
News Summary
Generated by OK AI. Editorially reviewed.- रोवन एटकिन्सनले १९७९ मा मिस्टर बिनको पात्र विकास गर्न थालेका थिए।
- मिस्टर बिनको टिभी शृङ्खला सन् १९९० मा सुरु भयो र विश्वव्यापी प्रसिद्धि प्राप्त गर्यो।
- उनी विश्वका २०० देशहरूमा हेरिएको र चलचित्र, सामाजिक सञ्जालमा पनि लोकप्रिय छन्।
सन् १९९० मा पहिलो पटक बेलायती टेलिभिजनमा देखिएका मिस्टर बिन अर्थात् रोवन एटकिन्सन त्यस्तो पात्र हुन्, जसले एक शब्द नबोली पनि लाखौं मानिसलाई हँसाएका छन् । कथाले भन्दा कामले धेरै बोल्छ भन्ने कथन ठ्याक्कै उनीसँग मिल्न जान्छ ।
शारीरिक हाउभाउ तथा अनेकन् गतिविधिमार्फत दर्शक हँसाउने उनको शो टेलिभिजनमा मात्र होइन युट्युब, फिल्म, एनिमेटेड मुभी, सामाजिक सञ्जालसम्म विस्तारित छ । ती आज संसारका झण्डै २०० देशहरूमा हेरिएको बताइन्छ ।
२५ वर्षभन्दा बढीको करियरमा मिस्टर बिन कुनै शोको पात्र नभई एउटा सांस्कृतिक आइकन बन्न पुगेका छन् । यस्तो विश्व प्रसिद्ध पात्र न त धेरै बोल्छन्, न त कुनै महत्त्वपूर्ण काम गर्छन्, तर जे गरी नि हाँसो निकाल्ने गर्छन् ।
१. रोवन एटकिन्सनले अक्सफोर्ड विश्वविद्यालयमा इलेक्ट्रिकल इन्जिनियरिङमा मास्टर्स गर्दा नै मिस्टर बिनको पात्रको विकास गर्न थालेका थिए । उनले यो पात्रलाई पहिलोपटक १९७९ को एडिनबरा फेस्टिभल र आईटीभीको ‘क्याननेड लाफ्टर’ नामक विशेष शोमा परीक्षण समेत गरेका थिए ।
२. मिस्टर बिनले पहिलो अन्तर्राष्ट्रिय प्रस्तुति सन् १९८७ मा क्यानडाको मोन्ट्रिएलस्थित ‘जस्ट फर लाफ्स’ फेस्टिभलमा दिएका थिए । त्यहाँ उनले जानाजान फ्रेन्च भाषी दर्शकअघि शारीरिक हाउभाउ गरेर हँसाउन सकिने/नसकिने कुराको जाँच गरेका थिए ।
३. मिस्टर बिनको टिभी शृङ्खला सन् १९९० मा सुरु भएको थियो । जुन उनले र अक्सफोर्डका साथी रिचर्ड कर्टिस मिलेर बनाएका थिए । त्यसपछि उनी मिस्टर बिनतिरै लागे भने कर्टिस ‘फोर वेडिङ्स एन्ड अ फ्युनेरल’, ‘लभ एक्चुअली’ जस्ता रोमान्टिक फिल्मका लेखक बने ।
४. एटकिन्सनका अनुसार फ्रेन्च स्लाइलेन्ट एक्टर (आवाजबिहीन फिल्ममा अभिनय गर्ने कलाकार) ज्याक्वेस टाटीले निभाएको पात्र ‘मोन्सिएर हुलाट’बाट मिस्टर बिनको प्रेरणा लिइएको हो ।
५. ‘मिस्टर बिन’ नाम भने सन् १९८९ मा राखिएको थियो । एटकिन्सन र कर्टिसले विभिन्न तरकारीको नाम सोच्दै जाँदा ‘बिन’ राख्ने निर्णयमा पुगेका थिए ।
६. मिस्टर बिनको क्रिश्चियन नाममा अन्योलता देखिन्छ । उनको पासपोर्टको पहिलो नाममा कहिले ‘मिस्टर’ त कहिले ‘रोवन’ लेखिएको देखिन्छ ।
७. मिस्टर बिन ‘फ्याल्ट टू, टुभेल्भ आर्बोर रोड, हाईबरी, नर्थ लन्डन’मा बस्छन् भनिए पनि वास्तवमा यो ठेगाना छैन । तर लन्डनको इन्फिल्ड भन्ने ठाउँमा एउटा सडकको नाम भने ‘आर्बोर रोड’ छ।
८. शोमा मिस्टर बिनलाई एक्लो व्यक्ति देखाइएता पनि कुनै बेला इर्मा गोब नाम गरेकी उनकी प्रेमिका थिइन् । गोब तीन एपिसोडमा देखिएकी थिइन् । केही पछि बनाइएको मिस्टर बिनको एनिमेटेड सिरिजमा पनि उनलाई देख्न सकिन्छ ।
९. शोमा मिस्टर बिनको जीवनमा थुप्रै महिलाहरू आउँछन् जान्छन् । तर उनको सधैंको साथी भने टेड्डी नामको सानो भालु खेलौना हो । शोमा उनले कहिले टेड्डीका लागि उपहार किन्छन् त कहिले उसलाई ब्रश बनाएर चित्र बनाउँछन् ।
१०. टेड्डी जस्तै मिस्टर बिनको कार पनि प्रिय साथी हो । सुरुमा उनको कार सुन्तला रङ्गको १९६९ बीएमसी मिनी एमके टू थियो । जुन एउटा दुर्घटनाका कारण कुदाउन नमिल्ने भयो । त्यसपछि उनी हरियो रङको १९७६ मिनी १००० कारमा हिड्ने गर्थे । त्यसलाई पनि पछि एउटा एपिसोडमा ट्यांकले किचिदिएको छ ।
११. मिस्टर बिनको करिब ३० मिनेटका १४ वटा लाइभ एक्सन सिरिज १९० भन्दा बढी देशहरूमा विक्री भइसकेका छन् ।
१२. विगत २५ वर्षयता कुनै न कुनै समयमा मिस्टर बिन विश्वको कुनै न कुनै ठाउँमा प्रसारण हुँदै आइरहेको छ ।
१३. मिस्टर बिनको भिडियो र डिभीडी विक्रीबापत आएको कुल रकम जोड्दा क्यानडाको प्रत्येक व्यक्तिले एउटा मिस्टर बिनको डीभीडी किन्नु बराबर हुन जान्छ ।
१४. मिस्टर बिनको ठूलो पर्दा (सामान्यत: चलचित्र)मा प्रवेश भने सन् १९९७ को ‘मिस्टर बिन: द अल्टिमेट डिजास्टर मुभी’बाट भएको थियो ।
१५. उक्त फिल्म बेलायतको इतिहासमै सबैभन्दा बढी कमाइ गर्ने फिल्महरूमध्येमा पर्छ । त्यसले १६६ मिलियन युरो आम्दानी गरेको बताइन्छ ।
१६. सन् २००७ मा मिस्टर बिनको दोस्रो फिल्म ‘मिस्टर बिन्स होलिडे’ रिलिज भएको थियो । यसले ६५ देशहरूबाट १५६ मिलियन युरो कमाएको बताइन्छ ।
१७. मिस्टर बिनले पहिलोपटक एनिमेटेड अवतार सन् २००२ मा पाएका थिए । त्यसमा आवाज भने एटकिन्सनकै राखिएको थियो ।
१८. त्यसपछि ‘सीआईटीभी’ सिरिजमार्फत मिस्टर बिन एनिमेटेड अवतारमा फेरि देखापरेका थिए ।
१९. मिस्टर बिनलाई सामाजिक सञ्जालहरूमा पनि उत्तिकै हेर्ने गरिएको छ । यही नामको आधिकारिक युट्युब च्यानलले अहिलेसम्म ३ करोड ४० लाख सब्सक्राइबर बढुलेको छ भने ११ अर्ब बढी भ्यूज पाएको छ।
२०. मिस्टर बिन दृश्यमा मात्र होइन, साहित्यमा पनि छाएका छन् । सन् १९९३ मा प्रकाशित ‘मिस्टर बिन्स डायरी’ नामक पुस्तक १० लाखभन्दा बढी प्रतिहरू विक्री भएको थियो ।
२१. बेलायतभन्दा बाहिरका प्रशंसकहरूले मिस्टर बिनलाई अझ धेरै माया दिएका छन् । उनले अन्तर्राष्ट्रिय एमी, गोल्डेन रोज अफ मोन्त्रो, केबल एस अवार्ड र बीएएनएफएफ वर्ल्ड मिडिया फेस्टिभल अवार्ड जितेका छन् ।
२२. सन् १९९२ को ‘मेरी क्रिस्टमस मिस्टर बिन’ एपिसोडलाई बेलायती दर्शकले दुई करोड पटक हेरेका थिए ।
२३. मिस्टर बिन यति लोकप्रिय छन् कि, १०० भन्दा बढी एयरलायन्सहरूमा यात्रा गर्ने यात्रुका लागि उनी मनोरञ्जनको हिस्सा बनेका छन् ।
२४. उनका धेरै फ्यानहरूलाई लाग्छ, मिस्टर बिन पृथ्वीका नै होइनन् । शोको सुरुमा उनलाई आकाशबाट प्रकाशको किरणसँगै जमिनमा झारिन्छ । र अन्त्यमा पुनः आकाशतर्फ नै तानेर लगिन्छ । त्यस्तो गर्ने काम एलियनहरूले गरेको भन्ने विश्वास धेरै फ्यानहरूमा छ ।
प्रतिक्रिया 4