+
+
Shares

विश्व बैंकले आउने ६ वर्षमा पौने ४ खर्ब लगानी गर्ने, पहिलो प्राथमिकता रोजगारी

हाल नेपालमा विश्व बैंकको खुल लगानी प्रतिबद्धता २ अर्ब अमेरिकी डलर रहेको छ । त्यसमध्ये १ अर्ब ३० करोड डलर खर्च हुन बाँकी रहेको विश्व बैंकले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ३० गते २०:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्व बैंक समूहले आगामी ६ वर्षमा नेपालमा २ अर्ब ७० करोड अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ।
  • राष्ट्र साझेदारी रूपरेखाले रोजगारी सृजनालाई प्राथमिकता दिएको र प्राकृतिक विपत्तिप्रति उत्थानशीलता बढाउने उद्देश्य राखेको छ।
  • प्राकृतिक विपत्तिका कारण नेपाल दोस्रो जोखिमयुक्त देश भएको र पर्यटन क्षेत्रमा रोजगारीको सम्भावना रहेको विश्व बैंकले बताए।

३० जेठ, काठमाडौं । विश्व बैंक समूहले आगामी ६ वर्षमा नेपालमा कम्तीमा पनि २ अर्ब ७० करोड अमेरिकी डलर अर्थात् अहिलेको विनिमयदरअनुसार ३ खर्ब ७१ अर्ब रुपैयाँ लगानीको प्रतिबद्धता व्यक्त गरेको छ ।

आइतबार सार्वजनिक नेपाल राष्ट्र साझेदारी रूपरेखा (सीपीएफ) मा यसबारे जानकारी दिइएको हो । यस अवधिमा विश्व बैंकले गर्ने लगानीमध्ये १ अर्ब ९५ करोड ६० लाख अमेरिकी डलर अर्थात करिब २ खर्ब ६८ अर्ब रुपैयाँ अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए) मार्फत सहुलियतपूर्ण ऋण हुने छ । आईडीएले सरकारलाई ऋण सहयोग गर्छ ।

त्यस्तै, विश्व बैंक समूहअन्तर्गतकै निजी क्षेत्रलाई लगानी गर्ने संस्था अन्तर्राष्ट्रिय वित्त कोष (आईएफसी) ले कम्तीमा ७५ करोड अमेरिकी डलर अर्थात् करिब १ खर्ब ३ अर्ब रुपैयाँ लगानी गर्ने अनुमान गरेको छ । यो निकायले निजी क्षेत्रका परियोजनाहरूमा ऋण लगानी गर्दै आएको छ ।

हाल नेपालमा विश्व बैंकको खुल लगानी प्रतिबद्धता २ अर्ब अमेरिकी डलर रहेको छ । त्यसमध्ये १ अर्ब ३० करोड डलर खर्च हुन बाँकी रहेको विश्व बैंकले जनाएको छ ।

विश्व बैंक समूहले आगामी ६ वर्षका लागि तयार गरेको नेपाल राष्ट्र साझेदारी रूपरेखाले रोजगारी सृजनालाई पहिलो प्राथमिकता दिएको छ । आर्थिक वर्ष २०८२/८३ देखि २०८८/८९ सम्मको लगानीलाई निर्देशित गर्ने यो राष्ट्र साझेदारीले नेपालको विकासमा सहायता प्रदान गरी जनताको जीवनस्तर उकास्ने मुख्य लक्ष्य लिएको विश्व बैंकले जनाएको छ ।

‘यस रूपरेखाले रोजगारी सृजना र विशेषगरी जलवायु परिवर्तनको असरलगायत प्राकृतिक विपदप्रतिको उत्थानशीलता वृद्धिमा जोड दिएको छ,’ विश्व बैंकले उल्लेख गरेको छ ।

रोजगारी सृजना गर्ने विकास, प्राकृतिक विपद्‍प्रतिको उत्पादनशीलता, सीमित कनेक्टिभिटी र कमजोर सार्वजनिक निकाय नेपालका सबैभन्दा सबैभन्दा ठूला चुनौती रहेको विश्व बैंकको राष्ट्र साझेदारी रूपरेखाले उल्लेख गरेको छ ।

‘विश्व बैंक समूहले प्रमुख दुई विकास चुनौतीहरू रोजगारी सृजना गर्ने विकास र प्राकृतिक विपदप्रतिको उत्थानशीलतालाई ध्यानमा राखी विश्लेषणात्मक, परामर्शीय र ऋणको खाका तय गर्ने छ,’ रूपरेखामा भनिएको छ ।

नेपाल राष्ट्र साझेदारी रुपरेखा सार्वजनिक गर्न काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा विश्व बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख प्रशासकीय अधिकृत वेन्साई झाङले विगत ३० वर्षमा नेपालले गरिबी न्यूनीकरणमा उदाहरणीय प्रगति हासिल गरेको बताए ।

सन् १९९५ मा नेपालमा गरिबीको दर ५५ प्रतिशत रहेकोमा अहिले त्यो घटेर ०.३७ प्रतिशतमा झरे पनि आन्तरिक आर्थिक वृद्धिले त्यसलाई साथ नदिएको उनले बताए ।

अहिले पनि नेपालको जनशक्तिको ८२ प्रतिशत अनौपचारिक क्षेत्रमा रहेको उनको भनाइ थियो, जुन विश्वव्यापी तथा क्षेत्रीय औसतभन्दा धेरै नै बढी हो ।

नेपाल, माल्दिभ्स तथा श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनले भने- हरेक दिन नेपालबाट रोजागरीका लागि २४ सय मानिस बाहिर गइरहेका छन् । त्यसैले रोजगारी सृजना महत्त्वपूर्ण हो ।

‘धेरै नेपाली कामको खोजीमा बाहिर जाने गरेका छन्,’ उनले भने, ‘त्यसैले रोजगारी सृजना नेपालका लागि निकै महत्त्वपूर्ण छ ।’

प्राकृतिक विपत्ति र जलवायु परिवर्तनको धक्काका हिसाबले नेपाल जोखिमपूर्ण रहेको उनको भनाइ थियो । प्राकृतिक विपत्तिका कारण मानिसको मानिसको मृत्यु हुने जोखिमका हिसाबले नेपाल संसारकै दोस्रो जोखिमयुक्त देश भएको उनको भनाइ छ ।

नेपालमा दिगो आर्थिक विकासका लागि धेरै र राम्रो रोजगारी सृजना गर्नु भएको उनको भनाइ थियो । त्यसका साथै प्राकृतिक विपत्तिबाट उत्थान गर्न सक्ने खालको वातावरण बनाउनुपर्ने उनले बताए

‘विश्व बैंकको नयाँ कन्ट्री पार्टनरसिप फ्रेमवर्क’को प्राथमिकता यिनै हुन्,’ उनले भने । पर्याप्त र राम्रो रोजगारी सृजना गर्ने कुरालाई विश्व बैंकले सधैं प्राथमिकता दिएको उनले बताए । त्यसो हुँदा सन् २०३० भित्र नेपालका २ करोड २० लाख मानिस काम गर्ने उमेरमा पुग्ने अनुमान छ । गरिबीसँग जुध्न र विकासलाई अघि बढाउन रोजगारी सृजनाभन्दा ठूलो हतियार अर्को हुन नसक्ने उनले बताए ।

कार्यक्रममा नेपाल, माल्दिभ्स तथा श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनले रोजगारी सृजना नै नेपालको सबैभन्दा ठूलो समस्या रहेको र त्यसको समाधानमा आफूहरूले ध्यान दिएको बताए ।

‘हरेक दिन नेपालबाट रोजागरीका लागि २४ सय मानिस बाहिर गइरहेका छन् । त्यसैले रोजगारी सृजना महत्त्वपूर्ण हो,’ उनले भने ।

पर्यटनलगायत क्षेत्रमा रोजगारीको ठूलो सम्भावना रहेको उनले बताए । ‘उदाहरणका लागि पर्यटनमा निजी क्षेत्रले काम गर्छ । एउटा पर्यटकबाट सात किसिमका रोजगारी सृजना हुन्छ भनिन्छ, यस्ता धेरै क्षेत्रमा रोजगारी सृजनाका लागि काम गर्नुपर्छ,’ उनले भने ।

विश्व बैंकको राष्ट्र साझेदारी रुपरेखा सोभियत स्टाइलको मास्टरप्लान नभई आगाामी ६ वर्षका लागि कसरी काम गर्ने भन्ने रूपरेखा मात्रै भएको उनले बताए ।

‘नेपालमा गरिने लगानीले व्यावसायिक वातावरण बनायो भने त्यसले फाइदा हुन्छ, यस्तो लगानी होस्, जसले नेपालमा विदेशी लगानीकर्ता आउन्, नेपालकै लगानीकर्ताले पनि लगानीको निर्णय गरुन्,’ उनले भने ।

आईएफसीका इमाड फाखुरीले विश्व बैंकले लगानी गरिरहेका तथा प्राथमिकताका क्षेत्रमा निजी क्षेत्रको योगदान बढाउन आफूहरूले लगानी गर्ने बताए ।

‘बैंक र आईएफसीले कामलाई एकअर्काका लगानीलाई परिपूरकको काम गर्छ,’ उनले भने, ‘उदाहरणका लागि विश्व बैंकले डिजिटल विकासमा लगानी गर्छ । त्यसका लागि लागि राम्रो इन्टरनेट चाहिन्छ । आईएफसीले त्यो सुविधा पर्‍याउनका लागि इन्टरनेट सेवा प्रदायकलाई लगानी गर्छ ।’

आईएफीले नेपालमा ऊर्जा, साना व्यवसायीलगायतमा लगानी गरिरहेको उनले बताए ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?