
News Summary
Generated by OK AI. Editorially reviewed.- साङ्ला नियन्त्रणका लागि नियमित सफाइ, खानाको सुरक्षित भण्डारण र प्राकृतिक उपायहरू अपनाउन सुझाव दिइएको छ।
- बोरेक्स, बेकिङ सोडा, पिपरमिन्ट तेल र प्राकृतिक स्प्रे जस्ता उपायहरूले साङ्लालाई भगाउन सकिन्छ।
- कीटनाशक प्रयोग र फोहोर व्यवस्थापनले पनि साङ्लाको प्रकोप कम गर्न मद्दत गर्दछ।
भान्सामा साङ्ला फैलिँदा त्यसले धेरैलाई निकै हैरानी बनाइरहको हुन्छ । खानेकुरामा पसेर, फुल पारेर, दिसा गरेर यसले भान्सामा निकै फोहोर बनाउने गर्छ । यसको संख्या अत्याधिक छिटो वृद्धि हुने हुनाले विशेषगरी घर तथा होटल, रेस्टुरेन्टको भान्सामा यसले निकै समस्या पारिरहेको हुन्छ ।
यस्तो अवस्थामा साङ्ला कसरी नियन्त्रण गर्न सकिन्छ त ?
साङ्लोलाई हटाउन र तिनको प्रकोप नियन्त्रण गर्न विभिन्न प्राकृतिक, रासायनिक, र व्यवहारिक उपायहरू अपनाउन सकिन्छ ।
१.नियमित सफाइ
साङ्लोलाई आकर्षित गर्ने मुख्य तत्व फोहोर र खानाको अवशेष हो। त्यसैले, घरलाई नियमित सफा राख्नु पहिलो र महत्त्वपूर्ण उपाय हो । भान्साको टेबल, पकाउँदा खानाहरू झर्ने, उछिट्टने ठाउँ तथा भुइँमा प्रत्येक दिन सफा गर्नुपर्छ ।
रातमा साङ्ला सक्रिय हुने भएकाले रातिमा खानाको टुक्रा र फोहोर जम्मा हुन नदिँदा साङ्ला भान्सामा आकर्षित हुन पाउँदैन । फोहोरको भाँडालाई नियमित सफा गर्ने दिनकै फोहोर फालिँदैन भने त्यसलाई ढक्कनले छोपेर राख्नुपर्छ ।
२.खानालाई सुरक्षित राख्ने
साङ्ला खानाको गन्धले आकर्षित हुन्छन् । त्यसैले, खानेकुरालाई हावा नछिर्ने डब्बा वा फ्रिजमा राख्नुपर्छ । खुला राखिएको खाना र फलफूल, तरकारीमा पनि साङ्ला आकर्षित हुन्छन्, त्यसैले छोपेर राख्नुपर्छ । भान्सामा खानाको अवशेष तुरुन्त सफा गर्ने, बढी भएका खानालाई सुरक्षित गरी छोपेर राख्ने गर्नुपर्छ ।
३.बोरेक्स र चिनीको पासो
बोरेक्स एक शक्तिशाली रासायनिक पदार्थ हो जसले साङ्लोलाई मार्छ । बोरेक्स पाउडर र चिनीलाई बराबरी अनुपातमा मिलाउने । यो मिश्रणलाई साङ्ला हिँड्ने ठाउँहरू, जस्तै भान्साको कुनो, दराज वा फर्निचरको चेपतिर छर्ने ।
चिनीले साङ्लोलाई आकर्षित गर्छ, र बोरेक्सले तिनको पाचन प्रणालीलाई नष्ट गर्छ। यो मिश्रणलाई बालबालिका र घरपालुवा जनावरको पहुँचबाट टाढा राख्नुपर्छ ।
४.बेकिङ सोडा र चिनीको मिश्रण
बेकिङ सोडाको प्रयोग एक प्राकृतिक र सुरक्षित उपाय हो । बेकिङ सोडा र चिनीलाई बराबर मिसाएर साङ्लो बस्ने ठाउँमा छर्नुपर्छ । साङ्लोले यो मिश्रण खाँदा तिनको पेटमा ग्यास बन्छ, जसले तिनलाई मार्छ।
यो विधि रासायनिक कीटनाशक प्रयोग गर्न नचाहनेहरूका लागि उपयुक्त छ । यसले मान्छे तथा अन्य जनावरलाई असर गर्दैन ।
५.पिपरमिन्ट तेलको स्प्रे
साङ्लोलाई तीखो गन्ध मन पर्दैन। पिपरमिन्ट तेल एक प्राकृतिक विकर्षक हो । १०-१५ थोपा पिपरमिन्ट तेललाई एक कप पानीमा मिसाएर स्प्रे बोतलमा राख्ने । यो स्प्रेलाई साङ्लो लुक्ने ठाउँहरूमा छर्कने । यो विधि सुरक्षित र वातावरणमैत्री छ ।
६.लसुन, प्याज र मरिचको स्प्रे
यो प्राकृतिक मिश्रणले साङ्लोलाई भगाउँछ । एक लिटर पानीमा सुनको एक पोटी, एउटँ प्याज र एक चम्चा मरिचको धूलो उमाल्ने । यो मिश्रणलाई छानेर स्प्रे बनाई बोतलमा राख्ने र साङ्ला आउने ठाउँमा छर्कने । यो गन्धले साङ्लोलाई टाढा भगाउँछ ।
७.फोहोरको व्यवस्थापन
साङ्लो फोहोरमा बस्न मन पराउँछ । त्यसैले, फोहोरको डब्बालाई राम्रोसँग व्यवस्थापन गर्ने । फोहोरलाई नियमित रुपमा बाहिर फाल्ने, यदि सम्भव छैन भने डब्बालाई ढक्कनले छोपेर राख्ने । फोहोरको डब्बालाई नियमित धुने ता कि गन्ध नआओस् ।
८.पानीको स्रोत नियन्त्रण
साङ्लोलाई बाँच्न पानी चाहिन्छ ।पानी पिउने ठाउँहरू हटाउनाले तिनको बाँच्ने सम्भावना कम हुन्छ । जथाभावी पानी जम्न नदिने, पानीका भाँडा छोपेर राख्ने, राति भान्साको सिङ्क र बाथरूमलाई सुक्खा राख्दा साङ्लाले पानी खान पाउने सम्भावना हुँदंन ।
९.साङ्ला टाँस्ने ट्र्यापको प्रयोग
बजारमा पाइने टाँस्ने ट्र्यापहरू साङ्लो समात्न प्रभावकारी हुन्छन् । यी ट्र्यापहरूलाई साङ्लो हिँड्ने बाटोमा राख्दा त्यसमा टाँस्सिएर मर्छन् । ट्र्यापमा खानाको टुक्रा राखेर साङ्लोलाई त्यहाँ आकर्षित गर्न सकिन्छ। समातेका साङ्लालाई फेरि फर्किन नस्कने गरी सुरक्षित रूपमा फाल्नुपर्छ ।
१०.कीटनाशक प्रे छर्ने
यदि प्राकृतिक उपायहरूले काम नगरे, बजारमा उपलब्ध कीटनाशक जेल वा स्प्रे प्रयोग गरेर साङ्ला मार्न सकिन्छ । हिट जेल, म्याक्सफोर्स जेल, वा अन्य साङ्लो मार्ने स्प्रेलाई लाई साङ्लो लुक्ने ठाउँमा छरेर मार्न सकिन्छ ।
यस्ता कीटनाशक विषादी प्रयोग गर्दा त्यसले मानव स्वास्थ्यमा पर्ने असरप्रति सचेत रहनुपर्छ । खानाहरूमा पर्नबाट जोगाउनुपर्छ । मास्क लगाएर मात्रै छर्नुपर्छ । बालबालिकाको पहुँचमा हुने गरी राख्नु हुँदैन ।
थप सुझाव
साङ्लोको प्रकोप नियन्त्रणमा आए/नआएको जाँच गर्नुपर्छ । बाहिर नदेखिए पनि भित्र लुकेर बसेका साङ्लाले फेरि फैलाउन सक्छ । कुनाकाप्चा तथा फर्निर, भित्ताहरूमा साङ्लाले फुल पारेको हुन्छ । सफा गरी फुल हटाउनुपर्छ नत्र फेरि साङ्ला फेलिन्छ ।
घरका भित्ता तथा फर्निचरहरूमा साना प्वाल, कापहरू बन्द गर्नुपर्छ, जसमा साङ्ला लुक्ने सम्भावना हुन्छ ।
प्रतिक्रिया 4