+
+
Shares

मितेरी सहकारी ठगी : कम्बोडियामा पक्राउ परे ज्योतिबहादुर भण्डारी, नेपाल ल्याइँदै

धनराजकी पत्नी अमेरिका पुगेको आशंका

सहकारीको रकम धनराज पत्नी गुरुङमार्फत् भण्डारीकोमा पुगेको आशंका प्रहरीको छ । उच्च स्रोतले दिएको जानकारी अनुसार, भण्डारीले सो रकम क्रिप्टोमार्फत विदेश पुर्‍याएको आशंकामा छानबिन सुरु गर्ने तयारी छ ।

नारायण अधिकारी नारायण अधिकारी
२०८२ असार ३ गते १६:५५

३ असार, काठमाडौं । मितेरी सहकारी ठगी प्रकरणमा जोडिएर फरार रहेका ज्योतिबहादुर भण्डारीलाई कम्बोडिया प्रहरीले नियन्त्रणमा लिएको छ ।

कम्बोडियामा ‘लोकेट’ भएका उनलाई त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरी प्रधान कार्यालयको उच्च स्रोतले भण्डारी कम्बोडियामा नियन्त्रणमा रहेको पुष्टि गर्‍यो ।

‘सहकारी रकम अपचलनको आरोपमा फरार भएका उहाँ (ज्योतिबहादुर भण्डारी)लाई कम्बोडियामा नियन्त्रणमा लिइएको हो । नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको छ,’ प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले अनलाइनखबरसँग भने ।

कम्बोडिया प्रहरीको नियन्त्रणमा रहेका भण्डारीलाई नेपाल ल्याउन समेत आवश्यक कागजातसहित प्रहरी टोली समेत कम्बोडिया पठाइएको छ । ‘नेपाल प्रहरीको टोली कम्बोडिया पठाइएको र त्यहाँ पुगेपछि प्रक्रिया पूरा गरेर नेपाल ल्याउँछौं,’ ती अधिकृतले भने ।

भण्डारी सहकारीका सदस्य थिएनन् । तर, उनलाई ऋण प्रवाह गरेको भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

भण्डारीविरुद्ध यसअघि नै प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल)मार्फत डिफ्युजन नोटिस जारी भएको थियो । त्यति हुँदा पनि उनी पक्राउ नपरेपछि रेड नोटिसका लागि पत्राचार गरिएको थियो ।

प्रहरी प्रधान कार्यालय, नक्सालमा रहेको नेश्नल सेन्ट्रल ब्यूरो (एनसीबी) को सिफारिसका आधारमा इन्टरपोलको फ्रान्समा रहेको हेडक्वार्टरले २०८१ को कात्तिकमा उनीविरुद्ध रेड नोटिस जारी गरेको थियो । रेड नोटिस जारी भए पनि उनी लामो समय फरार हुँदै आएका थिए । उनै भण्डारी अहिले कम्बोडियामा नियन्त्रणमा परेका हुन् ।

भण्डारी पक्राउ परेर नेपाल आएपछि मितेरी सहकारी ठगी प्रकरणका थप विषयहरू खुल्नसक्ने बताइएको छ । भण्डारीविरुद्ध यसअघि पहिल्यै ३ वटा ठगीका मुद्दा चलेका थिए । प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) को रेकर्ड अनुसार, उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा तीन वटा ठगीका मुद्दा देखिएको थियो ।

उनी नेपाल आएपछि सहकारी ठगी प्रकरणसँगै यो विषयमा पनि अनुसन्धान हुनेछ । मुख्यगरी भण्डारी नेपाल आएपछि मितेरी सहकारी ठगी प्रकरणको नयाँ तथ्य खुल्नसक्ने आशंका गरिएको छ ।

यो प्रकरणमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको नाम समेत जोडिँदै आएको छ । उनको नाम जोडिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दुई पटक धनराजलाई कार्यालयमै बोलाएर केरकार समेत गरेको थियो ।

ललितपुर महानगरपालिका–५ महालक्ष्मीस्थानमा कार्यालय रहेको यो सहकारीका बारेमा पछिल्लो पटक गत पुस २४ मा सीआईबीले करिब ५ घण्टा धनराजसँग केरकार गरेको थियो । कांग्रेस सांसद समेत रहेका गुरुङमाथि सीआईबीले सहकारी रकम अपचलन र उनले तिरेको रकमको बारेमा सोधपुछ गरेको थियो ।

यता धनराजले मितेरी सहकारीमा तिरेको शंकास्पद रकमबारे पनि सीआईबीले केरकार गरेको थियो । धनराजले एकै दिन ६८ लाख २६ हजार ९१४ रुपैयाँ सहकारीमा बुझाएका थिए ।

१७ वैशाख २०८१ मा चार वटा चेकमार्फत १४ लाख रुपैयाँका दरले ५६ लाख र एउटामा भने १२ लाख २६ हजार ९१४ रुपैयाँ रकम जम्मा भएको थियो । धनराजको तर्फबाट भनेर अरु नै व्यक्तिले एनएमबी बैंकको चेकमार्फत डिपोजिट गरेका थिए । उनले भने ऋण लिएको भन्दै बताउँदै आएका छन् ।

ज्योति गुरुङ अमेरिका पुगेका आशंका

भण्डारीसँगै रेड नोटिस जारी भएका कांग्रेस उपसभापति धनराजकी पूर्वपत्नी ज्योति गुरुङ भने अमेरिका पुगेको आशंका प्रहरीले गरेको छ । भण्डारीसँगै फरार भएकी ज्योतिको पनि खोजी भएको थियो । तर भण्डारी कम्बोडियामा फेला पर्दा उनी भने अमेरिका पुगेको हुनसक्ने आशंका प्रहरीको छ ।

‘अहिलेसम्मको हाम्रो अनुसन्धानले ज्योति गुरुङ अमेरिका पुगेको देखिन्छ । नेपाल ल्याउनेबारे पहल पनि गरिरहेका छौं,’ प्रहरीका एक उच्च अधिकृत बताउँछन् ।

यो सहकारीको रकम धनराज पत्नी गुरुङमार्फत् भण्डारीकोमा पुगेको आशंका प्रहरीको छ । उच्च स्रोतले दिएको जानकारी अनुसार, भण्डारीले सो रकम क्रिप्टोमार्फत विदेश पुर्‍याएको आशंकामा छानबिन सुरु गर्ने तयारी छ ।

फागुन २०७७ मा सहकारीको ऋण लिएको समयको एउटा कागजमा धनराजले हकवाला भनेर ज्योति गुरुङको नाम राखेका थिए । जबकि उनको २९ फागुन २०७६ मा डिभोर्स भएको थियो । उनको डिभोर्स समेत कागजीमात्रै रहेको आरोप लागेको छ ।

यसबारे नेकपा एमालेका नेता सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले समेत आशंका गर्दै उनीहरू एकै साथ बस्ने गरको चर्चा भएको प्रतिवेदनमै उक्त विषय उल्लेख गरेको थियो ।

बेलायती र भारतीय सेनामा काम गरेका पूर्वसैनिकहरू मिलेर मितेरी सहकारी खोलेका थिए । सहकारीको साढे १२ करोड हिनामिना भएको बताइएको छ । यो सहकारीका अध्यक्ष ८२ वर्षीय कुम्भराज गुरुङ हुन् ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?