+
+
Shares

रोष्ट्रम कब्जाको अडानपछि संसद् पुगे भौतिक पूर्वाधारमन्त्री दाहाल

कांग्रेस सांसद पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले मन्त्री नभए आफू पनि नबोल्ने र अरुलाई पनि बोल्न नदिने भनेर अडान लिएपछि भौत्तिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल संसद भवन पुगेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ६ गते १९:०९
Photo Credit : फाइल फोटो ।
नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङ ‘कान्छाराम’ ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहालको अनुपस्थितिमा प्रतिनिधिसभाको बैठक प्रभावित भयो।
  • सांसद पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले मन्त्रीको उपस्थितिबिना बजेट छलफल नहुने अडान लिएका थिए।
  • मन्त्री दाहाल संसद भवन पुगेपछि सभामुखले बैठक पुनः सुरु गरे ।

५ असार, काठमाडौं । भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहालको अनुपस्थितिले प्रतिनिधिसभाको बैठक प्रभावित भएको छ । उनी नेतृत्वको मन्त्रालयको बजेटमाथि छलफल चलिरहँदा उनी संसद्‌मा थिएनन् ।

नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले मन्त्रीको उपस्थितिबिना बजेटमाथि छलफल नहुने अडान लिए । बजेटको मन्त्रालयगत छलफलका बोल्न रोष्ट्रम पुगेका ‘कान्छाराम’ले सुरुमै भने, ‘भौतिकमन्त्री नहुँदासम्म म यो माइक छोड्नेवाला पनि छैन, म कसैलाई बोल्न दिनेवाला पनि छैन ।’

जुन काममा आएको हो त्यो काम हुँदैन भने किन अगाडि बढ्ने भनेर उनी रोष्ट्रममा नबोली उभिइरहे । आफ्नो समय नकाट्न आग्रह गर्दै उनले भौतिकमन्त्रीको उपस्थिति भएपछि मात्रै आफू बोल्ने भनेर पनि आग्रह गरे ।

सभामुख देवराज घिमिरेले भौत्तिक पूर्वाधारमन्त्री आउँदै गरेको आफ्नो जानकारीमा रहेको भनेर सांसद कान्छारामलाई आफ्नो कुरा राख्न आग्रह गरे । तर, मानेनन् ।

त्यसपछि सभामुख घिमिरेले १५ मिनेटका लागि प्रतिनिधिसभाको बैठक नै स्थगित गरे ।

कांग्रेस सांसद कान्छारामले मन्त्री नभए आफू पनि नबोल्ने र अरुलाई पनि बोल्न नदिने भनेर अडान लिएपछि भौत्तिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल संसद भवन पुगे ।
दाहाल संसद भवन पगेपछि दोस्रो बैठक सुरु भयो । दोस्रो बैठकमा पनि सभामुख घिमिरेले तामाङलाई नै बोल्न समय दिए । आफूलाई दोस्रो बैठकमा समय दिएको भनेर तामाङले सभामुख घिमिरेलाई धन्यवाद दिए ।

गत चैत २८ गते सिंहदरबार बोलाएर आफूहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले ३ करोडभन्दा साना योजना बजेटमा नराख्न भनेको स्मरण गरे । तर, त्यो लागू हुन नसकेको बताए ।

बीपी राजमार्ग निर्माणको काममा चासो नदेखाएको भनेर सरकारको आलोचना गरे । बिग्रिएको ९ महिना बितिसक्दा पनि बीपी राजमार्ग नबन्नुमा भौतिक पूर्वाधारमन्त्री दोषी रहेको आरोप लगाए ।

बीपी राजमार्गमा कुनै मानवीय क्षति भएको खण्डमा मन्त्रालयमै लिएर आउने कान्छारामको चेतावनी छ ।

दैनिक २० हजार मानिस आवतजावत गर्ने राजमार्ग नबनेको भन्दै उनले सरकारको ध्यानाकर्षण गरेका हुन् ।

‘तपाईं के हेरेर बस्नुभयो नौ महिनासम्म त्यो बाटो नबनाएर ? को थियो त तपाईँभन्दा ठूलो मन्त्री कोही थियो ? तपाईं कहाँ जानुभएको थियो ?’ सांसद तामाङले भने, ‘बीपी हाइवेयमा कुनै जनताको क्षति भयो भने तपाईंको मन्त्रालयमा ल्याउँछु । तपाईंले त्यतिखेर कति व्यहोर्नुपर्छ ? मन्त्रीज्यू तपाईंको ठूलो कमीकमजोरी भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?