+
+
Shares

नियतिको खेल र राजा फर्काउने झेल

राजा फर्काउने सबै हिन्दु धर्म हुनुपर्छ भन्छन्। हिन्दु धर्म मान्नेले भविष्य पुराण पनि मान्दा हुन्। नियति पनि मान्दा हुन्। त्यस विपरीत अनेक थरीका पण्डा, ज्योतिषीले तोकेको राजा फर्कने कति किटानी मिति गुज्रिसकेको छ।

धर्म गौतम धर्म गौतम
२०८२ असार ३ गते ६:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालको इतिहासमा राजा महेन्द्रले प्रजातन्त्रको हत्या गरेपछि नेपाली कांग्रेसले सशस्त्र प्रतिरोध सुरु गरेको थियो।
  • भविष्य पुराण र ज्योतिषशास्त्रमा नेपालको राजगद्दी र घटनाका पूर्वानुमानहरू उल्लेख भए पनि तिनीहरू वैज्ञानिक होइनन्।
  • २०४६ को जनआन्दोलनले प्रजातन्त्र पुनःस्थापना गर्‍यो र राजसंस्था समाप्त भयो, राजा ज्ञानेन्द्र र युवराज दीपेन्द्रको घटनाले राजनीतिक परिवर्तन ल्याए।

२०१७ साल पुस १ गते राजा महेन्द्रले सैन्यबलका आधारमा प्रजातन्त्रको हत्या गरेपछि सुवर्णशमशेरको नेतृत्वमा नेपाली कांग्रेसले सशस्त्र प्रतिरोध शुरू गरेको थियो। २०१८ सालमा इलामको उत्तर पूर्वी क्षेत्रमा पनि मुक्ति सेनाले आफ्नो कारबाही थालेको थियो। त्यसले तीव्र गति लिइरहेका बेला खासगरी भारत चीन सीमा युद्धका कारण त्यो रोकियो र मुलुकले ३० वर्षे पञ्चायती कालरात्रि बेहोर्नु पर्‍यो।

मुक्ति सेनाले सीमावर्ती क्षेत्रमा गरिरहेको गतिविधिबाट तर्सेर त्यताका गाउँका केही धनीमानी सदरमुकाममा आएर बसेका थिए। यिनीहरूमध्ये एक थिए मेरो आमाका मावलीतिरका आफन्त। मेरो मावलकी हजुरआमाको घर इलाम बजारमा भएकाले उनी आएर त्यहीं बसेका थिए। यसरी नै अरू पाँच–सात जना पनि सदरमुकाममै आश्रय लिइरहेका रहेछन्।

हरेक दिनजसो खानपिनपछि ११/१२ बजेतिर ती मानिस भेला हुन्थे मेरो मावलीघरमा बसेका ती हजुरबासँग गफगाफ गर्न। यी पुराना धार्मिक प्रवृत्तिका मानिसहरू अधिकतर रामायण, महाभारत, विभिन्न पुराण आदिका चर्चा गर्थे एकापसमा। एक दिन कुरै कुरामा त्यहाँ उनीहरूमध्ये कसैले भन्यो- भविष्य पुराणमा शाहवंश १० पुस्ताभन्दा अगाडि जाँदैन भनिएको छ, साँच्चै कांग्रेसले राजा फाल्छ कि क्या हो ?

पुराण र कांग्रेसको कुरा त म आठ नौ वर्षको केटोलाई के थाहा तर राजा फाल्ने कुराले चाहिं मेरो पनि ध्यान खिच्यो। उस बेला हामीले भारतको कुस्तीबाज दारा सिंह संसारको सबैभन्दा बलियो मानिस भनेर सुनेका थियौं। हाम्रा लागि राजा त दारा सिंहभन्दा पनि कता हो कता बलिया- कसैले चढ्न नसकेको रूख समेत चढ्न सक्ने, कसैले गर्न नसकेको काम पनि गरेर देखाउने एकदमै शक्तिशाली मानिस ! राजाभन्दा माथि त भगवान् मात्रै हुन्छन्। त्यस्तालाई पनि फ्याँक्ने कत्रो होला त्यो कांग्रेस ? राक्षस रावणभन्दा पनि बलियो छ कि ? यस्तै यस्तै कुरा खेलेका थिए तत्क्षण मेरो मनमा।

हामीमध्ये धेरैले जानेर/नजानेर वा देखासिकीमा मानिआएको एउटा दर्शन, मान्यता वा विश्वास हो- नियतिवाद। त्यो भनेको- यो चराचर जगतको सृष्टिकर्ता श्री परमेश्वर हुन्। यो जगतमा सानो/ठूलो, राम्रो/नराम्रो जे हुन्छ त्यो उनकै इच्छा वा निर्देशनमा हुन्छ र त्यस्तो हुनु निरुद्देश्य हुँदैन; त्यसको कुनै निश्चित उद्देश्य हुन्छ जसको ज्ञान हामी सर्वसाधारणलाई नहुन सक्छ वा हुँदैन। भनिन्छ हाम्रा शास्त्रहरूमा यी सबै कुराको वर्णन छ। हाम्रो जीवन पनि प्रारब्ध अनुसार, पहिले नै तय भए अनुसार, चल्छ। भनिन्छ नि, हुने–हुनामी छेकेर छेकिन्न, टारेर टारिन्न।

भद्र कहलिएका राजाका भाइ भए पनि ज्ञानेन्द्र बद्नाम थिए। उनलाई द्रव्यपिचासका रूपमा हेर्थे मानिसले। कतिसम्म भने उनलाई नेपालका मन्दिरहरूबाट मूर्ति चोरेर विदेशमा बिक्री गर्ने गरेको आरोप समेत लाग्थ्यो

हिजो के भयो हामीले सम्झेका छौं, अहिले जे भइरहेको छ त्यसको पनि अनुभव भइरहेको छ तर भरे के हुन्छ त्यो हामीलाई थाहा छैन तथापि त्यो पनि निर्धारित छ र त्यस्तै हुन्छ, यी सबै सबै पूर्व निर्धारित हुन्। मञ्चन भइरहेको नाटकको निर्देशक वा पात्रलाई अब के हुन्छ राम्ररी थाहा हुन्छ तर दर्शक उत्सुक भएर के होला भनेर रङ्गमञ्चतिर केन्द्रित भइरहेको हुन्छ।

कुनै पनि परीक्षाका लागि प्रश्न पत्र दुई चार दिन पहिले नै तयार गरेर राखिएको हुन्छ। परीक्षामा सोधिने त्यति मात्रै हो तर परीक्षा दिन जाने विद्यार्थी परीक्षा कक्षमा पस्दासम्म पनि सम्भावित प्रश्नको अनुमान गरिरहेको हुन्छ- यो आउला, त्यो आउला भनेर। प्रश्नपत्र उसको हातमा परेपछि मात्रै उसले थाहा पाउँछ खासमा प्रश्न के आएको रहेछ। अर्थात् घटित भइसकेपछि मात्रै हामीलाई नियति थाहा हुन्छ।

ज्योतिष विद्या हाम्रा शास्त्रमध्ये एक हो। ज्योतिषीहरूले जन्मकुण्डली हेरेर व्यक्तिको विगत र अनागत बताइदिन्छन्। ज्योतिषी जान्ने छन् भने ती कुरा हुबहु मिल्छन्। अधिकतर ज्योतिषीले जन्मकुण्डली मिले/नमिलेको यकिन गर्न सम्बन्धित व्यक्तिका पहिले वितेका केही घटना हो/होइन भनेर सोध्ने गर्दछन्। जस्तो- यो व्यक्ति यस्तो ठाउँमा जन्मेको हुनुपर्छ, त्यस बखत यस्ता यस्ता यति मानिस थिए, शरीरको यो भागमा चिह्न वा कोठी हुनुपर्छ आदि आदि। ती कुरा मिलेनन् भने ज्योतिषीले भन्छन् यो चिना मिलेको छैन।

भनिन्छ हाम्रा शास्त्रहरूमा सृष्टि-प्रलयका सबै विवरण छन्। जस्तो युगहरूका आयु- सत्य, त्रेता,  द्वापर र कलि कुन कति समयका हुन्छन् त्यसको गणना पूर्व निर्धारित छ। तर त्यसलाई अध्यन गर्ने, बुझ्ने कुरामा मतभेदहरू देखिन्छ। जस्तै हाम्रो सनातन धर्ममा ३३ कोटि देवताको कुरा हुन्छ। सामान्यत: कोटि भनेको करोड हो भनेर ३३ करोड देवीदेवता छन् भन्ने मानिस छन् हाम्रै वरिपरि।

तर केही विद्वानहरू भन्छन् कोटिको अर्थ प्रकार वा किसिम भन्ने पनि हुनाले ३३ कोटि भनेको १२ आदित्य, ८ वसु, ११ रुद्र, १/१ ब्रह्मा र मरुत गरी शक्तिका ३३ प्रकार हुन्। आदित्य सूर्यकै नाम हो। ती १२ छन् भनेको बाह्र अलग–अलग महिनामा सूर्यको तेज वा प्रभावको कुरा हो भन्ने अर्थ लगाएको पनि सुनिन्छ। त्यस्तै अण्डज (अण्डाबाट कोरलिएर निस्कने), पिण्डज (आमा वा माउबाट जन्मने स्तनपायी), स्वेदज (पसिनाबाट बन्ने परजीवी) गरेर असंख्य जीवहरू छन्। यी सबै जङ्गम हुन् अर्थात् चलायमान। त्यसरी नै स्थावर (एक ठाउँबाट अर्को ठाउँ नचल्ने) जीव अर्थात् उद्विज (जमिनबाट उम्रिने) पनि धेरै जातिका छन्। यी सबै गरेर ८४ जातिका जीव छन्। ती जातिभित्र कति प्रजाति छन् यकिन छैन। धेरै भएकाले लक्ष वा लाख भनियो। यसरी ८४ लाख योनि भनियो आदि। हिजोआज समेत धेरै बुझाउन लाखौं भन्ने चलन छ।

एक सज्जनले भने अनुसार वैदिक ज्योतिषको मूल ग्रन्थलाई भृगु संहिता भनिन्छ। यसको मूल कृति एउटै मात्र छ। त्यो भारतको कुनै पीठमा छ। त्यसमा अहिलेसम्म जन्मिएका हाम्रा पुर्खा र हाम्रो मात्रै होइन भविष्यमा जन्मिने सबै मनुष्यको जन्मकुण्डली छ। त्यो भेटेर हेर्ने हो भने तपाईं–हाम्रा छोरा/छोरी होइन नाति–नातिना सयौं हजारौं पुस्ताको जन्मकुण्डली भेटिन्छ। बजारमा पाइने भृगु संहिता नक्कली हो। यस प्रसङ्गलाई यहीं छाडौं।

राजा महेन्द्रको शाही कु विरुद्ध पुस १ गतेबाटै शुरू भएको जनआक्रोशले कुनै न कुनै रूपको संघर्ष जारी राख्यो। तथापि त्यो संघर्ष राजाका विरुद्ध थिएन उनले हरण गरेको प्रजातन्त्र फिर्ता गराएर उनलाई मुलुकको सर्वोच्च स्थानमा राख्नका लागि थियो। नभन्दै २०४६ को जनआन्दोलनले त्यो सफलता प्राप्त गर्न सक्यो। प्रजातन्त्र मास्ने राजा महेन्द्रलाई घृणा गर्नेले पनि संवैधानिक राजा बन्न तयार वीरेन्द्रलाई सम्मान गर्न थाले। सबैले उनलाई पढेलेखेका, सज्जन र भलाद्मी मानिसका रूपमा लिन्थे। तिनको हत्या भयो, उनको वंश नै समाप्त भयो। यथार्थमा परम्परागत राजसंस्थाको अन्त्य त्यहीं भयो। माथि उल्लिखित भविष्य पुराणको भविष्यवाणी मिल्यो। नियतिसँग कसको के लाग्छ !

ज्ञानेन्द्रलाई राजगद्दीको अहमत्याइँ लाग्यो उनी संवैधानिक राज भएर बस्नुको साटो सत्ता हत्याउन र बाबुले जस्तै प्रजातन्त्र मास्नतर्फ उद्यत भए। उनका विरुद्ध जनता जागे र उनलाई गद्दीच्यूत नगरी नछाड्ने भए।

सुनिन्छ युवराज दीपेन्द्रको जन्मकुण्डली हेरेर राजज्योतिषले त्यसमा अनिष्ट निम्त्याउने ग्रह रहेको बताएपछि रानीले सो कुण्डली फेर्न ती ज्योतिषीलाई भनेकी थिइन् तर उनले त्यसो गर्न मानेनन् बरु त्यो जागिर नै छाडिदिए। नभन्दै युवराज दीपेन्द्र ज्यादै उद्दण्ड देखिन थाले। दरबारभित्र कसैले पनि आफ्नो निवासमा हतियार राख्न नपाइने नियम थियो तथापि दीपेन्द्रले हतियार राख्दासम्म राजाले केही भनेनन्।

उनले विवाह गर्न चाहेकी कन्यालाई राज परम्परामा नसुहाउने ‘अल्ट्रा मोर्डन’ छ भनेर रानीहरू त्यस कन्यासँग विवाह गर्न दिन तयार थिएनन् भनिन्छ। आजको युगमा पनि रोजेकी कन्यासँग विवाह गर्न नपाउनु ? दीपेन्द्रले पनि त बरू उनका कान्छा काकाले जस्तो राजउत्तराधिकार त्यागेर त्यही कन्यासँग इच्छाएका ठाउँमा बस्न सक्थे नि! बाबु नै मार्नुपर्थ्यो र ? त्यसले पनि नियतिलाई औंल्याउँछ।

राजसंस्था भएको मुलुकमा गद्दी खाली राख्न नमिल्ने, नेपालको संविधान र राजदरबार सम्बन्धी कानुन अनुसार वीरेन्द्रका माहिला भाइ ज्ञानेन्द्रलाई राजा बनाइयो। तर अधिकांश नेपाली उनलाई राजा स्वीकार्ने मनस्थितिमा थिएनन्। राजा वीरेन्द्रको वंशनाश भएको दु:खान्तका प्रत्यक्षदर्शीले राजाका हत्यारा युवराज दीपेन्द्र भएको किटानी गर्दा गर्दै पनि अधिकांश मानिसले त्यसको दोष त्यस दिन घटनास्थलमा नभएका ज्ञानेन्द्रलाई लगाइरहेका थिए। तथापि राजा बनाइएपछि विस्तारै सबैलाई स्वीकार्न करै लाग्यो। मानिसले स्वीकार गरे।

तर ज्ञानेन्द्रलाई राजगद्दीको अहमत्याइँ लाग्यो उनी संवैधानिक राज भएर बस्नुको साटो सत्ता हत्याउन र बाबुले जस्तै प्रजातन्त्र मास्नतर्फ उद्यत भए। उनका विरुद्ध जनता जागे र उनलाई गद्दीच्यूत नगरी नछाड्ने भए। आन्दोलनका अगुवा गिरिजाप्रसाद कोइरालाले राजसंस्था नमासौं, तिम्रो नातिलाई गद्दीमा राख्छौं भन्दा ज्ञानेन्द्रले त्यो पनि मानेनन्। अन्तत: अढाइ सय वर्षको राजतन्त्र नै फालियो। लगभग बुढ्यौलीतिर लागेका ज्ञानेन्द्रले ‘बेबी किङ्ग’ मानेको भए आज पनि रजगज त उनकै हुनेथियो। यसलाई नियति नभने के भन्नु ?

भद्र कहलिएका राजाका भाइ भए पनि ज्ञानेन्द्र बद्नाम थिए। उनलाई द्रव्यपिचासका रूपमा हेर्थे मानिसले। कतिसम्म भने उनलाई नेपालका मन्दिरहरूबाट मूर्ति चोरेर विदेशमा बिक्री गर्ने गरेको आरोप समेत लाग्थ्यो। पंक्तिकार मनैदेखि उनले मूर्ति नै चोर्थे भनेर पत्याउन तयार छैन किनभने हिन्दु संस्कारमा हुर्किएको त्यो स्तरको मानिस मूर्ति चोर्नैमा त लाग्न सक्दैन। आखिर मूर्तिबाट पैसा नै पनि कति पो आउँथ्यो र ! तर नियतिले उनलाई दुर्नाम गर्नु थियो।

हाम्रै समकालीन एक युवक थिए रूपक शर्मा। उनी राम्रा फूटबल खेलाडी थिए। प्रहरीमा निरीक्षक पदमा पुगेका। एक पटक हल्ला चल्यो पाटनतिर कताको मूर्ति ज्ञानेन्द्रले क्रेन लगाएर तान्दै गर्दा रूपक शर्माको नेतृत्वको प्रहरी टुकडीले त्यसलाई रोक्न खोज्दा रूपक मारिए। त्यो सुनेर फूटबल खेलाडी भएका नाताले पनि धेरै दु:ख लागेको थियो।

तर २०३९ साउन १६ गते थाई एअरवेजको विमान दुर्घटना भयो। त्यसमा चालक दलका १४ सहित ११३ जनाको ज्यान गयो। त्यसमा रुपक शर्मा पनि परेको खबर आयो। उनी पाकिस्तानमा फुटबल खेलाउन गएका थिए रे! उनी त मारिएका रहेनछन्। त्यसरी कपोलकल्पित दोष समेत लागेर ज्ञानेन्द्र नेपालीको नजरमा गिरेका थिए।

ज्ञानेन्द्र राजतन्त्र उन्मूलनका निमित्त नायक हुन्। त्यसका खास नायक भने राजा महेन्द्र हुन् जसले प्रजातन्त्रलाई मासेर २०१७ पुस १ गते गणतन्त्रको बीउ रोपेका थिए। धेरै मानिसको मनमा छ आखिर राजा महेन्द्रले बीपीलाई किन त्यसरी अपदस्त गरे ? आज पछाडि फर्केर हेर्दा त्यो नियतिको खेल थियो। किनभने राजतन्त्र मासिनु थियो र त्यसको कारण तयार गर्नका लागि त्यो अलोकप्रिय घटना घटाउनु थियो। महेन्द्रले त्यसो नगरेका भए आज नेपाल विकसित राष्ट्रको रूपमा हुन्थ्यो र राजसंस्था बेलायत सरहको सम्मानित संस्था हुनेथियो।

राजा फर्काउने सबै हिन्दु धर्म हुनुपर्छ भन्छन्। हिन्दु धर्म मान्नेले भविष्य पुराण पनि मान्दा हुन्। नियति पनि मान्दा हुन्। त्यस विपरीत अनेक थरीका पण्डा, ज्योतिषीले तोकेको राजा फर्कने कति किटानी मिति गुज्रिसकेको छ। राजा ल्याउनेको तागत नियति नै उल्टाउन सक्ने छ भनेर पत्याउनु शास्त्रसम्मत हुँदैन। आखिर, भविष्य पुराणमा राजा फर्कने कुरा त छैन होला !

लेखक
धर्म गौतम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?