
News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणलाई लिएर विरोध प्रदर्शन गर्दै संसद् बहिष्कार गरे।
- राप्रपाका सांसदहरूले यसअघि यो मुद्दा सबै दलको साझा समस्या भन्दै समाधानको लागि एकजुट हुन आग्रह गरेका थिए ।
- दुई दलले संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठक बहिष्कार गर्ने जनाएका छन् ।
६ असार, काठमाडौं । भिजिट भिसा प्रकरणलाई लिएर आन्दोलनरत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एउटै शैली अपनाएको छ ।
बिहीबारसम्म राप्रपा र रास्वपाको विरोधको शैली फरक थियो । राप्रपाका सांसदहरूले सदनको कामकारबाही बहिष्कार गर्दै आएका थिए । रास्वपाका सांसदहरूले वेल घेराउ र नारावाजी गर्दै आएका थिए ।
तर, शुक्रबार रास्वपाका सांसदहरूले समेत प्रतिनिधिसभाको कामकारबाही बहिष्कार गरे । यो सँगै राप्रपा र रास्वपाको विरोधको शैली मिलेको हो ।
बिहीबार राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भिजिट भिसा प्रकरण कुनै दल विशेषको मुद्दा नभएर सबै दलको साझा मुद्दा रहेको बताएका थिए ।
‘यो भिजिट भिसा प्रकरण कुनै दल विशेषको मुद्दा होइन । यो हामी सम्पूर्णको साझा मुद्दा हो,’ प्रमुख सचेतक शाहीले भनेका थिए । २०६४ साल देखिको समस्या भएकाले सबै मिलेर समस्या समाधानमा अगाडि बढ्नुपर्ने उनले बताए ।
भिजिट भिसा प्रकरणका सबै दल एकै ठाउँमा रहेर अगाडि बढ्नुपर्ने उनको अपिल थियो । ‘मानव बेचबिखनविरुद्ध हामी एकजुुट बनौं । यो कुनै व्यक्तिको कुरा होइन । कुनै दलको मात्रै मुद्दा होइन’ उनले भनेका थिए ।
जबसम्म भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठन हुँदैन तबसम्म संसद् बैठक बहिष्कार गर्ने उनले बताएका थिए । शुक्रबारबाट रास्वपाका सांसदहरूले पनि संसद् बैठक बहिष्कार गर्न थालेका हुन् ।
प्रतिक्रिया 4