
News Summary
Generated by OK AI. Editorially reviewed.- उपप्रधानमन्त्री प्रकाशमान सिंहले धोबीखोला करिडोरको अनुगमन गरे।
- अवलोकनपछि स्वच्छता र अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गर्न उनले निर्देशन दिए।
- मन्त्रालयले नदीनाला संरक्षण र करिडोर विस्तारमा बजेट विनियोजन गरेको छ।
४ असार, काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले बुधबार धोबीखोला करिडोर अनुगमन गरेका छन् ।
उपप्रधानमन्त्री सिंहसहित मन्त्रालयका सचिव, काठमाडौं उपत्यका विकास प्राधिकरण र अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत समितिको टोलीले मंगलबार उक्त क्षेत्र निरीक्षण गरेको हो ।
टोलीले धोबीखोलामा मन्त्रालय अन्तर्गत भइरहेका काम, ढल व्यवस्थापन र अतिक्रमित सार्वजनिक जग्गा लगायत अवलोकन गरेको छ ।
उपप्रधानमन्त्री सिंहले काठमाडौं उपत्यका विकास प्राधिकरण र बागमती सभ्यता एकीकृत समितिलाई धोबीखोला स्वच्छ बगाउन र अतिक्रमित सार्वजनिक जग्गा कानुनसम्मत फिर्ता ल्याउन तत्काल आवश्यक कार्य अघि बढाउन निर्देशन दिए ।
वर्षा लागेसँगै धोबीखोलाले पार्न सक्ने असर न्यूनीकरण गर्न आवश्यक काम अघि बढाउन पनि उपप्रधानमन्त्री सिंहले मन्त्रालय मातहत निकायलाई सचेत गराए ।
उपप्रधानमन्त्री सिंहलाई बूढानीलकण्ठ भद्रकाली मन्दिरदेखि कपन साततलेसम्मको वस्तुगत अवस्थाबारे काठमाडौं उपत्यका विकास प्राधिकरणले जानकारी गराएको थियो ।
काठमाडौं उपत्यकाका नदी र करिडोरको विषयलाई सहरी विकास मन्त्रालय अन्तर्गतको उपत्यका विकास प्राधिकरण र बागमती सभ्यता एकीकृत विकास समितिले हेर्दै आएका छन् । यस वर्ष बजेटमा सहरी विकास मन्त्रालयले उपत्यकाको नदीनाला संरक्षण र करिडोर विस्तारमा ३ अर्बभन्दा बढी बजेट विनियोजन गरेको छ ।
प्रतिक्रिया 4