
२७ जेठ, विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा वाम एकता तत्काल सम्भव नभएको बताएकी छन् । नेपालका कम्युनिष्ट पार्टीहरुबीच विश्वासको संकट रहेकाले एकता तत्काल सम्भव नभएको उनको भनाइ छ ।
मंगलबार बिहान विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा भण्डारीले वाम एकताको सम्भावनाका साथै सक्रिय राजनीतिमा आउने सम्भावना र अनेरास्ववियुको राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको भावी नेतृत्वबारे चलाइएका चर्चाबारे दिएको अभिव्यक्तिसँग सम्बन्धित जिज्ञासा समेत मेटाउने कोसिस गरेकी छन् ।
कुराकानीको क्रममा उनले आफू देश दौडामा निस्किँदा एमालेलाई सोध्नु नपर्ने समेत अभिव्यक्ति दिइन् ।
प्रस्तुत छ, विराटनगर विमानस्थलमा पूर्वराष्ट्रपति भण्डारी र पत्रकारहरुबीचको कुराकानी–
तपाईं पूर्व आउँदा काठमाडौंमा भुइँचालो किन जान्छ ?
त्यस्तो त थाहा छैन मलाई । पूर्वमा खासगरी म दुईवटा कार्यक्रमको सन्दर्भमा आएको हुँ । पालिकाका उपप्रमुख र उपाध्यक्षहरुको राष्ट्रिय स्तरको कार्यक्रम थियो, त्यसको सन्दर्भमा म आएको हुँ ।
अर्को चाहिँ हाइस्कुलका विद्यार्थीहरुले विज्ञान प्रदर्शनी गरेका थिए । अहिले आईटीको युगमा मलाई पनि रुचि थियो । उहाँहरुले निमन्त्रण गर्नुभयो र त्यो कार्यक्रमको लागि आएको हुँ । त्यसो हुँदा राम्रो कुराको प्रचार प्रसार हुन्छ भने हामी सबै खुसी हुनुपर्छ ।
अस्ति चीन जानुभयो पार्टी नेताको हैसियतमा । त्यहाँबाट फर्किएर पहिलोपटक झापामा आउनु भयो पार्टीले आयोजना गरेको कार्यक्रममा । यसको सन्देश तपाईं सक्रिय राजनीतिमा आउन लागेको भन्ने हो ?
म त्यस्तो व्यक्ति परेँ कि म जहाँ जन्मे, हुर्कें र यो स्थानमा पुगेँ । त्यो समाजबाट आजको मितिसम्म आउँदाखेरि एउटै लाइनमा म छु । तपाईंहरुले यसो हेर्नुभयो भने बुझ्नु हुन्छ । पहिलेदेखि नै वामपन्थी आन्दोलनमा लागियो । त्यसको पनि एउटा खास धार, एउटा संगठन हामी आयौं । अहिलेसम्म पनि, म राष्ट्रपति हुँदासम्म पनि नेकपा एमालेले प्रस्ताव गरेर अरु वापमन्थी र अरु क्षेत्रीय पार्टीहरुले समेत समर्थन गरेर म देशको राष्ट्रपति भएको हुँ ।
राष्ट्रपतिको निर्वाचनमा पनि अहिले जुन गठबन्धन छ, नेकपा एमाले र नेपाली कांग्रेसको । नेपाली कांग्रेसले कहिले पनि मलाई भोट दिएन । बरु माओवादीहरुलाई दियो, सभामुखहरुको चुनावमा, अरु प्रसंगहरुमा । तर लोकतान्त्रिक पार्टी भन्ने नेपाली कांग्रेसले मलाई चाहिँ भोट दिएन । राष्ट्रपति त एक जना हुने हो । जित्ने स्थिति थिएन । सर्वसम्मत गराउँदाखेरि के हुन्थ्यो र ।
त्यसकारण यो लाइनको कुरा गर्ने हो भने सदैव वामपन्थी भित्रको एउटा खास धारमा अहिलेसम्म प्रभावित भइरहेको छु । त्यो भन्दाखेरि अब विद्या भण्डारी पार्टीगत राजनीतिमा के हुन्छ ? कहाँ जानु होला भन्ने प्रश्न होला । पार्टीगत रुपमा हेर्दाखेरि त म जुन पार्टीबाट जन्में, हुर्कें र यो स्थानमा पुगें । त्योभन्दा फरक त सोच्न सकिने कुरा भएन ।
एउटा समृद्ध राष्ट्रको हामीले जुन परिकल्पना गरेका छौं र नेपाली विशेषताको समाजवादी अवधारणालाई कार्यान्वयन गर्ने र न्यायपूर्ण समाज निर्माण गर्ने भन्ने जुन कुरा छ । त्यसमा पार्टीमा म सक्रिय रुपमा लाग्दा त नेकपा एमाले नै हो ।
जहाँसम्म एजेण्डाको कुरा छ, राष्ट्रिय राजनीतिबाट कोही पनि पृथक छैन, न तफाईंहरु हुनुहुन्छ । व्यक्ति–व्यत्ति पनि, साहु महाजन, व्यापारीदेखि लिएर किसान पनि फरक हुन सक्दैन । को कति हदसम्म प्रत्यक्ष अथवा आफ्नो व्यवसायमा बसेर गर्ने भन्ने कुरा हुन्छ ।
तपाईंले यो भनिरहँदाखेरि हिजो मात्र हामीले सुन्यौं, गुटबन्दी भइरहेको छ, कोकोले केके गरे, हामीले पनि हेरिराखेका छौं भन्ने जस्ता कुरा आइरहेका छन्…. ।
कसले भन्यो ?
अध्यक्षज्युले !
त्यो विषयमा त नेकपा एमालेको वर्तमान अध्यक्षज्यू केपी शर्मा ओलीज्यूले मलाई नै तोकेरै, ताकेरै भन्नु भयो होला भन्ने त लाग्दैन ।
तपाईंप्रति लक्षित चाहिँ देखिन्छ ?
कहिले गुट नगरेर म मूलधारको राजनीति गरिराखेको मान्छे, उहाँले त्यो भन्नै मिल्दैन । लक्ष्य तपाईंहरुको गलत अर्थ होला भन्ने मलाई लाग्छ । पार्टीमा सक्रिय राजनीतिमा आउँदाखेरि अध्यक्ष म हुने कुराले अरु आकांक्षीहरुलाई पनि त केही प्रश्नहरु उठाएको हुनसक्छ नि त, त्यसलाई भनेको हो कि ? तपाईंहरु खालि मैतिर किन तेर्सिनु हुन्छ ?
मैले कुनै व्यक्तिगत आकांक्षा राखेको त छैन । म चाहिँ राष्ट्रिय आकांक्षा पूरा गर्न जहाँ जसरी हुन्छ त्यो काम गर्ने हो ।
एमालेमा त केपी शर्मा ओलीको प्रतिस्पर्धी तपाईं नै हो, अरु त कोही देखिनु भएको छैन ।
मलाई के लाग्छ भने हाम्रो नेकपा एमालेको आदरणीय अध्यक्ष ज्यूले विद्या भण्डारीलाई नै प्रतिस्पर्धी देखेर यो कुराहरु, धारणाहरु व्यक्त गरिरहनु भएको छ भन्ने मलाई चाहिँ पटक्कै लाग्दैन ।
त्यसोभए कार्यकर्ता थुमथुमाउनलाई हो ?
उहाँले भनेको के हुनसक्छ भने महाधिवेशन आउँछ, महाधिवेशनमा त नेतृत्व निर्माण हुन्छ । त्यसो हुँदाखेरि तिमीहरु चिन्ता नगर, हामी मिलाएर गर्छौं भनेर कार्यकर्तालाई आश्वस्त गर्न खोज्नु भएको हुनसक्छ ।
उहाँको भनाइ त तपाईंले जानकारी गराएर मात्र हिँड्नुपर्छ भन्ने जस्तो बुझिन्छ । नगराएर हिँड्नु भयो क्या हो ?
म देशको राष्ट्रपति भइसकेको मान्छे, पार्टीगत हिसाबले भन्ने हो भने पनि मैले संगठित सदस्यता लिनुभन्दा अगाडि देखि नै पार्टीमा काम गरेको । चिनजान ठूलै छ, समाजका अरु अरु क्षेत्रहरुमा पनि चिनजान हुन्छ । देशको परिचित व्यक्ति भएको नाताले मलाई कार्यक्रममा बोलाउनु स्वाभाविकै हुन्छ । त्यसकारण मैले पनि समाजसँग पनि साक्षात्कार भेटघाट गर्दै गर्नुपर्यो ।
केछ जनताको विचार आकांक्षाहरु, नयाँ पुस्ता के चाहन्छन् ? राष्ट्रिय आकांक्षालाई साकार गर्न हामी लाग्नुपर्छ, त्यो हाम्रो परम कर्तव्य हो । बाँचुन्जेल हामीले संघर्ष गर्नुपर्छ नयाँ पुस्ताको लागि र देशको लागि । त्यस हिसाबले म देशभित्र घुमफिर गर्न नेकपा एमालेका कमिटीहरु र नेताहरुसँग मैले अनुमति लिइरहनु पर्दैन ।
अब नेपाली नागरिकहरुले देशको अवस्था बुझ्ने नयाँ नेतृत्व खोजेका हुन् ?
म सुन्दैछु, बुझ्दै छु । अहिलेको प्रणालीको बारेमा जनताहरु सन्तुष्ट छन् । स्वतन्त्रता एकदमै राम्रो छ । जनताका छोराछोरी आफ्नो दक्षता प्रयोग गरेर काम गर्न सक्ने वातावरण छ । यो भन्दा ठूलो स्वतन्त्रता त के हुन्छ ?
तर अहिले संसार जसरी विकास भइरहेको छ नि त्यो विकासको त यहीँ बसीबसी मिनेटभरमा हाम्रा जनताले, नवपुस्ताहरुले हेरिराखेका हुन्छन् । त्यसैले विकासको आकांक्षा बढी छ ।
खासगरी कसरी आर्थिक समृद्धि, परिवार परिवारको जुन आवश्यकताहरु हुन्छ त्यसलाई हामीले सहज ढंगले मिहिनेत गरेर, परिश्रम गरेर कसरी पूरा गर्न सकिन्छ भन्ने भावनाले अहिलेको पुस्ता त्यत्तिकै बस्न चाहँदैन । उनीहरु चाँडै आर्थिक विकास गर्ने व्यग्र प्रतीक्षामा छन् ।
तपाईं चीन भ्रमण गरेर आइसकेपछि नेपालमा वाम एकताको अलि बढी चर्चा भइरहेको छ । यसलाई कसरी सहजीकरण गर्नुहुन्छ ?
नेपालमा पहिलेदेखि वाम एकताको चर्चा परिचर्चा छ । यो समयको आवश्यकताले हुने कुरा हो । वाम एकता गरे पनि अहिलेसम्म टिकेको छैन । त्यसैले म वाम एकता भइहाल्ला भन्ने कुरामा त्यति आश्वस्त पनि छैन । किनकी विश्वासको ठूलो संकट छ पार्टी–पार्टीहरुको बिचमा ।
यसको नेतृत्व तपाईंले गर्नुहुन्छ भन्ने चर्चा छ नि ?
बाहिर कसले केके भन्छ । मैले नबुझेको कुरामा बोल्नुपर्छ भन्ने मलाई लाग्दैन । तर हामीले जे देखिराखेका छौं, त्यसभित्रको स्थितिमा म वामपन्थीहरु बिचमा मात्र भन्दिन, देशका ठूला र जिम्मेवार पार्टीहरुसहित सबै दलहरु, अहिले नयाँ दलहरुको पनि उदय भइराखेको छ, ती दलहरुबिच राष्ट्रिय एजेण्डामा राम्रो छलफल गरेर एकताका साथ अगाडि बढे राष्ट्रलाई राम्रो हुन्छ ।
प्रतिक्रिया 4