
News Summary
Generated by OK AI. Editorially reviewed.- केही समयअघि हेपिएको कोदो बाली अहिले ब्रान्डिङ भएर बजार भित्रिएको छ ।
- कोदोको माग बढ्दै गएको र उद्योग सञ्चालन हुँदै गएको छ।
- कोदोको उत्पादन घट्दै जाँदा आयात बढिरहेको तथ्यांक छ।
९ असार, काठमाडौं । ‘साहुजी, कोदोको बिस्कुट छ ? दुई प्याकेट दिनुस् न !’
काठमाडौं बुद्धनगरको एक मार्टमा कोदोको बिस्कुट किन्दै गरेकी लक्ष्मी तन्डुकार भेटिइन् । उनले मार्ट सञ्चालकसँग ‘सुगर फ्रि कोदो’ को बिस्कुट मागिन् । साथै, एक प्याकेट कोदोकै पफ पनि ल्याइदिन भनिन् ।
‘मैले बिहानको नास्ताका लागि फापरको रोटी र कोदोको रोटी अथवा पुवा बनाउँथेँ,’ अनलाइनखबरसँग उनले सुनाइन्, ‘आज अलि हतार छ, त्यसैले बिस्कुट र पफ लिन आएको । घरमा बनाउन नभ्याएका बेला बिस्कुट र पफ खाने गरेका छौं ।’
तन्डुकारले यसरी कोदोको रोटी, बिस्कुट र पफ खान थालेको धेरै भएको छैन । ६ महिनाअघि उनी स्वास्थ्य जाँच गर्न वीर अस्पताल पुगेकी थिइन् । जाँचपछि उनलाई डाक्टरले तौल घटाउन, मैदाबाट बनेका खानेकुरा कम खानुपर्ने लगायत सुझाव दिए ।
‘डाक्टरले त्यतिबेला मैदाको विकल्पमा कोदो, फापर, मकै लगायतबाट बनेका खानेकुरा स्वास्थ्यका लागि हितकर हुन्छ भनेर भन्नुभयो,’ लक्ष्मीले सुनाइन्, ‘पहिला स्वास्थ्यका लागि फाइदा हुन्छ भन्ने थाहा पाए पनि खाने गरेको थिइनँ । अहिले स्वास्थ्यमा समस्या देखिएपछि आफू पनि खाने र परिवारका सदस्यलाई पनि दिने गरेकी छु ।’
लक्ष्मी कोदोको २ प्याकेट सुगर फ्रि बिस्कुट, एक प्याकेट कुकिज र एक प्याकेट पफ किनेर बाहिरिइन् ।
पछिल्लो समय अस्वस्थकर खानपान र जीवनशैलीका कारण विभिन्न रोगले च्याप्दै जान थालेपछि मानिसहरू स्वस्थ जीवनशैली र अर्गानिक खानपानमा ध्यान दिन थालेका छन् ।
केही समयअघि हेपिएको कोदो बाली अहिले ब्रान्डिङ भएर बजार भित्रिएको छ । यही कोदोको पिठोबाट विभिन्न परिकार बन्न थालेका छन् । स्वास्थ्यलाई फाइदा गर्ने भएपछि यसको माग बढ्दै गइरहेको छ ।
सोही मार्ट सञ्चालक आफ्नो मार्टमा पछिल्लो समय कोदोको बिस्कुट, कुकिज र पफको माग धेरै नै बढेको बताउँछन् ।
‘अहिले मैदाबाट बनेका कुकिज, बिस्कुटभन्दा पनि कोदोबाट बनेकोमा उपभोक्ताको माग बढी छ,’ उनी भन्छन्, ‘अहिले युवादेखि बुढाबुढीसम्म सबै आफ्नो स्वास्थ्यप्रति सचेत हुन थालेका छन् । त्यसैले हाम्रा अर्गानिक उत्पादनको माग बढ्दै गएको छ ।’
उनका अनुसार अहिले कोदोको पिठोको माग पनि बढ्दै गएको छ । दैनिक रूपमा ३–४ किलो कोदोको पिठो पनि बिक्री भइरहेको उनले सुनाए ।
उनले भक्तपुरको आर्क्स फुडले उत्पादन गरेको कोदोको बिस्कुट, कुकिज र पफ बेच्न थालेका छन् । पिठो भने गाउँघरतिरैबाट प्याकेजिङ भएर आउने बताए ।
अहिले मार्ट, अनलाइन सपिङ प्ल्याटफर्म मात्र नभई किराना पसलमा पनि कोदोको बिस्कुट, कुकिज, पफ लगायत बेच्न राखिएको भेटिन्छ । शंखमुलमा किराना पसल सञ्चालन गर्दै आएकी देवी श्रेष्ठ तीन महिनादेखि कोदोको बिस्कुट बेच्न थालेको बताउँछिन् ।
‘मलाई त खासै थाहा थिएन कोदोको बिस्कुटबारे, पसलमा आउने ग्राहकले यसबारे दिनहुँ सोध्न थालेपछि मैले पनि बेच्न थालेकी हुँ,’ उनले सुनाइन्, ‘यसको माग र व्यापार राम्रो छ ।’
कोदोको बिस्कुट बनाउन उद्योग
पछिल्लो समय रैथाने उत्पादनको माग बढ्दै जान थालेपछि ती उत्पादनबाट उद्योग पनि सञ्चालनमा आउन थालेका छन् । कोदोको ब्रान्डिङ गर्दै बिस्कुट उत्पादन गर्ने उद्योग सञ्चालनमा आइरहेका छन् ।
नेपाली समाजमा स्वास्थ्यबर्द्धक अन्नका रूपमा प्रयोग हुँदै आएको कोदो पहिले रोटी, ढिँडो, पुवा बनाउन प्रयोग हुँदै आए पनि अहिले आधुनिक जीवनशैली अनुसार बिस्कुट, कुकिज र पफका रूपमा रूपान्तरित भएको छ ।
आर्क्स ग्रुपले आर्क्स फुड अन्तर्गत भक्तपुरमा कोदोको बिस्कुट उत्पादन गर्दै आएको छ । असोज २०८१ देखि कम्पनीले कोदोको बिस्कुट, कुकिज उत्पादन थालेको थियो ।
उपभोक्ताको स्वास्थ्य ख्याल राख्दै स्थानीय उत्पादन कोदो र चक्की आटाको मिश्रणबाट बिस्कुट, कुकिज र पफ उत्पादन गरेको कम्पनीका बजार निर्देशक गोपालकृष्ण श्रेष्ठले बताए ।
उनका अनुसार आर्क्स फुडले मैदा लगायत वस्तुबाट बिस्कुट उत्पादन गर्न थालेको दुई वर्ष भयो । तर, पछिल्लो समय उपभोक्ताबाट स्वास्थ्यवर्द्धक उत्पादन माग भएपछि बजार अनुसन्धान गरेर कोदोको बिस्कुट, कुकिज उत्पादन गरेको उनले बताए ।
‘उपभोक्ताबाट मैदाले स्वास्थ्यलाई खराब गर्छ भन्ने कुराहरू आयो,’ उनले भने, ‘उपभोक्ताले नै हेल्दी बिस्कुट, कुकिज ल्याउनुपर्यो भनेर भन्नुभयो, हामीलाई सुझाव पनि दिनुभयो । त्यसपछि कोदोको बिस्कुट ल्याएका हौं ।’
कम्पनीले कोदोको सामग्री उत्पादन गरेर बजार पठाएको ६–८ महिनामै उपभोक्ताको मन जित्न सफल भएको श्रेष्ठ बताउँछन् । अहिले बजारमा जताततै खोजी हुने अर्गानिक खाद्यमा कोदोको पिठो पर्छ । छोटो समयमै उपभोक्ताले बिस्कुट, कुकिज र पफ मन पराएको र माग पनि बढ्दै गएको उनको भनाइ छ ।
‘चिया र कुकिजपछि हामीले पफ पनि ल्यायौं, चियाको साथी भनेकै पफ हो,’ श्रेष्ठ भन्छन्, ‘हामीले यी प्रडक्टमा कुनै मिसावट गर्दैनौं । बिस्कुट र कुकिजमा मैदा जिरो नै हो । कोदोमा ग्लुटिन नहुने हुँदा बनाउँदा फुट्ने भएर पफमा भने थोरै मैदा मिक्स गर्छौं । चिनी पनि हामीले एकदमै कम प्रयोग गर्छौं ।’
आर्क्स ग्रुपले ५ करोड रुपैयाँभन्दा बढी लगानी यो उद्योगमा गरेको छ । बिस्कुटको माग धेरै छ तर बजार कति छ भनेर अझै पनि अध्ययन गर्नुपर्ने उनी बताउँछन् ।
‘हामीले उत्पादन उपभोक्तासम्म पुर्याएपछि उनीहरूले मन पराए, अल एज ग्रुपकै रोजाइमा पर्न सफल भएको छ,’ उनी भन्छन्, ‘बजारबाट हामीलाई राम्रो सपोर्ट मिलेको छ । माग पनि धेरै बढेको छ ।’
संसारभरि पुग्दै कोदोको बिस्कुट
कम्पनीको अबको लक्ष्य भनेको विदेशी बजार हो । कम्पनीले उत्पादन गरेको उत्पादनको ठूलो बजार अस्ट्रेलिया भएको श्रेष्ठ बताउँछन् ।
उनका अनुसार कोदोबाट बनेको बिस्कुट, कुकिज र पफ अमेरिका, बेलायत, दुबई निर्यात भइसकेको छ । चाँडै नै भारतीय बजारमा पनि पुर्याइने छ । नेपालमा भने लगभग सबै जिल्लामा पुगिसकेको छ ।
नेपाली कोदोलाई उच्च प्राथमिकता
कम्पनीले दैनिक ५ देखि ६ टन बिस्कुट र कुकिज उत्पादन गर्ने गरेको छ । कम्पनीले भारतबाट आयातित कोदो प्रयोग नगरेको उनी बताउँछन् ।
‘हामीले भारतबाट आयात हुने सस्तो कोदो प्रयोग गर्दैनौं,’ उनी भन्छन्, ‘स्वदेशमा नै किसानलाई कोदो उत्पादनका लागि प्रोत्साहन गर्नुपर्छ भनेर प्राथमिकतामा राखेका छौं ।’
उनका अनुसार भारतबाट आयात हुने कोदोको आयातकर्ताले प्रतिकिलो ९० रुपैयाँमा किन्न भन्छन् । तर, स्वदेशी उतपादनलाई नै प्रोत्साहन गर्नुपर्छ र किसानलाई पनि उत्पादनका लागि उत्साहित बनाउन सिजन अनुसार प्रतिकिलो १ सय २० देखि १ सय ३० रुपैयाँ दिएर किन्ने गरेको उनी बताउँछन् ।
कम्पनीले बिस्कुट, कुकिज र पफ बनाउनका लागि धादिङ, त्रिशुलीबाट कोदो ल्याइरहेको छ । त्यसका लागि अहिले दैनिक औसत २ सय किलो कोदो खपत हुँदै आएको छ ।
कोदोका बिस्कुट, कुकिज र पफको मूल्य कति ?
कम्पनीले ५० ग्रामको बिस्कुटलाई २० रुपैयाँमा बेच्दै आएको छ । सुगर फ्रि बिस्कुट ३० रुपैयाँ, कुकिजको ८० रुपैयाँ र पफको १ सय रुपैयाँ पर्छ ।
पछिल्लो समय बजार माग बढ्दै जान थालेपछि अन्य ठाउँमा पनि कोदोको बिस्कुट उत्पादन गर्ने उद्योग खुल्न थालेका छन् । म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकममा पनि कोदोको पिठोबाट बिस्कुट उत्पादन गर्न थालिएको छ ।
घरेलु उद्योग मार्फत बागलुङ काठेखोला गाउँपालिका–८ लेखानीमा पनि कोदोको बिस्कुट उत्पादन हुँदै आएको छ । यस्तै विराटनगरस्थित एसियन बिस्कुट कम्पनीले पनि कोदोको बिस्कुट उत्पादन गर्दै आएको छ ।
बागलुङ काठेखोलाका युवा चानसिंह श्रीस पनि कोदो ब्रान्डिङ गर्दै स्थानीय उत्पादनबाट नै कोदोको बिस्कुट उत्पादन गर्दै आएका छन् । उनले कोदोको बिस्कुट उत्पादन गर्न थालेको दुई वर्ष भयो ।

बजारमा कोदोको बिस्कुटको माग बढ्दै जान थालेपछि अहिलेको अवस्थामा उनले दैनिक औसतमा ५ हजार प्याकेट उत्पादन गरिरहेको बताउँछन् ।
‘हाम्रो उद्योगले उत्पादन गरेको कोदोको बिस्कुट सुदूरपश्चिम बाहेक अन्य सबै ठाउँमा पुग्छ,’ उनले सुनाए, ‘विदेशमा क्यानडा, अस्ट्रेलिया, अमेरिका, जापान लगायत देशमा पुग्छ । अब युरोप निर्यात गर्नका लागि तयारी भइरहेको छ ।’
उनले चार्टर्ड एकाउन्टेन्ट (सीए) अध्ययन गर्ने क्रममा विभिन्न उद्योगको अवलोकन भ्रमण गरेका थिए । सोही समय कोदोको बिस्कुट उत्पादन गर्ने कम्पनीको पनि भ्रमण गरेको र त्यसैबाट प्रभावित भएर उद्योग सञ्चालनमा ल्याएको उनी बताउँछन् ।
उद्योग स्थापनाका लागि गण्डकी प्रदेश सरकारले ग्रामीण साना घरेलु उद्योग स्थापना कार्यक्रम अन्तर्गत १० लाख अनुदान दिएको थियो ।
गाउँमा नै उत्पादन भएको कोदोलाई ब्रान्ड बनाउन सके कोदोको उत्पादन बढ्ने उनी बताउँछन् ।
‘मैले मेरो ठाउँमा उत्पादन भएको कोदोको सबै जिम्मा लिएको छु, कतिपय ठाउँमा कोदो मैले किन्ने गरेर एग्रिमेन्ट पनि गरेको छु,’ उनी भन्छन्, ‘यसो गर्दा आफ्नै उत्पादन प्रयोग गर्न पाइयो र उत्पादन पनि वृद्धि हुने भयो ।’
उनले कोदो किलोको ८० देखि १ सय रुपैयाँ तिर्ने गरेका छन् । अहिले उनको उद्योगमा दैनिक २ सयदेखि २ सय ५० किलो कोदो खपत हुँदै आएको छ । उनले आफ्नो उद्योगमा ७ जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् । सामान बिक्रीका लागि ३ जना कर्मचारी छन् ।
कोदोको बिस्कुट उद्योगका चुनौती
कोदोको बिस्कुटको माग देशमा मात्र नभई विदेशमा पनि बढ्दै गएको अवस्थामा कोदो उत्पादन घट्दै जानु उद्योगका लागि चुनौती रहेको व्यवसायीहरू बताउँछन् ।
मुलुकका ७७ वटै जिल्लामा कोदो उत्पादन हुन्छ । यो सुक्खा र कम मलिलो जमिनमा पनि सजिलै खेती गर्न सकिने बाली हो । रैथाने बाली अन्तर्गतको कोदोजन्य उत्पादनलाई प्रवर्द्धन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले स्थानीय तहमा ससर्त अनुदान दिँदै आएको छ ।
मन्त्रालयका कृषि अर्थ विज्ञ तथा सूचना अधिकारी महानन्द जोशी रैथाने बाली प्रवर्द्धन कार्यक्रम भनेर मन्त्रालयले संघीय ससर्त अनुदानमा स्थानीय तहमा बजेट पठाउने गरेको बताउँछन् ।
‘उक्त कार्यक्रम अन्तर्गत बीउ दिने, सिँचाइको व्यवस्था गर्ने, बजारीकरण गर्न सहयोग गर्ने र उत्पादनमूलक अन्य कुरामा सहुलियत अनुदान दिने र कार्यक्रम सञ्चालन गर्ने गरिएको छ,’ उनी भन्छन्, ‘यताबाट बजेट पठाउने हो, कार्यक्रम सञ्चालन स्थानीय तहले गर्छन् । एउटा स्थानीय तहले करिब ८ देखि १० लाख रुपैयाँ पाउँछन् ।’
कस्ता छन् कोदोका फाइदा ?
कोदोको खपत बढाउन विद्यालयको दिवा खाजामा समेत प्रयोग गर्नका लागि सरकारको वार्षिक बजेटमा नै समेटिएको छ ।
कोदोलाई मधुमेह रोगका लागि पनि अति उत्तम खाना मानिएको छ ।
पोषणतत्वको कुरा गर्दा यसमा क्याल्सियम, कार्बोहाइड्रेड, प्रोटिन, चिल्लो पदार्थ, थाइमिन तथा रेसादार वस्तु पाइने पोषणविद् बताउँछन् ।
विज्ञका अनुसार कोदोमा चामल र मकैभन्दा ३५ गुणा र गहुँभन्दा ८ गुणा बढी क्याल्सियम पाइन्छ ।
पहिले पहिले ‘कु’ अन्न भनेर हेलाँमा परेको कोदोको माग अहिले सबैतिर छ । सहरका ठूला तारे होटलमा पनि कोदोका परिकार ‘मेनु’ मा समेटिएको देख्न सकिन्छ । तारे होटलमा समेत कोदोको म:मदेखि लिएर अन्य परिकारहरू बन्न थालेका छन् ।
कोदो उत्पादन अवस्था
कृषि मन्त्रालयको तथ्यांकले कोदो उत्पादन घट्दै गएको देखाउँछ । आर्थिक वर्ष २०७८/७९ मा २ लाख ६७ हजार ७१ हेक्टरमा कोदो खेती भएको थियो । उक्त क्षेत्रफलमा भएको कोदो खेतीबाट ३ लाख ३९ हजार ४ सय ६२ टन उत्पादन भएको तथ्यांकले देखाउँछ ।
यस्तै २०७९/८० मा कोदो खेतीको क्षेत्रफल घटेर २ लाख २७ हजार ९ सय ३४ हेक्टरमा झरेको तथ्यांकमा उल्लेख छ । उक्त वर्ष क्षेत्रफलसँगै उत्पादन पनि घटेर ३ लाख १० हजार ८ सय ४७ टनमा सीमित भएको थियो ।
पछिल्ला वर्षका तथ्यांक केलाउने हो भने २०७६/७७ मा २ लाख ६२ हजार ५ सय ४७ हेक्टरमा ३ लाख २० हजार ९ सय ५३ टन उत्पादन भएको थियो भने २०७७/७८ मा २ लाख ६५ हजार ४ सय १ हेक्टरमा ३ लाख २६ हजार ४ सय ४२ टन उत्पादन भएको थियो ।
कोदो आयात कति हुन्छ ?
पछिल्लो समय कोदो र कोदोजन्य खाद्यको माग बढेसँगै यसको आयात पनि बढ्दै गइरहेको देखिन्छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिना (साउन–जेठ) सम्ममा ७१ करोड ८७ लाख ८४ हजार रुपैयाँको १ करोड ४३ लाख ५५ हजार १ सय ३६ किलो कोदो आयात भएको छ ।
यस्तै गत आव २०८०/८१ मा ७५ करोड ४४ लाख रुपैयाँ बराबरको कोदो आयात भएको थियो । २०७९/८० मा ७३ करोड २० लाख १३ हजार रुपैयाँको १ करोड ८४ लाख ३ हजार ४ सय ८९ किलो कोदो आयात भएको थियो ।
त्यस्तै २०७८/७९ मा ७ करोड १५ लाख २७ हजार रुपैयाँ बराबर र २०७७/७८ मा ३ करोड ९९ लाख २३ हजार रुपैयाँ बराबरको कोदो आयात भएको थियो ।
प्रतिक्रिया 4