
३० जेठ, काठमाडौं । कीर्तिपुरमा सम्पन्न अनेरास्ववियुको २४औं राष्ट्रिय सम्मेलनबाट डा.सुजन कडरिया अध्यक्ष पदमा निर्वाचित भएका छन् । नेसनल मेडिकल स्टुडेन्टस एसोसिएसनका संस्थापक अध्यक्षसमेत रहेका कडरियाले अर्का प्रत्यासी प्रकाश पौडेललाई सात मतको झिनो अन्तरले पराजित गर्दै अध्यक्ष निर्वाचित भए ।
अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लागू भएकाले सचिवभन्दा माथिका पदाधिकारी स्वतः बिदा भएका थिए । त्यसैले सचिवहरु मध्ये भएको प्रतिस्पर्धामा रामेछापका कडरियाले बाजी मारे ।
भूकम्पपछिको विपत्तिमा विभिन्न जिल्लामा पुगेर चिकित्सा सेवा गरेको र मेडिकल क्षेत्रको भ्रष्टाचारको मुद्दा उठाएका उनी आफ्नो जितलाई विद्यार्थी आन्दोलनमा नयाँ दिशा दिने चाहनाको पुष्ट्याइ मान्छन् ।
उनी भन्छन्, ‘यो विद्यार्थी आन्दोलनले कतै न कतै आफ्नो डिरेक्सन चेन्ज गर्न चाहिरहेको छ भन्ने मलाई लागेको थियो र त्यही अनुरुप यो निर्वाचन परिणामले केही हदसम्म पुष्टि गरेको छ ।’
प्रस्तुत छ, अनेरास्ववियुका नवनिर्वाचित केन्द्रीय अध्यक्ष डा.सुजन कडरियासँग अनलाइनखबरकर्मी सइन्द्र राईले गरेको कुराकानीः
यो जितलाई कसरी लिनुभएको छ ?
विद्यार्थी आन्दोलनले एउटा नयाँ बाटो खोजिरहेको छ । एउटा विधिवादी, प्रक्रियागत रुपमा भन्दा पनि नयाँ ढंगबाट अगाडि बढ्न बढ्न चाहिरहेको छ ।
जसरी एउटा हरेक विषय गतिशील हुन्छ, त्यसरी नै आन्दोलनको गतिशीलताले नयाँ दिशातर्फ उन्मुख भइरहेको जस्तो देखिरहेको छु मैले ।
हामीले समय अनुसार यसलाई परिमार्जित गर्दै यसको आवश्यकताहरू हेरेर अब विद्यार्थी माझ फेरि पहिला जस्तै लोकप्रिय बनाउनुपर्छ ।
त्यसको लागि एउटा रिसर्च गर्नुपर्छ, वर्तमान विद्यार्थीहरूको चाहनाहरू के छन्, उनीहरूको समस्याहरू के छन् र त्यसलाई कसरी समाधान गर्नुपर्छ भनेर एउटा स्टडी गर्नुपर्छ ।
त्यो स्टडीबाट आएको कन्क्लुजन अनुसार चाहिँ हामीले आन्दोलनलाई नयाँ ढाँचामा अगाडि बढाउनुपर्छ ।
तपाईंले प्राप्त गरेको जित विद्यार्थी मुभमेन्ट नयाँ दिशातिर बढ्नुपर्छ भन्ने सन्देश हो ?
एक्ज्याक्ट्ली । जुन किसिमले इलेक्सन भयो, इलेक्सनभन्दा अगाडि पार्टीले एउटा प्रस्ताव पनि गरेको थियो– सर्वसहमतिबाट सबै साथीहरू अटाएर जाने भनेर ।
किनकि प्राविधिक धारको पोलिटिक्सबाट म अगाडि भएको कारणले, एक पटक पार्टीले यो धारलाई नेतृत्व दिँदाखेरि कस्तो हुन्छ भन्ने जुन प्रगतिशील विचार थियो, जसरी हिजो महिलालाई नेतृत्वमा लिएर आउने विषय पनि हाम्रो पार्टीले नै अगुवाइ गरेको थियो, त्यसैगरी एउटा प्राविधिक धार, त्यसमा पनि मेडिसिन पढेको विद्यार्थीले यो आन्दोलनलाई कसरी लिएर जान सक्छ र उसले नेतृत्व गर्दाखेरि आम विद्यार्थीको आकर्षण कस्तो हुन्छ भनेर परीक्षण गर्न हाम्रो पार्टीले मलाई अगाडि सार्न खोजेको थियो ।
यद्यपि साथीहरूले सर्वसहमति भन्दा पनि इलेक्सनको प्रक्रियाबाट जान पाउँ भन्ने माग राखेर लाग्नुभएको थियो । त्यो पनि आफैंमा एउटा प्रशंसनीय र प्रगतिशील नै माग थियो ।
त्यसपछि हामी इलेक्सन प्रक्रियामा गयौँ । इलेक्सन प्रक्रियामा हामीले मत हेर्ने हो भने एउटा विद्यार्थी वर्ग यस्तो निस्क्यो, जसले समाजमा केही न केही दिन सक्नुपर्छ, आफूलाई आदर्श प्रस्तुत गर्न सकिएन भने समाजले हामीलाई विश्वास गर्न सक्दैन भन्ने मूल्य मान्यता बोकेको आदर्श थियो । अर्को मूल्य मान्यता जुन हाम्रो परम्परा छ, त्यो परम्परालाई नै निरन्तर गर्नुपर्छ भन्ने नै थिए ।
सबैजना आ–आफ्नो ठाउँमा सापेक्षिक हिसाबले सही हुनुहुन्थ्यो । तर यो विद्यार्थी आन्दोलनले कतै न कतै आफ्नो डिरेक्सन चेन्ज गर्न चाहिरहेको छ भन्ने मलाई लागेको थियो र त्यही अनुरुप यो निर्वाचन परिणामले केही हदसम्म पुष्टि गरेको छ ।
मत परिणाम प्रतिस्पर्धात्मक देखियो, अब अर्को पक्षलाई कसरी समेट्नु हुन्छ ?
मेरो समकक्षी, सहयोद्धा (प्रकाश पौडेल) हुनुहुन्छ, उहाँ आफैंमा आन्दोलनबाट लामो संघर्ष गरेर आउनुभएको व्यक्तित्व हो । उहाँलाई पनि अटाएर जानुपर्छ र उहाँमा भएका अनुभवहरूलाई पनि समावेश गरेर आन्दोलनमा उहाँ सहित, उहाँ म सहितको एउटा नेतृत्व गर्ने भन्ने मेरो आफ्नै पनि व्यक्तिगत प्रस्ताव थियो ।
त्यसकारणले गर्दाखेरि एउटा कालखण्डमा उहाँसँग प्रतिस्पर्धा भयो होला, तर त्यसलाई एउटा राजनीतिक भन्दा पनि हाम्रो सांगठनिक जीवनको आन्तरिक प्रतिस्पर्धाको रुपमा हेरेर त्यसको नतिजा र परिणाम आइसकेपछि मैले अब उहाँका विचारहरूलाई पनि, जुन विचारहरूले अहिलेको वर्तमान विद्याथर्थीहरूको प्रतिनिधित्व गर्छ, ती विचारहरूलाई पनि मैले लिएर जानु, अगाडि बढ्नुपर्छ ।
र अरु साथीहरूसँगको भनेको त मत परिणाम पछि हाम्रो आन्तरिक प्रतिस्पर्धा हो, त्यसमा कुनै समस्या नै छैन । हामी सबैजना एक हौं, हामी जबजका विद्यार्थीहरू हौँ । त्यसमा कुनै पनि समस्या नै छैन ।
सचिव हुँदै अध्यक्ष बन्दा विद्यार्थी आन्दोलनको समस्या कसरी पहिचान गर्नुभएको छ ?
जतिबेला हामी स्कुल जान सुरु हुन्छौँ, त्यहाँदेखि नै एउटा विभेद सुरु गरिएको छ, असमानता छ । निजी शिक्षालय र सामुदायिक शिक्षालयमा पढाउने सिलेबसमा केही न केही भिन्नता छ । चाहे त्यो भाषिक माध्यम होस् या अन्य विषयमा होस् ।
सामुदायिक शिक्षालयमा पढ्दैछ भन्दा चाहिँ समाजको अलिकति पिछडिएको वर्ग हो कि, अलिकति हेपिएको वर्ग हो कि, जस्तो तरिका, जुन दृष्टिकोणले हेरिराखेको छ, यसलाई जरैदेखि निमिट्यान्न पार्न जरुरी छ ।
कोही चाहिँ निजी शिक्षालयमा पढ्दैमा त्यसको वर्ग माथिल्लो हुने र सामुदायिक शिक्षालयमा पढ्दै गर्दा तल्लो हुने भन्ने मानसिक विभेद छ, त्यो विभेद अन्त्य गर्न जरुरी छ ।
यसको अन्त्य दुई तरिकाबाट गर्न सकिन्छ । या त सम्पूर्ण शिक्षाको व्यापारीकरण अन्त्य गरेर गर्न सकिन्छ भने अर्को भनेको सरकारी अथवा सामुदायिक शिक्षालयको स्तरोन्नति गरेर गर्न सकिन्छ ।
स्तरोन्नति गर्दाखेरि हामीले कुनै पनि हालतमा कम्प्रमाइज गर्नु हुँदैन, चाहे त्यो पढाउने सिलेबसमा होस् या शिक्षकहरूको क्वालिफिकेसनमा होस् । यो सबै कुरामा एकरुपता भएन भने शिक्षाको प्रारम्भिक चरणको विभेदले नै हाम्रो समाजमा दुई वटा वर्ग जन्माउँछ । त्यो वर्गमा जहिले पनि द्वन्द्व भइराख्छ । यसकारणले हामीले यसलाई अन्त्य गर्नुपर्छ । यसको लागि मैले आफ्नो तर्फबाट पहलकदमी सुरु गर्छु ।
अर्को विषय भनेको अहिलेका युवा पुस्ता, हाम्रो जेनेरेसन, जेन जी पुस्ता छ, यो पुस्ताले चाहिँ हाम्रो हिस्ट्रीलाई अध्ययन नगर्ने र सतही मूल्यांकन गर्ने, एकदम सर्फेस टिप्पणी गरिहाल्ने खाले छ । सानो क्लिप्स हेरेर अथवा केही सानो कुरा सुनेर प्रतिक्रिया दिइहाल्ने बानीे छ । यसको अन्त्य लागि पनि हामीले केही न केही पहलकदमी गर्नुपर्छ ।
हामीले हाम्रो इतिहासलाई हाम्रो नयाँ पुस्ता माझ लिएर जानुपर्छ । आजको हाम्रो वर्तमान अवस्था भनेको आजको नेतृत्वको असफलताले मात्र होइन, आजको असफलता भनेको हाम्रो ऐतिहासिक चेत, पिछडापन, हिजो विगतमा भएको स्वार्थी सत्ता संघर्षहरू, निरंकुश जहानियाँ शासन पद्धति पनि हो । १७८९ तिर फ्रान्समा क्रान्ति भयो । तर नेपालमा बल्ल २०६२/०६३ क्रान्ति भयो, त्यसलाई २०७२ सालमा संस्थागत गर्यो ।
हामीले जुन बेलामा लोकतान्त्रिक गणतन्त्र लिएर आउनुपर्ने हो, त्यतिबेला निरंकुश जहानियाँ शासन व्यवस्थाबाट शासित थियौँ । यो सबै कुरा हामीले नयाँ पुस्तालाई बुझाउनुपर्छ । नयाँ जेनेरेसनलाई केवल आफ्नो व्यक्तिगत जीवनको लागि मात्र होइन, सामाजिक जीवनको लागि पनि बाँच्ने खाले त्यस्तो प्रेरणा जगाउन जरुरी छ । त्यसको लागि पनि हामीले केही न केही काम गर्नुपर्छ ।
जवाफ त दोहोरिएला, तर दुई वर्षपछि अखिलको नेतृत्व छोड्दै गर्दा विद्यार्थी आन्दोलन कहाँ पुग्ला ?
पार्टीको दृष्टिकोणमा हामी सबैजना समान नै थियौँ । तर म एउटा फरक पृष्ठभूमिबाट आएकाले पार्टीले एक पटक यो नेतृत्व कस्तो हुन्छ भनेर परीक्षणकाल जस्तो सोचेको हो । यसमा पार्टीले मलाई विश्वास गरेकोमा म पार्टीलाई धन्यवाद पनि व्यक्त गर्न चाहन्छु ।
र, दुई वर्षको कार्यकालमा मैले अघि भनेका विषयलाई पनि समाधान गर्न लाग्छु र विद्यार्थी मुद्दाहरूको प्रतिनिधित्व गर्न सक्ने विद्यार्थी आन्दोलन, जहाँ विद्यार्थीहरूको उपस्थिति उल्लेखनीय हुनेछ । एकदम हर्षोल्लासमय उपस्थिति हुनेछ र पहिलेको जस्तै हाम्रो रातो घर, पहिले जस्तै गरेर उज्यालो रातो घर बनाउन म पहलकदमी गर्नेछु ।
प्रतिक्रिया 4