
२८ जेठ, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले भिजिट भिसा प्रकरणमा सत्ता साझेदार दुई मुख्य दल नेकपा एमाले र नेपाली कांग्रेस सँगसँगै छलफलमा भएको बताएका छन् ।
बिहीबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले विपक्षी दलहरूले ल्याएको सहमतिको बुँदामा कांग्रेस र एमाले सँगै रहेको बताए ।
‘मिड प्वाइन्ट आइसकेको छ । माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र समाजवादीको बीचमा दुई बुँदे प्रस्ताव जुन माओवादीकै साथिहरूले ड्राफ्ट गरेर पठाउनुभएको थियो,’ भट्टराईले भने, ‘त्यसमा भावनात्मक हिसाबले त्यही ठाउँमा छौं भनेका छौं । त्यो मिड पोइन्ट हो ।’
भिजिट भिसा प्रकरणमा विपक्षीले गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् बैठक अवरोध गर्दै आइरहेका छन् । तर, राजीनामा नदिने गृहमन्त्रीको अडानपछि सत्ता र विपक्षी दलहरू सहमतिको विन्दु खोज्दै निरन्तर वार्ता गरिरहेका छन् ।
यसैबीच, एमालेले छलफलमा भाग नलिएको र आफूहरूलाई पनि छलफलको निम्तो नदिएको भन्दै रास्वपा नेताहरूले गुनासो गरेका थिए ।
सोही प्रसंगमा अनलाइनखबरकर्मीले भट्टराईलाई प्रश्न गरे, ‘एमाले र रास्वपाको मिड पोइन्ट आउन बाँकी हो ?’
प्रतिप्रश्न गर्दै भट्टराईले जवाफ दिएका छन्, ‘एमाले र रास्वपा किन ? एमाले र कांग्रेस यसमा कहाँ फरक छ ?’
‘तपाईंहरू छानबिन समितिको मागमा पछि नहट्ने, उहाँहरू छानबिन समिति नभइ नहुने ?,’ भट्टराईलाई अर्को प्रश्न तेर्सियो ।
त्यसमा पनि प्रतिप्रश्न गर्दै भट्टराईले भने, ‘कांग्रेस र एमाले कहाँ भिन्न छ यसमा ?’
‘संयन्त्रको विषयमा तपाईंहरू छलफलमै पछि हट्नु भयो भन्ने छ नि ?’ भट्टराईलाई सोधिएको थियो ।
उनले जवाफका क्रममा भनेका छन्, ‘छलफल गरिरहेका छौं । तपाईंले देख्नुभएन । तपाईंले लेख्नुभयो । तपाईंले मलाई नसोधि लेख्नुभयो । यसमा मेरो के दोष छ ? एमालेले के गर्दैछ भनेर सोधेर त लेख्नुभएन नि ।’
अख्तियारको छानबिनलाई सरकारले पूर्ण सहयोग गर्ने र अध्यागमनमा भइरहेका कमजोरी सच्याउन आवश्यक पहल गर्ने उनले बताए ।
त्यसपछि भट्टराईले एमालेबारे लेख्नुअघि सोधेर मात्र लेख्न आग्रह गरे । ‘एमालेको बारेमा केही लेख्नु छ भने हामीलाई सोधेर लेख्नुहोला । एमालेको बारेमा सोध्नु छ भने सोधेर लेख्नुहोला,’ भट्टराईले भनेका छन्, ‘एमाले र कांग्रेसलाई कहीँ अम्लो घुसार्न सकिन्छ कि भन्ने नसोच्नुहोला ।’
प्रतिक्रिया 4