
News Summary
Generated by OK AI. Editorially reviewed.- भाटभटेनी समूहले भैरहवामा अत्याधुनिक गार्मेन्ट उद्योगको शिलान्यास गरेको छ।
- उद्योगले करिब एक हजार दुई सय रोजगारी सिर्जना गर्ने र अन्तर्राष्ट्रिय मापदण्डमा तयार हुनेछ।
- सीओओ पानु पौडेलले यस परियोजनाले व्यापारिक विविधीकरण र औद्योगिक वातावरण सुधारको सन्देश प्रवाह गर्ने बताए।
२१ जेठ, काठमाडौं । भाटभटेनी समूहले भैरहवामा अत्याधुनिक गार्मेन्ट उद्योग सञ्चालनमा ल्याउने भएको छ ।
समूहका अध्यक्ष मीनबहादुर गुरुङ, व्यवसायी उमेश श्रेष्ठसहितको टिमले भूमि पूजासहित बुधबार उद्योगको शिलान्यास गरेको हो ।
‘यस नयाँ परियोजनाले भाटभटेनीको व्यापारिक विविधीकरणमा एक महत्वपूर्ण कदम चालेको छ भने नेपालको औद्योगिक वातावरण सुधारोन्मुख रहेको सकारात्मक सन्देश प्रवाह गरेको छ’ भाटभटेनीका सीओओ पानु पौडेलले भने ।
यस उद्योगले करिब एक हजार दुई सय रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ । स्थानीय जनशक्तिको परिचालन गर्दै त्यस क्षेत्रको आर्थिक विकासमा योगदान पुर्याउने लक्ष्य लिइएको भाटभटेनीले जनाएको छ ।
अन्तर्राष्ट्रिय मापदण्डमा तयार गरिने यस उद्योगमा आधुनिक मेसिनरी, स्वास्थ्य सुरक्षा र स्वच्छ वातावरणीय प्रणालीको प्रबन्धका साथै एक मेगावाटभन्दा बढीको सौर्य ऊर्जा प्रणाली र ब्याट्री ऊर्जा भण्डारण रहने गरी निर्माण गरिने भएको छ ।
अन्तर्राष्ट्रिय मापदण्डअनुरुप बन्ने कारखानाले विशेषतः भाटभटेनीका स्टोरहरुमार्फत् स्थानीय बजार तथा अन्तर्राष्ट्रिय बजारको लागि तयारी पोशाकको उत्पादन गर्ने लक्ष्य लिएको पौडेलले जानकारी गराए ।
‘यस परियोजनाले भाटभटेनीको स्थानीय उत्पादन, बजारीकरण र रोजगारीलाई बढाउने रणनीतिक योजनालाई विस्तार गर्न मात्र होइन, नेपालका औद्योगिक नीति र वातावरण सुधार हुँदै गएको सकारात्मक सन्देश दिने एउटा माध्यम बन्नेछ भन्ने विश्वास पनि लिएको छु’ उनले भने ।
प्रतिक्रिया 4