
News Summary
Generated by OK AI. Editorially reviewed.- मधेश प्रदेशका ८ वटा जिल्लामा कूल ३२० किलोमिटर सडक निर्माणकाे शिलान्यास गरिएकाे हाे।
- प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल प्रविधिमार्फत सडक निर्माणकाे शिलान्यास गरेका हुन्।
- अर्थिक वर्ष सकिन ४२ दिन मात्रै बाँकी रहेका समयमा निर्माण सम्पन्न हुनेमा आशंका व्यक्त गरिएको छ।
१८ जेठ, जनकपुरधाम । चालु आर्थिक वर्ष २०८१/०८२ समाप्त हुन ४२ दिन मात्र बाँकी हुँदा मधेश प्रदेश सरकारको गौरबको योजना एक ‘निर्वाचन क्षेत्र, एक सडक’ निर्माण प्रारम्भ भएको छ । मधेश प्रदेशको ८ वटै जिल्लाको ६४ वटा प्रदेशसभा क्षेत्रमा ५ किलोमिटर कालोपत्रे सडक निर्माणको काम सुरु भएको हो ।
मधेश सरकारको सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत ६४ वटै निर्वाचन क्षेत्रमा निर्माण हुन लागेको ३२० किलोमिटर कालोपत्रे सडकको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरे । जनकपुरधामको महेन्द्र नारायण निधि संस्कृतिक कलाकेन्द्रमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले डिजिटल प्रविधिमार्फत सडक शिलान्यास गरेका हुन् ।
सडक शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले मधेशमा विकासको लहर आएको बताए । गरिब विपन्नका लागि जनता आवास, सिंचाइका लागि सुनकोशी मरिन डाइभर्सन, रेल विस्तार लगायतको विकास तीव्र गतिमा अघि बढेको उनको भनाइ थियो ।
‘मैले आज शिलान्यास गरेको सडक निर्माणको कार्य सबैको प्रयासबाट गुणस्तरीय ढंगले सफल भई प्रदेशको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिएको छु । यस प्रदेशको विकास अत्यन्त तीव्र गतिमा अगाडि बढ्नेछ,’ उनले भने ।
भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले सडकहरू बहुवर्षीय योजना अन्तर्गत बन्न लागेको बताए । चालु आर्थिक वर्षमै ६४ वटै सडकको लागि प्रत्येकमा दुई-दुई करोड रुपैयाँ विनियोजन गरिएको छ । प्रत्येक जिल्लाको पूर्वाधार विकास कार्यालयमार्फत योजना कार्यान्वयन प्रक्रिया अघि बढेको भौतिक पूर्वाधार मन्त्रालयका निमित सचिव संजय कुमार साहले बताए ।
‘प्रत्येक निर्वाचन क्षेत्रका लागि २-२ करोड रुपैयाँ विनियोजन गरिएको छ । कतिपय सडकको सम्झौता भइसकेको छ । कतिपय सम्झौताको चरणमा छ । १५ दिनभित्र सबै सम्झौता भइसक्छ,’ उनले भने ।
तर, आर्थिक वर्ष सकिन लाग्दा एक महिना १२ दिन बाँकी हुँदा यो आर्थिक वर्षमा निर्माण कार्यप्रगति सन्तोषजनक नहुने अनुमान गरिएको छ । मन्त्रालय सचिव साहका अनुसार ३ आर्थिक वर्षभित्र सडक बनाउने लक्ष्य लिइएको छ । जसका लागि अगामी दुई आर्थिक वर्षमा पुनः २/२ करोड रुपैयाँ सरकारले विनियोजन गर्नेछ ।
तर, ढिलागरी गौरवका योजनाको काम प्रारम्भ हुँदा यसपटक छुट्याइएको आधा बजेट फ्रिज हुने सम्भावना रहेको छ । बहुवर्षीय योजना स्वीकृतिको चरणमा समय लाग्ने हुनाले ढिलो गरी मात्र निर्माण काम सुरु गर्न सकेको सचिव साहको स्वीकारोक्ति छ ।
‘यो गौरवको योजना हो । बहुवर्षीय योजना स्वीकृतिका चरणहरू हुन्छ । त्यसमा समय लागेर ढिलो गरी निर्माण काम अघि बढाइएको छ,’ उनले भने, ‘प्रत्येक क्षेत्रमा एक/सवा करोडको काम यस आर्थिक वर्षमा हुनसक्छ । बाँकी बजेट फ्रिज हुने सम्भावना छ । फेरि अर्को आगामी वर्षमा थप्न सकिन्छ ।’
जम्मा ३२० किलोमिटर सडक निर्माण सम्पन्न गर्न १२ अर्ब ७० करोड रुपैयाँ खर्च हुने मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीले शिलान्यास गरेको एक निर्वाचन क्षेत्र एक पक्की सडकको योजना भने नयाँ होइन ।
यसअघि मुख्यमन्त्री लालबाबु राउतको सरकारले आर्थिक वर्ष २०७५/०७६ मा एक निर्वाचन क्षेत्र एक पक्की सडकको योजना सुरु गरिएको थियो । तत्कालीन भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री जितेन्द्र सोनलले सो योजना ल्याएर कार्यान्वयन गरिएको थियो ।
उनका अनुसार त्यस बेला पनि ६४ वटै निर्वाचन क्षेत्रमा ३२० किलोमिटर सडक निर्माण गरिएको थियो । ‘आज शिलान्यास गरिएको योजना योजनाको निरन्तरता हो । हामीले पनि प्रत्येक निर्वाचन क्षेत्रमा ५ किलोमिटर सडक निर्माण गरेका थियौं । त्यो सफल भयो । अहिलेको यो दोस्रो चरणको योजनाको शिलान्यास भयो,’ उनले भने ।
प्रतिक्रिया 4