+
+
Shares

दोहोरी साँझबाट सुरु भएको सम्बन्ध हनी ट्र्यापसम्म, ब्ल्याकमेलिङ गर्दै करोड असुलेको आरोप

युवतीको बयान- हनी ट्र्यापमा पारेर असुलेको होइन, सम्बन्धमा रहँदा दिएका उपहार र खर्च हुन् ।

नारायण अधिकारी नारायण अधिकारी
२०८२ जेठ १९ गते १५:२९
प्रतीकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोरखाकी तारागुरुङलाई प्रहरीले करिब एक महिनादेखि हिरासतमा राखेको छ।
  • उनीमाथि हनी ट्र्याप र ब्ल्याकमेलिङको आरोप लागिएको छ, मुद्दा अदालतमा सुनुवाइ भइरहेको छ।

१९ जेठ, काठमाडौं । गोरखाकी तारा गुरुङ करिब एक महिनादेखि जिल्ला प्रहरी परिसर ललितपुरको हिरासत छिन् । गोरखाको शहीद लखन गाउँपालिका-९ घर भई टोखा नगरपालिका-३ बानियाँटार बस्दै आएकी ३३ वर्षीया ताराविरुद्ध अहिले ललितपुर जिल्ला अदालतमा सुनुवाइ भइरहेको छ ।

२० वैशाखमा पक्राउ परेकी तारामाथि प्रहरीले आपराधिक लाभ (एक्सटर्सन) को अनुसन्धान गरेर प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरमा पठाएको थियो । सरकारी वकिल कार्यालयमा १६ जेठमा अदालतमा उनीविरुद्ध मुद्दा दायर गर्‍यो ।

बीचमा बिदा परेकाले उनीमाथिको सुनुवाइ सकिएको छैन । मुद्दा हेर्दाहेर्दैमा राखेर सुनुवाइ भइरहेको छ । न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासमा भइरहेको सुनुवाइमा थुनछेक बहस सकिएको अवस्थामा आजै पुर्पक्षका लागि थुनामा पठाउने, साधारण तारेख वा धरौटीमा रिहा गर्नेमध्ये एक आदेश आउनेछ ।

करिब एक महिनादेखि प्रहरी हिरासतमा रहेकी ताराले प्युठान घर भई ललितपुर बस्दै आएका विश्वकर्मा थरका एक जग्गा व्यवसायीलाई हनी ट्र्यापमा पारेको आरोप छ ।

ताराविरुद्ध मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २५३ को (२) बमोजिमको कसुर गरेको भन्दै उपदफा ३ को खण्ड (ख) बमोजिमको सजाय माग गरिएको छ । जसअनुसार ९२ लाख ४६ हजार २९० रुपैयाँ बिगो मागदाबी गर्नुका साथै ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना समेत माग गरिएको छ ।

करिब एक महिनादेखि प्रहरी हिरासतमा रहेकी ताराले प्युठान घर भई ललितपुर बस्दै आएका विश्वकर्मा थरका एक जग्गा व्यवसायीलाई हनी ट्र्यापमा पारेको आरोप छ । हनी ट्र्यापको यो श्रृंखला भने करिब साढे ३ वर्षअघिबाट सुरु भएको पाइएको छ ।

अहिले हिरासतमा रहेकी तारा गोंगबुस्थित टप राजधानी दोहोरी साँझमा काम गर्थिन् । सोही दोहोरी साँझमा गएको बेला विश्वकर्मा र ताराको भेट २४ मंसिर २०७८ मा भएको थियो ।

सोही क्रममा उनीहरूबीच चिनजान हुनेदेखि सामाजिक सञ्जालमा साथी बन्ने र फोन नम्बर आदान-प्रदान समेत भयो । त्यसपछि उनीहरूबीच शारीरिक सम्बन्ध समेत भएको पीडित युवकले जाहेरीमा उल्लेख गरेका छन् । त्यही शारीरिक सम्बन्धलाई आधार बनाउँदैपछि ताराले ब्ल्याक मेलिङ गर्दै रकम असुलीको माध्यम बनाएको पीडित युवकको बयान छ ।

रकम नदिएमा मिडियामा जानेदेखि प्रहरीमा उजुरी हालेर फसाउनेसम्मको धम्की आएको ती युवकले बताएका छन् । धम्क्याउनका लागि प्रहरी कार्यालय अघि गएर फोटो खिच्दै म्यासेन्जसमा पठाउने र रकम नदिए उजुरी हाल्ने भन्दै बार्गेनिङ गरेको उनले बताएका छन् । प्रहरी अनुसन्धानका क्रममा पनि ताराले आत्महत्या गर्न लागे भन्दै झुन्डिन लागेको भिडिओ, फोटो, प्रहरी कार्यालय अघि खिचेर पठाइएका तस्वीर समेत फेला परेका छन् ।

बलात्कारको मुद्दामा फसाउने भन्दै ब्ल्याकमेलिङ गर्दै रकम माग्न थालेपछि बाध्य भएर आफूले साथीको खातामार्फत ४९ लाख ६२ हजार ३९० रुपैयाँ ताराको खातामा हालेको उनले बताएका छन् । जसमध्ये ६ पटकमा नगदै २ लाख ५० हजार रुपैयाँ दिएको उनले बताएका छन् ।

बाँकी २७ पटक बैंक खातामा रकम हालेको भन्दै स्टेटमेन्ट समेत पेस गरिएको छ । यो रकम सोझै तारा गुरुङको खातामा हालेको ती युवकको दाबी छ । ८ लाख ९२ हजार ३५७ रुपैयाँ भने ताराले भनेका व्यक्तिको नामका खातामा जम्मा गरिदिएको युवकले दाबी गरेका छन् । यो नगदै रकम लिएको विवरण हो ।

यो बाहेक करिब ३४ लाख बराबरका जिन्सी सामान तारालाई दिएको पीडितले प्रहरीसमक्ष बताएका छन् । आईफोन ११ प्रो, आईफोन ६ एस, आईफोन १३ प्रो-म्याक्स, आईफोन १४ प्रो-म्याक्स, आईफोन १५ प्रो-म्याक्स मोबाइल पनि उनलाई किनिदिएको पीडितको दाबी छ ।

यसका साथै अन्य फोन, एअर वर्ड, घडी, सुनका औंठी, ब्रास्लेट, टप, नेक्लेस, सिक्री पनि ताराले लगेको पीडितको भनाइ छ । यो बाहेक दाङको लहमी नगरपालिका-७ मा रहेको कित्ता नम्बर ३३५ को क्षेत्रफल ५५०.२९ वर्गमिटर क्षेत्रफलको २० लाख रुपैयाँ पर्ने जग्गा समेत गुरुङको नाममा पास गरिदिएको खुलेको छ ।

जिन्सी सामान मात्रै ३३ लाख ९१ हजार ५४३ रुपैयाँ खर्च भएको बताइको छ । जम्मा गरेर ९२ लाख बढीको ताराले ब्ल्याकमेलिङ गर्दै असुलेको उनले बताएका छन् ।

निरन्तर ब्ल्याकमेलिङ गर्दै करिब एक करोड रुपैयाँ असुल्दा पनि पुनः रकम माग्न थालेपछि आजित भएर २६ चैत २०८१ मा प्रहरीमा जाहेरी दिएको पीडित युवकको बयानमा उल्लेख छ । पीडित युवकले भनेअनुसार ताराको कोठाबाट प्रहरीले सुनका केही गरगहना समेत बरामद गरको छ ।

अनुसन्धानका क्रममा पनि पीडित युवकले गुरुङलाई नगद र जिन्सी लगायतका केही सामान दिएको पाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले बताए ।

प्रहरी कार्यालय अघि गएर फोटा खिचेर धम्क्याएको नभई सम्बन्ध टिकाउन आफूले त्यसो गर्नु परेको युवतीको दाबी छ ।

‘नगद र जिन्सी दिएको देखिएको छ । सोही अनुसार आपराधिक लाभको कसुरमा मुद्दा दर्ता गरेर प्रक्रिया अघि बढेको छ,’ एसएसपी अधिकारीले भने ।

यता, पक्राउ परेकी युवतीले भने आफूहरू लिभिङ टुगेदरमा रहेको र हनी ट्र्यापमा पारेर रकम असुली नगरेको दाबी गरेकी छिन् । दोहोरी साँझमा भेट भएपछि दुवैबीच राम्रो सम्बन्ध भएको र रिलेसनसिपमा रहेको बताएकी छिन् ।

त्यसपछि दुबई, पाकिस्तान, मुम्बई, गोवा, दिल्ली घुम्न गएको बताएकी छन् । ती व्यवसायीले दिएका सबै जिन्सी तथा नगद बार्गेनिङ गरेर मागेको नभई उनले उपहारस्वरूप दिएको दाबी गर्दै युवतीले बयान दिएकी छिन् । रकम भने खर्च र पर्सनल भन्दै दिएको युवतीको दाबी छ ।

प्रहरी कार्यालय अघि गएर फोटा खिचेर धम्क्याएको नभई सम्बन्ध टिकाउन आफूले त्यसो गर्नु परेको युवतीको दाबी छ । ‘सम्बन्ध बिग्रन लागेपछि मर्छु, आत्महत्या गर्छु भन्दै म्यासेज गर्ने फोटो, भिडिओे पठाउने गरेको हुँ । सम्बन्ध जोगाउनकै लागि प्रहरी कार्यालय अघि गएर फोटो खिचेर पठाएको हुँ । ब्ल्याकमेलिङ गरेको होइन,’ युवतीको बयानमा उल्लेख छ ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?