+
+
Shares

काठमाडौं महानगरले सुक्खा फोहोरमा लगायो ६ करोडको आय ठेक्का

महानगरलाई ७ क्षेत्रमा विभाजन गरेर हरेक खण्डको छुट्टाछुट्टै प्रतिस्पर्धाबाट आय ठेक्का लगाइएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १४ गते १२:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिकाले घरेलु फोहोरको व्यवस्थापनका लागि वार्षिक ६ करोड ८ लाख ७२ हजार ३ सय ७१ रुपैयाँमा आय ठेक्का लगाएको छ।
  • महानगरलाई ७ क्षेत्रमा विभाजन गरेर हरेक खण्डको छुट्टाछुट्टै प्रतिस्पर्धाबाट आय ठेक्का लगाइएको हो ।

१४ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले घरेलु फोहोरसँगै उत्पादन हुने सुक्खा फोहर बिक्री गर्न करसहित वार्षिक ६ करोड ८ लाख ७२ हजार ३ सय ७१ रुपैयाँमा आय ठेक्का लगाएको छ ।

महानगरलाई ७ क्षेत्रमा विभाजन गरेर हरेक खण्डको छुट्टाछुट्टै प्रतिस्पर्धाबाट आय ठेक्का लगाइएको हो । ती स्थानमध्ये क्षेत्र नम्बर ७ को मेटरियल रिकभरी सुविधा सञ्चालनमा आइसकेको इन्जिनियर रामप्रसाद नेपालले जानकारी दिए ।

अन्य क्षेत्रमा क्रमशः सञ्चालन गर्दै लैजाने विभागको तयारी रहेको उनको भनाइ छ । इन्जिनियर नेपालका अनुसार यसरी कबोल गरिएको रकम करबाहेक हो ।

क्षेत्र नम्बर ७ बाट वैशाख २०८२ मा १ लाख १ हजार ३ सय ५५ किलो सुक्खा फोहोर संकलन भएको थियो । यस क्षेत्रमा वडा नम्बर १२, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ गरी १० वटा वडा छन् ।

सुक्खा फोहर मेटरियल रिकभरी फ्यासिलिटीमार्फत जम्मा गरिन्छ । वैशाखको विवरण हेर्दा सबैभन्दा धेरै संकलन भएको दिन ३ हजार ८ सय २७ किलो र सबैभन्दा कम भएका दिन २ हजार ५ सय ३४ किलो फोहोर जम्मा भएको देखिन्छ । यस क्षेत्रबाट दैनिक साढे ४३ टन सुक्खा फोहोर संकलन हुने अनुमान छ ।

२०८१ चैत ११ देखि फोहोर संकलन थालिएको थियो । त्यस दिन १ हजार ३ सय ७७ किलो फोहोर संकलन गरिएको थियो । त्यस महिना सबैभन्दा बढी ४ हजार ५ सय किलो संकलन भएको थियो ।

उक्त महिना ६० हजार ६ सय ६० किलो फोहोर जम्मा भयो । यो क्षेत्रका लागि ग्लोरियस मल्टिपर्पोज एन्ड सप्लाइजले ६२ लाख रुपैयाँमा वार्षिक कबोल गरेको छ ।

घरेलु फोहोर व्यवस्थित विसर्जन गर्न ३२ वटा वडालाई ७ क्षेत्रमा विभाजन गरिएको छ । ती हरेक क्षेत्रमा एकेक वटा फोहोरमैला स्थानान्तरण केन्द्र राखेर सुक्खा फोहोर व्यवस्थापनका लागि मेटरियल रिकभरी सुविधा सञ्चालन गर्न महानगरले आय ठेक्का कार्यविधि २०७९ बमोजिम सार्वजनिक सूचनाबाट आह्वान गरेको थियो ।

यसबाट पहिलो क्षेत्रमा नेप्सेम्याक सेवा प्रालि छनोट भएको छ । यस क्षेत्रमा वडा नम्बर २, ३, ४, ५ र ७ पर्छन् । यसले वार्षिक रूपमा ६६ लाख ४२ हजार १ सय रुपैयाँ कबोल गरेको छ । यस क्षेत्रमा दैनिक करिब ४८ टन फोहोर संकलन हुने अनुमान छ ।

क्षेत्र नम्बर २ मा प्राक्टिकल वेस्ट सोलुसन प्रालिले वार्षिक ५१ लाख ५९ हजार ४३ रुपैयाँमा ठेक्का कबोल गरेको छ । यसमा वडा नम्बर १, ११, २८, २९ र ३० पर्छन् । यस क्षेत्रबाट दैनिक करिब साढे ३६ टन सुक्खा फोहोर संकलन हुने अनुमान गरिएको छ ।

त्यस्तै क्षेत्र नम्बर ३ मा क्रिएटिभ सरसफाइ प्रालिले वार्षिक ५५ लाख ३५ हजार ८ सय ९१ रुपैयाँ आय ठेक्का कबोल गरेको छ । यस क्षेत्रमा वडा नम्बर ६, ८ र ९ पर्छन् । यस क्षेत्रबाट दैनिक करिब ३८ टन फोहोरजम्मा हुने अनुमान छ ।

क्षेत्र नम्बर ४ मा मेची पोली इन्डस्ट्रीले १ करोड १५ लाख ४ हजार ४ सय ४ रुपैयाँ कबोल गरेको छ । यसमा वडा नम्बर १६, १७ र २६ पर्छन् । यस क्षेत्रबाट दैनिक करिब साढे ५५ टन फोहोर जम्मा हुने अनुमान छ ।

त्यसैगरी वडा नम्बर १३, १४ र १५ समेटेर क्षेत्र नम्बर ५ तोकिएको छ । करिब ४९ टन सुक्खा फोहोर संकलन हुने अनुमान गरिएको यस क्षेत्रका लागि नेपाल ऊर्जा विकास कम्पनीले वार्षिक ९६ लाख ४६ हजार १७ रुपैयाँ कबोल गरेको छ ।

वडा नम्बर १०, ३१ र ३२ समेटेर क्षेत्र नम्बर ६ तोकिएको छ । करिब ५४ टन सुक्खा फोहोर संकलन हुने अनुमान गरिएको यस क्षेत्रका लागि पोली वेस्ट म्यानेजमेन्टले ९१ लाख ८१ हजार ९ सय १७ रुपैयाँमा आय ठेक्का कबोल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?