
News Summary
Generated by OK AI. Editorially reviewed.- इरानको संसदले होर्मुज स्ट्रेट बन्द गर्ने निर्णय सर्वसम्मत रूपमा स्वीकृत गर्यो।
- अमेरिकी विदेशमन्त्रीले चीनलाई इरानको निर्णय रोक्न आग्रह गरे।
- होर्मुज स्ट्रेट विश्वव्यापी तेल आपूर्तिको महत्वपूर्ण मार्ग हो र बन्द हुँदा मूल्यवृद्धि हुन सक्छ।
९ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको द्विविधयुक्त अभिव्यक्तिका बीच अमेरिकाले इरानमाथि हवाइ आक्रमण गर्यो । इजरायलसँग युद्ध गरिरहेको इरानले अमेरिकी हमलाको प्रत्युत्तरमा होर्मुज स्ट्रेट बन्द गर्ने धम्की मात्र दिएन, सोमबार यो निर्णय इरानको संसदले सर्वसम्मत रूपमा नै गर्यो ।
अब इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले अन्तिम स्वीकृति दिएसँगै यो निर्णय कार्यान्वयनमा जानेछ ।
इरानी संसदको यो निर्णयको प्रतिक्रियामा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानको यो निर्णय रोक्न चीनलाई गुहारेका छन् ।
उनले होर्मुज स्ट्रेट बन्द गर्ने इरानी निर्णय रोक्नबाट चीनले रोक्नुपर्ने आग्रह गरेका हुन् ।
आइतबार फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा रुबियोले भने, ‘म चीन सरकारलाई उनीहरूले इरानसँग फोनमार्फत कुरा गरून् भन्न चाहन्छु । किनभने चीन पनि आफ्नो तेलका लागि होर्मुज स्ट्रेटमा ठूलो मात्रामा निर्भर छ।’
इरानले होर्मुज स्ट्रेट बन्द गर्नु उसकै लागि आर्थिक आत्महत्या जस्तो हुने उनको चेतावनी छ । ‘हामीसँग यसलाई सामना गर्ने विकल्पहरू छन् । तर अरु देशहरूले पनि यसबारे गम्भीरतापूर्वक सोच्नुपर्छ, किनभने यसको असर हाम्रो भन्दा उनीहरूकै अर्थतन्त्रमा बढी पर्न सक्छ,’ उनले भने ।
अमेरिकाले इरानका परमाणु केन्द्रहरूमा आक्रमण गरेपछि यसअघि नै कच्चा तेलको मूल्यमा तीव्र वृद्धि देखिएको छ ।
यस्तोमा होर्मुज स्ट्रेट बन्द गर्ने इरानी निर्णयले यो क्रम थप बढ्नेछ ।
किनकि हर्मजु स्ट्रेट विश्वभर ग्यास र तेल आपूर्तिका लागि रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण क्षेत्र हो। यसले मध्यपूर्वका तेलसम्पन्न देशहरूलाई एशिया, युरोप र उत्तर अमेरिका लगायत विश्वका अन्य भागहरूसँग जोड्ने काम गर्छ।
के हो होर्मुज स्ट्रेट ?
होर्मुज स्ट्रेट, इरान र ओमानको सिमानामा अवस्थित एक रणनीतिक रूपमा महत्त्वपूर्ण जलमार्ग हो। यसले फारस (पर्सियन गल्फ) र ओमानको खाडीलाई जोड्छ।
यो साँघुरो जलमार्ग कतिपय स्थानमा केवल ३३ किलोमिटर चौडा छ। यसको महत्त्व यसबाट प्रवाहित हुने विश्वको कुल तेल आपूर्तिको करिब पाँचौं हिस्साका कारण बढेको हो।
यो मार्ग विश्वभर ग्यास र तेल आपूर्तिका लागि महत्वपूर्ण छ किनभने यसले मध्यपूर्वका तेल उत्पादक देशहरूबाट एसिया, युरोप र उत्तर अमेरिका लगायत विश्वका अन्य भागमा तेल र ग्यास पुर्याउँछ।
यसले उत्तरमा इरान र दक्षिणमा ओमान एवं संयुक्त अरब इमिरेट्सबीच पर्सियन खाडी र अरब सागरलाई जोड्छ ।
साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत र इरानबाट निर्यात हुने कच्चा तेल यही मार्ग हुँदै अन्य देशहरूमा पुग्छ। यसैगरी, विश्वको सबैभन्दा धेरै लिक्विफाइड नेचुरल ग्यास (एलएनजी) निर्यात गर्ने देश कतार पनि यही मार्गमा निर्भर छ।
यहाँबाट प्रतिदिन करिब २ करोड ब्यारेल कच्चा तेल ढुवानी हुन्छ जुन विश्वव्यापी दैनिक उत्पादनको पाँचौं हिस्सा हो ।
त्यसैले अन्तर्राष्ट्रिय व्यापार र ढुवानीका लागि स्ट्रेट अफ होर्मुज अत्यधिक महत्वपूर्ण समुद्री बाटो हो । कच्चा तेल व्यापारको सबैभन्दा ठूलो मार्गको रूपमा लिइने होर्मुज स्ट्रेटबाट विश्वको करिब २० प्रतिशत तेल र २० प्रतिशत तरल प्राकृतिक ग्यास ढुवानी हुन्छ ।
तेल निर्यातका लागि प्रमुख तेल उत्पादक देशहरू साउदी अरब, इराक, कुवेत, कतार पनि यही बाटोमा निर्भर छन् । त्यसैले होर्मुज स्ट्रेट बन्द हुँदा विश्वव्यापी रूपमै तेल आपूर्तिमा समस्या सिर्जना हुन्छ र तेलको मूल्यमा उच्च वृद्धि हुन्छ ।
यही रणनीतिक महत्वको कारणले यो क्षेत्र दशकौंदेखि भू-राजनीतिक तनाव र विवादको केन्द्रमा रहँदै आएको छ।
तेल बजारमा हालैको उतारचढाव
इजरायल र इरानबीच बढ्दो तनावका कारण तेल आपूर्तिमा पर्न सक्ने प्रभावको पूर्वानुमानले हालै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा तीव्र वृद्धि देखिएको छ ।
एसियाली बजारमा ब्रेन्ट क्रुड तेलको मूल्य २.८ प्रतिशतले बढेर ७६.३७ डलर प्रति ब्यारेल पुगेको थियो भने अमेरिकी कच्चा तेलको मूल्य करिब २ डलर बढेर ७५.०१ डलर प्रति ब्यारेलमा पुगेको थियो । यो वृद्धि शुक्रबारको ७ प्रतिशतको तीव्र वृद्धिको लगत्तै भएको हो ।
सन् १९८० देखि १९८८ सम्म चलेको इरान-इराक युद्धका क्रममा दुवै देशले एक-अर्काको तेल आपूर्ति यही मार्गमा रोक्न खोजेका थिए। त्यस संघर्षमा व्यावसायिक ट्यांकरहरूमा आक्रमण भएका थिए, जसलाई ‘ट्यांकर युद्ध’ को नामले चिनिन्छ । यसले अन्तर्राष्ट्रिय ऊर्जा आपूर्तिमा गम्भीर असर पारेको थियो ।
होर्मुज स्ट्रेट बन्द भए के हुन्छ?
इजरायलसँगको तनावबीच इरानले होर्मुज स्ट्रेट बन्द गर्यो भने विश्वव्यापी तेल आपूर्तिको करिब २० प्रतिशत हिस्सा प्रभावित हुने अनुमान गरिएको छ। जुन महिनामा वैश्विक वित्तीय संस्था जेपी मोर्गनले यदि यस्तो स्थिति आएमा कच्चा तेलको मूल्य १२० देखि १३० डलर प्रति ब्यारेलसम्म पुग्न सक्ने चेतावनी दिएको थियो ।
यसअघि पनि होर्मुज स्ट्रेट इरान-अमेरिका बीचको विवाद र टकरावको केन्द्रमा रहेको थियो ।
सन् १९८८ को घटना: एक अमेरिकी लडाकु विमानले इरानी यात्रुवाहक विमान खसाल्दा २९० जनाको मृत्यु भएको थियो । अमेरिकाले यसलाई ‘सैन्य गल्ती’ दाबी गर्दै नौसैनिक टोलीले उक्त विमानलाई लडाकु विमान ठानेर खसालेको स्वीकार गरेको थियो। तर इरानले यसलाई ‘पूर्वनियोजित हमला’ करार गरेको थियो ।
अमेरिकाले आफ्ना युद्धपोतहरू यस क्षेत्रमा व्यापारिक जहाजहरूको सुरक्षाका लागि तैनाथ रहेको दाबी गर्दै आएको छ । तर अमेरिकाको यो तैनाथीप्रति इरान चनाखो छ । इरानी रिभोल्युशनरी गार्ड्सका तत्कालीन प्रमुख मोहम्मद अलजाफरीले यदि अमेरिकी जहाजहरूले आफ्ना डुंगाहरूमा आक्रमण कोसिस गरेमा अमेरिकी जहाजहरू कब्जा गर्ने चेतावनी दिएका थिए ।
यस स्ट्रेटमा सन् २०१० मा एक जापानी तेल ट्यांकरमाथि आक्रमण भएको थियो, जसको जिम्मा अल-कायदा सम्बद्ध समूहले लिएको थियो ।
अमेरिका र युरोपले इरानमाथि आर्थिक प्रतिबन्ध लगाएपछि तेहरानले सन् २०१२ मा होर्मुज स्ट्रेट बन्द गर्ने धम्की दिएको थियो । इरानले ती प्रतिबन्धहरू उसलाई तेल निर्यातबाट प्राप्त हुने वैदेशिक मुद्राबाट बञ्चित गर्ने षड्यन्त्र भएको टिप्पणी गरेको थियो ।
सन् २०१८ मा अमेरिकाले इरानी तेल निर्यातलाई ‘शून्य’ बनाउने नीति अपनाएको थियो। इरानी रिभोल्युशनरी गार्ड्सका एक कमाण्डरले पनि यदि इरानी तेल निर्यात रोकिने हो भने होर्मुज स्ट्रेटबाट हुने तेल ढुवानी बन्द गर्ने चेतावनी दिएका थिए ।
होर्मुज स्ट्रेटको यही रणनीतिक महत्वका कारण अमेरिकाले यसलाई बन्द गर्ने इरानी निर्णय रोक्न चीनलाई गुहारेको विश्लेषण हुन थालेको छ ।
तर सोमबार एसियाली बजार खुलेसँगै ब्रेन्ट र अमेरिकी सूचक डब्लुटीआई दुवैले पहिलेको मूल्य वृद्धिलाई सच्याएको छ । ब्रेन्ट अन्तिमपटक ०.५३ प्रतिशत घटेर ७६.४९ डलरमा कारोबार भइरहेको थियो भने डब्लुटीआई ०.६२ प्रतिशत घटेर ७३.३८ डलरमा झरेको थियो ।
ऊर्जा लगानी कम्पनी टर्ट्वाइज क्यापिटलका वरिष्ठ पोर्टफोलियो प्रबन्धक रोब थुमेलले सीएनएनसँगको कुराकानीमा भनेका छन्, ‘यदि इरानले नियन्त्रणमा राखेको जलमार्गमा कुनै बाधा आयो भने तेलको मूल्य १०० डलर प्रति ब्यारेलसम्म पुग्न सक्छ ।’
इरानका सर्वोच्च नेता आयातोल्ला अली खामेनीका एक प्रमुख सल्लाहकारले होर्मुज स्ट्रेट बन्द गर्न आह्वान गरिसकेका छन् ।
इरानले भौगोलिक रूपमा विश्वव्यापी जल यातायातमा प्रभाव पार्न सक्ने स्थान ओगटेकाले तेल बजारमा झट्का दिन, मूल्य बढाउन, मुद्रास्फीति बढाउन र ट्रम्पको आर्थिक योजनालाई असफल पार्न सक्ने क्षमता राख्ने इरानी विश्लेषकहरूले बताइरहेका छन् ।
अर्काथरीले भने इरानले होर्मुज स्ट्रेट बन्द गर्न खोजे धेरै क्षति बेहोर्नुपर्ने बताएका छन् । ‘इस्लामिक गणतन्त्रमाथि इजरायली र अमेरिकी आक्रमण भइरहँदा तटस्थ वा सहानुभूतिपूर्ण रहँदै आएका छिमेकी तेल उत्पादक देशहरूलाई शत्रु बनाउन इरान सक्दैन, न त आफ्नो मुख्य कच्चा तेल बजार चीनलाई आक्रोशित बनाउन सघाउँनेछ,’ एक विश्लेषकले भने ।
-बीबीसी र अन्तर्राष्ट्रिय समाचार संस्थाहरूको सहयोगमा
प्रतिक्रिया 4