
News Summary
Generated by OK AI. Editorially reviewed.- ‘परालको आगो’ नामक नयाँ नेपाली फिल्ममा ४८ वर्ष पुरानो गीत ‘उडिजाऊँ भने म पन्छी हैन’ को रि-क्रिएसन हुने भएको छ।
- संगीतकार शान्ति ठटालले अनुमति दिएर उक्त गीतलाई नयाँ फिल्ममा प्रयोग गर्न स्वीकृति दिएकी छन्।
- फिल्मको छायांकन फागुनदेखि सुरु हुने र यसमा जितु नेपाल, प्रकाश सपुत, सुहाना थापा लगायत कलाकारहरू छन्।
काठमाडौं । पछिल्लो समय पुरानो फिल्मका चर्चित गीतलाई नयाँ फिल्ममा ‘रि-क्रिएसन’ गर्ने ट्रेन्ड बढेको छ । ‘माइतीघर’को ‘वसन्त नै बस्न खोज्छ यहाँ’, ‘नरसिंहा अवतार’को ‘अच्छा लिकिन लण्डनको चिसोले’ यसका केही ताजा उदाहरण हुन् ।
४८ वर्षअघि रिलिज भएको फिल्म ‘परालको आगो’मा समावेश कालजयी गीत ‘उडिजाऊँ भने म पन्छी हैन, बस्न ए लै मन छैन’को पनि ‘रि-क्रिएसन’ हुने भएको छ । सोही नामको नयाँ फिल्ममा यो गीतको पुनःप्रयोग हुने जनाइएको छ ।
संगीतकार शान्ति ठटालसँग भारतको सिलिगुढीस्थित उनको घरमै पुगेर निर्माताले प्रतिलिपि अधिकार अनुमति लिएको प्रेषित विवरणमा उल्लेख छ । नेपाली फिल्मकी पहिलो महिला संगीतकार समेत रहेकी ठटालले नयाँ बन्ने फिल्ममा उक्त गीत राख्न अनुमति दिएको जनाइएको छ ।
‘परालको आगो’ ( सन् २०२५)लाई सुशिल पोखरेलले निर्माण गर्न लागेका हुन् । ठटालको संगीत रहेको उक्त कालजयी गीतमा मनबहादुर मुखियाको शब्द र अरुणा लामाको स्वर समावेश छ ।
फिल्मको विषयवस्तुलाई न्याय गर्न सो गीत नै चाहिने हुनाले स्रष्टा ठटालकै निवासमा पुगेर अनुमति लिएको जनाइएको छ । संगीतकार ठटालले पनि सोही नामको नयाँ फिल्ममा प्रयोगका लागि आफूले अनुमति दिएको बताएकी छन् ।
लिखित सन्देशमा उनले भनेकी छन्, ‘श्री ॐ सिने मेकर्स प्रालिबाट निर्माण हुन लागेको नेपाली कथानक चलचित्र गुरुप्रसाद मैनालीको कथा ‘परालको आगो’मा उल्लेखित शब्द र मैले कम्पोज गरेको संगीत ‘उडी जाऊँ भने म पन्छी हैन, बस्न ए लै मन छैन’ पुनःनिर्माणाधिन चलचित्र ‘परालको आगो’मा प्रयोग गर्न मेरो पूर्ण मन्जुरी छ ।’
उनले फिल्म सफलताको शुभकामना समेत दिएकी छन् । कथाकार गुरुप्रसाद मैनालीको कृतिमा आधारित रहेर बन्न लागेको नयाँ फिल्ममा जितु नेपाल, प्रकाश सपुत, सुहाना थापा अनुबन्धित छन् । लक्ष्मण सुनारले यो फिल्मलाई निर्देशन गर्दैछन् । फागुनदेखि फिल्म छायांकन हुने जनाइएको छ ।
प्रतिक्रिया 4