
News Summary
Generated by OK AI. Editorially reviewed.- सांसद चित्रबहादुर केसीले वर्तमान बजेटलाई ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात’ भने र आलोचना गरे।
- उनले बजेटले रोजगारी सिर्जना गर्न नसकेको र कृषिमा सामन्ती भूस्वामित्व कायम रहेको बताए।
- केसीले सदनमा बजेटमाथिको छलफललाई सरकारले बेवास्ता गरेको आरोप लगाए।
२ असार, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वर्तमान बजेट ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात’ भनेजस्तै रहेको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद केसीले यस्तो बताएका हुन् ।
‘यसपटकको बजेट पनि ‘कौवा (काग)लाई बेल पाक्यो हर्ष न बिस्मात’ भएको छ । आम जनता खुसी भएका छैनन् । यो बजेट मुठ्ठीभरका निम्ति बनेको भन्दा फरक पर्दैन,’ उनले भने । सांसद केसीले मान्छे बेचेर देश चलाउने अवस्था रहेको भन्दै बजेटले स्वदेशमै रोजगारीको सम्भावना देखाउन नसकेको बताए ।
‘प्रत्येक वर्ष पाँच लाख नेपाली श्रम बजारका लागि तयार हुन्छन् । तर, सरकारले उनीहरूलाई रोजगारी दिने गरी बजेटमा कुनै कायृक्रम समावेश गरेको छैन’ उनले भने, ‘रोजगारी सिर्जन ागर्न सक्ने क्षेत्रहरू कृषि, उद्योग, श्रम क्षेत्र कतै पनि रोजगारको सम्भावना देखिएको छैन ।’
उनले कृषिमा अझै पनि सामन्ती भूस्वामित्व कायम रहेको भन्दै किसानको सट्टा भूमाफियालाई पोस्ने गरी बजेट बनाइएको दावी गरे । दूध र मासुमा केही हदसम्म मुलुक आत्मनिर्भर हुँदै गइरहेको अवस्थालाई बजेटले उल्टाउन खोजेको उनको भनाइ छ । विदेशबाट आउने दूध र मासुमा अग्रिम कर हटाएर विदेशी आयोगको लागत कम गराई सरकारले स्वदेशी उत्पादनलाई ध्वस्त बनाउन खोजेको उनले बताए ।
सांसद केसीले सदनमा हुने बजेटमाथिको छलफललाई सबै सरकारले बेवास्ता गर्ने गरेको समेत बताए ।
‘प्रत्येक वर्ष बजेटमाथिको छलफलमा भाग लिउँ कि नलिउँ भनेर दोधारमा हुन्छु । भाग लिए पनि सरकारले संशोधन गर्दैन, भाग नलिए जनताको बीचमा बजेटको चर्चा नै पुग्दैन । त्यसैले संशोधनको आशाले होइन, जनताको बिचमा बजेटको विषय पुगोस् भनेर भाग लिँदैछु,’ उनले भने ।
प्रतिक्रिया 4