+
+
Shares

माओवादीको पोखरा महानगर कमिटीमा भण्डारी नेतृत्वको प्यानल विजयी

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १ गते १६:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्र पोखरा महानगर समितिको अध्यक्षमा हरि भण्डारी निर्वाचित भए।
  • अधिवेशनमा सर्वसम्मत पदाधिकारी चयन असफल भएपछि मतदानमार्फत नेतृत्व चयन भयो।

१ असार, पोखरा । नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीको अध्यक्षमा हरि भण्डारी निर्वाचित भएका छन् । माओवादीका केन्द्रीय सदस्यद्वय राजकाजी गुरुङ ‘करण’ र दीपक कोइरालाको गुट प्यानलै बनाएर प्रतिस्पर्धामा उत्रिएको थियो ।

अघिल्लोपटक पदाधिकारीमा झण्डै क्लिन स्वीप हानेको कोइराला समूहलाई करण समूहले यसपटक चुनाैती दिएको थियो । सचिव सूर्यप्रकाश तिवारी सर्वसम्मत भएका थिए भने अन्य पदाधिकारीमा पटक पटक सहमतिको प्रयास भए पनि असफल भएपछि मतदानमै गएको थियो ।

सचिवबाहेक पदाधिकारीमा करण समूहका भण्डारी र दीपक समूहका जनकराज पराजुलीको नेतृत्वमा प्यानलै प्रतिस्पर्धामा उत्रिएको हो । ५१ मत ल्याउँदै करण समूहका भण्डारी विजयी हुँदा दीपक समूहका जनकराजले ३५ मात्र मत ल्याए ।

भण्डारी अघिल्लो अधिवेशनमा उपाध्यक्षमा पराजित भएका थिए । जनकराज भने निवर्तमान सचिव हुन् । अहिले सर्वसम्मत भएका सचिव तिवारीलाई दुबै पक्षले आफ्नो भएको दाबी गरेका छन् । तर, अघिल्लो पटक उनी महानगरमा दीपक समूहमा निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा अर्जुन मल्ल, देवीमाया अधिकारी, पुष्पकमल ढुंगाना निर्वाचित हुँदा गीता खनाल र दयाराम तिवारी पराजित भए । सहसचिवमा भीमबहादुर नेपालीलाई हराउँदै चन्द्रबहादुर गुरुङलाई निर्वाचित भए । कोषाध्यक्षमा रामप्रसाद पाण्डे (राजु) लाई हराउँदै अनिल परियार विजयी भएका छन् ।

४ सय ४८ जना प्रतिनिधिबाट ८६ सदस्यीय कार्यसमिति सदस्य सर्वसम्मत निर्वाचित भएका थिए । विधानअनुसार तिनै ८६ जनाले पदाधिकारी चुनेका हुन् । ९९ सदस्यीय कमिटीमा बाँकी मनोनित हुने छन् ।

सर्वसम्मत गर्ने कसरत असफल भएपछि अधिवेशन सुरु भएको ६ दिनपछि मतदानमार्फत नेतृत्व चुनिएको छ । गत २७ गते माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अधिवेशनको उद्घाटन गरेका थिए ।

उद्घाटन गर्दै प्रचण्डले कास्कीको गुटबन्दीले पार्टी कमजोर बनेको भन्दै चिन्ता व्यक्त गरेका थिए । कास्कीमा राजकाजी र दीपकबीच दुई दशकदेखि अन्तरविरोध रहे पनि ७० देखि भने गुटकै रुपमा प्रतिष्ठाको लडाइँ चल्दै आएको छ ।

दुई नेताबीचको पुरानो टक्करले अहिले करण वर्षपुन समूहमा छन् भने दीपकलाई जनार्दन समूहका नेता भन्ने गरिएको छ । कोइरालाले भने आफू अध्यक्ष प्रचण्ड समूहको बताउँदै आएका छन् । यी दुई समूहबीच अघिल्लो अधिवेशनमा पनि मतदानमा जाँदा कोइराला समूहका हरिनारायण गिरी (विज्ञान)को प्यानलै विजयी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?