
News Summary
Generated by OK AI. Editorially reviewed.- ग्लोबल आईएमई बैंकले यती एयरलाइन्ससँगको सहकार्यमा नयाँ ‘ग्लोबल स्काई क्लब कार्ड’ सार्वजनिक गर्यो।
- कार्ड प्रयोगकर्ताले पहिलो टिकट खरिदमा क्यासब्याक र १० प्रतिशत छुट पाउनेछन्।
- बैंक र एयरलाइन्सले डिजिटल कारोबार र ग्राहक सेवा विस्तारमा सहकार्य गरेको बताइएको छ।
२९ जेठ, काठमाडौं । ग्लोबल आईएमई बैंकका ग्राहकले ‘ग्लोबल स्काई क्लब कार्ड’ बाट यती एयरलाइन्सको टिकट किन्दा पहिलो टिकट निःशुल्क पाउने भएका छन् । बैंकले यती एयरलाइन्ससँगको सहकार्यमा ग्लोबल स्काई क्लब कार्ड सार्वजनिक गरेको छ ।
काठमाडौंमा हालै आयोजित एक विशेष कार्यक्रममा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी र यती एयरलाइन्सका सीईओ सुवास सापकोटाले संयुक्त रूपमा कार्ड सार्वजनिक गरेका हुन् ।
ग्लोबल स्काई क्लब कार्ड नियमित प्रयोग गरी कारोबार गर्दा ग्राहक तथा यात्रुले विशेष छुट, बोनस प्वाइन्ट, प्राथमिक चेक–इन सेवा, अतिरिक्त तौल सुविधा लगायत प्राप्त गर्ने पनि बैंकले जनाएको छ ।
ग्लोबल आईएमई बैंक नेपाली बैंकिङ क्षेत्रमा नयाँ–नयाँ सेवा र स्किम ल्याउँदै ग्राहकलाई सर्प्राइज प्याकेज दिने बैंकका रूपमा परिचित छ ।
यसले ग्लोबल आईएमई बैंकका ग्राहकलाई सर्प्राइज प्याकेज सहित नवीन सुविधाको अनुभव गराउने बैंकको विश्वास छ ।
बैंकका ग्राहकले ग्लोबल स्काई क्लब कार्डमार्फत यती एयरलाइन्सको पहिलोपटक टिकट खरिद गर्दा पूरै रकम बराबर क्यासब्याक दिने भएको छ । त्यसैगरी कार्डवाहक ग्राहकले यती एयरलाइन्सको कुनै पनि टिकट खरिद गर्दा १० प्रतिशत वा अधिकतम ५ सय रुपैयाँसम्म छुट पाउन सक्ने कम्पनीले जनाएको छ ।
कसरी फाइदा लिने कार्डबाट ?
बैंकका अनुसार कार्ड जारी गर्ने समयमा ग्राहकले १ सय बोनस प्वाइन्ट पाउँछन् । यस्तो बोनस छुट, पुरस्कार वा अन्य सेवा उपयोगमा प्रयोग गर्न सकिने छ । कार्डका माध्यमबाट पीओएस (प्वाइन्ट अफ सेल) वा ई–कमर्स प्लेटफर्ममा खरिद गर्दा हरेक १ सय रुपैयाँ बराबर १ माइलेज प्वाइन्ट प्राप्त हुनेछ । यसले डिजिटल कारोबारलाई प्रोत्साहन मात्र गर्ने छैन, साथमा कार्ड प्रयोगकर्तालाई बारम्बार फाइदा लिने अवसर समेत दिने छ ।
विमानस्थलमा प्राथमिकता, ५ किलो अधिक तौल सुविधा
ग्लोबल स्काई क्लब कार्डवाहकले विमानस्थलमा समेत प्राथमिकता पाउनेछन् । यती एयरलाइन्सका अनुसार चेक–इन तथा बोर्डिङ प्रक्रिया छिटोछरितो गराइने छ । यस्तो कार्डवाहक यात्रुले लगेजमा समेत अधिकतम तौल सीमाभन्दा ५ किलो अतिरिक्त सामान बोक्न पाउने सुविधा यती एयरलाइन्समा पाइने भएको छ । बढी तौलको लगेजसाथ यात्रा गर्ने यात्रुलाई यो सुविधा निकै फलदायी हुने बैंकको विश्वास छ ।
के भन्छन् सरोकारवाला ?
बैंकका सीईओ रेग्मी ग्लोबल आईएमई बैंक र यती एयरलाइन्सबीचको यो सहकार्यले डिजिटल कारोबार र ग्राहकमैत्री सेवा विस्तारमा सहयोग पुग्ने बताउँछन् । यो सहकार्यले डिजिटल बैंकिङलाई थप सशक्त बनाउने उनको विश्वास छ । ‘ग्लोबल आईएमई बैंक नयाँ प्रविधि प्रयोगसँगै ग्राहकमैत्री सेवा र समयानुकूल योजना ल्याउन सधैं तत्पर छ,’ उनले भने ।
यती एयरलाइन्सका सीईओ सापकोटा ग्लोबल आईएमई बैंकसँगको सहकार्यबाट बैंक र एयरलाइन्स दुवैका ग्राहक तथा सेवाग्राही लाभान्वित हुने बताउँछन् ।
‘हामीले ग्लोबल आईएमई बैंकसँग मिलेर यस्तो योजना ल्याएका छौं, जसले दुवै संस्थाका ग्राहकलाई प्रत्यक्ष लाभ पुर्याउने छ,’ उनी भन्छन्, ‘भविष्यमा अझ नयाँ र परिष्कृत सेवा ल्याउँछौं ।’
ग्लोबल आईएमई बैंकले ग्राहक सुविधा मध्यनजर गर्दै विभिन्न किसिमका समय सान्दर्भिक योजना ल्याएर ग्राहक लाभान्वित गर्दै आएको छ ।
प्रतिक्रिया 4