+
+
Shares

धुलिखेल-खावा सडक : ठेक्कामै अन्योल

पुरानो ठेक्का रद्ध भएको ३ महिना बित्यो । नयाँ ठेक्का लाग्ने अत्तोपत्तो छैन । यो बर्खा पनि हिले यात्रा जारी रहने देखिएको छ ।

कपिल कोइराला कपिल कोइराला
२०८२ जेठ २१ गते १९:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धुलिखेल-खावा सडकको ठेक्का रद्द भई नयाँ ठेक्का लाग्ने अनिश्चितता कायमै रहेको छ।
  • सडक निर्माणको काम ११ महिनासम्म सम्पन्न नभएपछि ठेक्का रद्द गरिएको थियो र अदालतले अन्तरिम आदेश दिएको छ।
  • सडक निर्माणमा आर्थिक र कानुनी जटिलताका कारण काम अघि बढ्न समस्या भएको छ।

२१ जेठ, काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत निर्माणाधीन धुलिखेल-खावा सडकको ठेक्का रद्द भएको ३ महिना पुग्यो । तर नयाँ ठेक्का लाग्ने र काम अगाडि बढ्ने अन्योल कायमै छ ।

बर्खा लागिसक्दा पनि सडक निर्माण निश्चित नहुँदा ३ वर्षदेखि सास्ती खेप्दै आएका यात्रुमा चिन्ता थपिएको छ । पुरानो ठेक्का रद्ध भएर नयाँ ठेक्का लाग्ने अन्योलबीच यात्रुले यो बर्खामा पनि हिलाम्मे र धुलाम्मे सडकमा यात्रा गर्न बाध्य हुनुपर्ने देखिएको छ ।

काभ्रेपलाञ्चोकको धुलिखेलदेखि खावा भन्ज्याङसम्म ४ किलोमिटर सडक निर्माणका लागि सडक डिभिजन कार्यालय भक्तपुरले गौरी पार्वती निर्माण सेवा प्रालिसँग २० जेठ २०७९ मा ठेक्का सम्झौता गरेको थियो ।

तर, १९ चैत २०८० भित्र बनाइसक्नुपर्ने सडक मिति सकिएको ११ महिनासम्म पनि निर्माण सम्पन्न नभएपछि गत १५ फागुनमा सूचना प्रकाशन गरी ठेक्का रद्ध गरेको थियो । सडक विस्तारको काम उक्त कम्पनीले २० करोड १९ लाख ४६ हजार ५०१ रुपैयाँमा ठेक्का लिएको थियो ।

उक्त सडक तोकिएको समयमा निर्माण सम्पन्न नभएको जनाउँदै कार्यालयले निर्माण कम्पनीसँगको ठेक्का रद्द गरेलगत्तै निर्माण व्यवसायीले उच्च अदालत पाटनमा मुद्दा हालेका थिए ।

ठेक्का रद्द गरेपछि अदालत गएका व्यवसायीको मुद्दामा केही दिनपछि अदालतले ठेक्का खारेजी बाहेक निर्माण कम्पनीको पक्षमा निर्णय आएको थियो । निर्माण कम्पनीलाई कालो सूचीमा नराख्न, धरौटी र ग्यारेन्टी रकम जफत नगर्न तथा हाल जुन अवस्थामा रहेको छ, सोही अवस्थामा राख्न’ अन्तरिम आदेश दिएपछि सडक निर्माणमा अन्योल देखिएको छ ।

सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगशका अनुसार निर्माण कम्पनीले डिभिजनको विरुद्धमा हालेको मुद्दाको बुधबार (आज) उच्च अदालत पाटनमा पेसी थियो । उक्त पेसी आगामी २८ गतेलाई सरेको छ ।

सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर योगश निर्माण कम्पनीसँगको मुद्दाभन्दा पनि अर्थमन्त्रालयबाट रकमको सुनिश्चितता नभएका कारण ठेक्का प्रक्रियामा समस्या भएको बताउँछन् ।

‘अदालतको आदेशले पुनःठेक्का खोल्न कुनै बाधा त पर्दैन, मुद्दा चलिनै रहन्छ तर अर्थमन्त्रालयबाट रकमको सहमति आयो भने तुरुन्तै ठेक्का खोल्छौं,’प्रमुख योगेशले भने, ‘यो आर्थिक वर्षमा नै निर्माण हुनेगरी कागजपत्र तयार भएको छ ।’

केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल-खावा सडक १२ मिटरको फराकिलो बनाई कालोपत्र गर्न लागिएको थियो । नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डीबीएम र आस्फाल कालोपत्र गर्ने योजना बनाएको थियो ।

सडक निर्माण नहुँदा अरनिको राजमार्ग हुँदै नेपालको चीनसँगको उत्तरी नाका कोदारी तथा सिन्धुपाल्चोक, दोलखा, रामेछाप ओखलढुंगा, सोलुखुम्बु जाने यात्रु मर्कामा छन् ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?