+
+
Shares

जलस्रोतको मुहान हिमाल जोगाऔँ : ऊर्जा मन्त्री खड्का

रासस रासस
२०८२ जेठ १९ गते १४:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मन्त्री दीपक खड्कााले जलवायु परिवर्तनले हिमालमा परेको असर न्यूनीकरण गर्न विश्वसमुदायको ध्यानाकर्षण आवश्यक भएको बताए।
  • उनले हिउँ पर्न नपर्ने र हिमताल फुट्ने खतरा देखिएको भन्दै संरक्षण र अनुसन्धानको आवश्यकता औंल्याए।
  • मन्त्री खड्काले प्राकृतिक सम्पदाको सदुपयोग र पर्यटन प्रवर्द्धनका लागि सहकार्य आवश्यक रहेको बताए।

१९ जेठ, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पिउने पानी र ऊर्जाको प्रमुख स्रोतका रूपमा रहेको हिमशृङ्खलामा जलवायु परिवर्तनबाट परेको असर न्यूनीकरण गर्न विश्वसमुदायकै ध्यानाकर्षण गर्न आवश्यक रहेको बताएका छन् ।

अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्वीर प्रदर्शनको सोमबार अवलोकनपछि उनले जलवायु परिवर्तनको असर हिमालमा प्रत्यक्ष देखिएकाले यसको संरक्षणका लागि विश्वसमुदायले ध्यान दिनुपर्नेमा जोड दिए ।

मन्त्री खड्काले भने, ‘जसरी हिजोका दिनमा हिउँ पथ्र्यो, अहिले पर्न छाडेको छ । हिमताल तथा तालतलैयामा पनि यसको असर देखिएको छ, कतिपय हिमतालहरू फुट्ने खतरामा छन् । त्यसको संरक्षणका लागि अनुसन्धानलगायत काम सरकारले सुरू गरिसकेको छ ।’

नेपालको ऊर्जाको प्रमुख स्रोत जलस्रोत भएको हुँदा हिमालमा परेको असरले ऊर्जा क्षेत्रलाई पनि प्रभाव पार्ने बताउँदै उनले यसबाट हुने असर न्यूनीकरणका लागि एकताबद्ध प्रयासको खाँचो औंल्याए ।

नेपालमा पर्वतीय पर्यटन र के कस्ता हिमालहरू रहेका छन् भन्ने कुरा तस्वीरले स्पष्ट पारेको जनाउँदै मन्त्री खड्काले नेपालमा केही पनि भएको छैन र हुँदैन भन्ने भाष्य चिर्नलाई समेत यस्ता प्रदर्शनीले सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

‘नेपाल प्राकृतिक रूपमा सम्पन्न छ, नेपालमा हिमाललगायत प्राकृतिक सम्पदा छन्, यसको सदुपयोग गर्न सन्देश दिएको छ, आन्तरिक र बाह्य पर्यटनका लागि हिमालका दृश्यले आर्कषण गर्दै आएको छ’, उनले बताए । पर्यटन प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डसँग सहकार्य गरेर अघि बढ्न सकिने उनको भनाइ छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?