्याचिङ गर्ने र धितोपत्र ब्रोकरलाई नियामकको नजर अप्ठेरो पारिदिने काम गरेको देखिन्छ । त्यसको उदाहरणका रूपमा हातेमालो फाइनान्सियल सर्भिसेस र श्रीकृष्ण सेक्युरिटिज हुन् ।

धेरै कारोबार गरेर आम्दानी बढाउने लोभले कारोबार गर्न दिँदा ब्रोकर कम्पनी सम्पत्ति शुद्धीकरण कसुरमा कारबाहीमा परेका छन् । कारोबार कसले गरेको भन्ने पुष्टि हुन नसकेको अर्थात् अरूको खाताबाट दीपेन्द्रले नै सेयर खरिद–बिक्री गरेपछि ब्रोकर कारबाहीमा परेका हुन् । तीन ब्रोकर कम्पनीलाई सम्पत्ति शुद्धीकरण कसुरमा जरिबाना र धितोपत्र सम्बन्धी कानुन अनुसार हदैसम्मको जरिबानामा पर्ने निर्णयमा धितोपत्र बोर्ड पुगेको छ ।

सेयर कारोबारी दीपेन्द्र अग्रवालले सर्वसाधारण लगानीकर्ता मात्र नभई धितोपत्र ब्रोकरलाई समेत झुक्याउने गरेको पाइएको छ । अग्रवालले कारोबार गर्ने र समयमा भुक्तानी नदिने गरेको पाइएको हो ।

अग्रवालले दर्जनभन्दा धेरैको कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सञ्चालन गरेको विषयलाई धितोपत्र बोर्डले पुष्टि गरिसकेको छ । उनले बहुखाता मार्फत कारोबार गर्ने, अरूको खाताको रकम पाउनुपर्ने अवस्थामा लिने र दिनुपर्ने अवस्थामा नदिई किचलो गर्ने गरेपछि बोर्डमा उजुरी परेको थियो ।

सोही क्रममा बोर्डले अनुसन्धान गर्दा उनले दर्जन बढी धितोपत्र दलाल कम्पनीबाट कारोबार गर्ने र सकेसम्म झुक्याउन खोज्ने गरेको बोर्ड स्रोतको भनाइ छ । उनले सेयर मूल्यमा अस्वाभाविक चलखेल गर्न सेयर उपलब्ध नै नहुने गरी माग अर्डर गर्ने विषयमा समेत बोर्डले निगरानी गरिरहेको बोर्डका एक अधिकारीले बताए ।

‘धितोपत्र बजारमा हुने अस्वाभाविक गतिविधि निगरानी गरिहेका छौं,’ ती अधिकारीले भने, ‘बोर्डले अस्वाभाविक गतिविधि निगरानी गर्दा पुष्टि भएपछि कारबाही नै हुने भएकाले नतिजा देखिन समय लाग्छ ।’

नेप्सेका अधिकारी समेत उनले धितोपत्र ब्रोकरलाई नै दोष पर्ने गरी खरिद–बिक्री अर्डर हाल्ने गरेको बताउँछन । आफन्तहरूका नाममा सबै कारोबार आफूले गर्ने र लिनुपर्ने पैसा माग्ने तर दिनुपर्ने पैसामा किचलो गरेर ब्रोकरहरूलाई दुःख दिने गरेको गुनासो सुन्नमा आउने गरेको ती अधिकारीको भनाइ छ ।

अग्रवालको स्वभाव थाहा पाएका केही ब्रोकरले कारोबार नै गर्न इन्कार गर्ने गरेको एक धितोपत्र ब्रोकरले बताए । ‘सेयर बिक्री गरेको पैसा जसरी पनि लिने तर अरूको नामबाट खरिद गरेको पैसा भुक्तानी दिन झमेला गर्ने भएकाले आफूलाई नै अप्ठेरो पर्ने काम त गर्नु भएन ।’

अग्रवालले सर्वसाधारणदेखि धितोपत्र ब्रोकर समेतलाई झुक्याउने र अप्ठेरोमा पार्ने गरेको हुँदा धितोपत्र बोर्डले छिटोभन्दा छिटो कारबाही प्रक्रिया अघि बढाउनुपर्ने ती ब्रोकरले सुझाए ।

धितोपत्र दलाल कम्पनीको पनि कमजोरी

अग्रवाललाई धितोपत्र ब्रोकरको पनि सहयोग रहेको धितोपत्र बोर्डले जनाएको छ । धितोपत्र दलालको संख्या ९२ पुगेसँगै आम्दानी बढाउन अस्वस्थ प्रतिस्पर्धा बढेको छ । त्यसले धितोपत्र बोर्डले तोकेको कारोबार शुल्कमा पनि घटेर कारोबार गरिदिने भएपछि कारोबारीले मोलमोलाइ गर्न थालेका छन् ।

ब्रोकरले पनि धेरै कारोबार गर्नेलाई बोर्डले तोकेको भन्दा थोरै सेवा शुल्कमा कारोबार गर्न दिने अभ्यासले पनि ब्रोकर आफैं फस्ने गरेको बोर्डका अधिकारीको भनाइ छ । लगानीकर्ताले कसरी कारोबार गरेको छ भन्दा पनि त धेरै कारोबार गर्छ भन्ने आधारमा शुल्क छुट दिएर कारोबार अकर्षित गर्न खोज्दा ब्रोकरलाई समस्या परेको देखिन्छ । साथै, ब्रोकरले उधारो कारोबार दिनु पनि अर्को समस्या हो । लगानीकर्तासँग कानुनले तोके अनुसार कारोबार नगरी प्रतिस्पर्धामा उत्रिँदा ब्रोकर समस्या परेका हुन ।

अग्रवालका फलोअर वैदेशिक राजेगारीमा गएका धेरै

अग्रवालले पछिल्लो समय वैदेशिक रोजगारीमा गएकालाई लक्षित गर्दै समाजिक सञ्जाल प्रयोग गरेको देखिन्छ । उनको गतिविधि स्वदेशमा रहेका अधिकाशंले बुझिसकेको हुनाले वैदेशिक रोजगारमा गएकालाई दोब्बर–तेब्बर बनाइदिने लालसा देखाउँदै सेयर किनाउने र बिक्री गराउने गरेको पाइएको हो ।

अनलाइन कारोबार प्रणाली भएसँगै विदेशमा भएकाले पनि सेयर कारोबार गर्न सक्छन् । त्यसको फाइदा उठाउँदै अग्रवालले विदेशमा रहेका नेपालीलाई सामाजिक सञ्जाल मार्फत फलानो सेयरको मूल्य यति पुग्छ भनेर किन्न लागउने र आफूले बिक्री गर्ने गरेको ब्रोकर बताउँछन । पछिल्लो समय दीपेन्द्रले भनेको सेयरमा विदेशबाट खरिद–बिक्री बढी हुने गरेको पनि ब्रोकरको भनाइ छ ।

अग्रवाललाई कारबाहीमा विलम्ब

अग्रवालका फर्जी सेयर कारोबारबारे उजुरी परेपछि बोर्डले अनुसन्धान गर्‍यो । बोर्डले प्रहरीको सहयोगमा अग्रवालमाथिको अनुसन्धान पूरा गरेर अन्तिम प्रतिवेदन पनि तयार गरिसकेको अवस्था छ । तर, फौजदारी अभियोग भएको कारबाही नेपाल प्रहरीबाट थप अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाइ मुद्दा चलाउनुपर्ने व्यवस्था धितोपत्र ऐनमा छ ।

बोर्डले प्रतिवेदन तयार गरे पनि उक्त प्रतिवेदन उपर थप कारबाहीका लागि प्रहरीकोमा पठाएको देखिँदैन । प्रहरी कार्यलयमा सम्पर्क गर्दा अग्रवालको विषयको फाइल धितोपत्र बोर्डबाट नआएको प्रहरी अधिकारीले जानकारी दिए ।

लेखक
भुवन पौडेल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत पौडेल बैंक, वित्तीय तथा नेपाल धितोपत्र बजारमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?