
News Summary
Generated by OK AI. Editorially reviewed.- पोर्चुगलमा नेपाली दूतावासले ८ हजार ५ सय नागरिकलाई सेवा प्रदान गरेको छ।
- दूतावासले १६ बैशाख २०८२ देखि औपचारिक रुपमा सेवा सञ्चालन गरेको हो।
- दूतावासले राहदानी, प्रमाणीकरण र नागरिकता सेवा जस्ता कार्यहरू सम्पन्न गरिरहेको छ।
२४ जेठ, लिस्वन । पोर्चुगलमा नेपाली दूतावास स्थापना भएपछि ८ हजार ५ सय नेपाली नागरिकले सेवा लिएका छन् । २०८१ फागुन दोश्रो साताबाट लिस्वनमा अस्थायी कार्यालय स्थापना गरी नेपाली दूतावासले सेवा दिन थालेको थियो । औपचारिक रुपमा कार्यालय स्थापना गरेर सेवा दिन थालेको भने १६ बैशाख २०८२ बाट हो ।
पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलका अनुसार दूतावासले यहाँ काम सुरु गरेदेखि हालसम्म ७ हजार २ सय जनाको र कार्यालय स्थापना हुनुपूर्व फ्रान्सको पेरिस स्थित दूतावाससँगको समन्वयमा १ हजार ३ सय नेपाली नागरिकको काम भएको छ ।
सन् २०२५ को जुन २ तारिख (जेठ २० गते, २०८२) देखि दूतावासले सुरु गरेको विद्युतिय राहदानी सेवा पनि २ सय जना भन्दा बढीले लिइसकेको पौडेलले बताएका छन् । दूतावासले प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरणको सेवा बढी प्रदान गरेको छ ।
त्यस बाहेक अधिकृत वारेसनामा प्रमाणीकरण, नाता प्रमाणित, जन्मदर्ता, विवाह दर्ता, शैक्षिक प्रमाणपत्र प्रमाणीकरण, नेपालको सवारी चालक अनुमती पत्र प्रमाणीकरणलगायतका सेवा लिस्वन स्थित नेपाली दूतावासले उपलब्ध गराएको छ । राजदूत पौडेलका अनुसार हिजोआज भने राहदानी बनाउकै लागि बढी नेपालीहरु दूतावास आइरहेका छन् ।
तर, पनि प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरणको काम पनि उत्तिकै भइरहेको छ । यहाँको अस्थायी आवास अनुमती पत्र लिन र नागरिकता प्राप्तिका लागि आवेदन पेश गर्न प्रहरी चारित्रिक प्रमाणपत्र अनिवार्य छ ।
दूतावास स्थापना भइसक्दा पनि कार्यालय व्यवस्थित नहुँदा सुरुको समयमा फ्रान्सको पेरिस स्थित नेपाली दूतावाससँगको सहकार्यमा घुम्ती सेवा सञ्चालन भएको थियो । त्यस समयमा राहदानीसहित आवश्यक कागजात प्रमाणीकरणसम्बन्धी ‘कन्सुलर’ सेवा दिइएको थियो ।
जसमा दूतावासले अधिकृत वारेसनामा प्रमाणीकरण बाहेकका अन्य प्रहरी चारित्रिक प्रमाणपत्र, नाता प्रमाणित, जन्मदर्ता, विवाह दर्तालगायत कागजात प्रमाणीकरणसम्बन्धी कन्सुलर सेवा प्रदान गरेको थियो ।
अहिले दूतावासको कार्यलय व्यवस्थित भसएंगै अन्य सेवाहरुको साथमा विद्युतिय राहदानीको समेत काम थप भएको छ ।
‘कुन कुन सेवामा कत्ति जना भए भन्नेगरी हामीले संख्या छुट्याउन भ्याएका छैनौं, कामको चाँप असाध्यै छ’, राजदूत पौडडेलले अनलाइन खबरसंग भने– ‘अहिलेसम्म गरेका कामको तथ्याङ्क मात्र जम्मा गारेका छौं, राजश्व पनि अत्याधिक मात्रामा जम्मा भएको छ । काम अल्लि होलो भएपछि हामी यसको फेहरिस्ता उतार्ने छौं ।’
पोर्चुगलामा दूतावास नहुँदा लामो समयदेखि राहदानीसहित कागजातसम्बन्धी समस्या भोग्दै आएका नेपालीले अहिले सहज भएको बताउन थालेका छन् । दूतावास स्थापना भएपछि कागजात प्रमाणीकरण र राहदानी बनाउन स्पेन, फ्रान्सलगायत नेपाली दूतावास रहेका अन्य मुलुक जानुपर्ने बाध्यता अन्त्य भएको छ ।
पोर्चुगलमा नेपालीको यकिन तथ्याङ्क नभए पनि अनुमानित ६० हजारको हाराहारीमा नेपालीहरु रहेको दूतावासले अनुमान छ । तर, आधिकारिक रुपमा भने ३० हजार मात्रै रहेको राजदूत प्रकाशमणि पौडेल बताउँछन् ।
‘पोर्चुगलको सरकारी तथ्याङ्क अनुसार ३० हजार नेपाली मात्रैको बसोवास रहेको पाइयो, तर हामीकहाँ आएको काम चाप र अनौचारिक रुपमा भएका अध्ययनका आधारमा ६० हजार भन्दा पनि बढि नेपाली नागरिकहरु पोर्चुगलमा हुनुपर्छ’ राजदूत पौडेलले भने ।
प्रतिक्रिया 4