
News Summary
Generated by OK AI. Editorially reviewed.- रुपन्देहीको देवदह नगरपालिकाले २०८२/८३ का लागि १ अर्ब ६३ करोड ८८ लाख रुपैयाँको बजेट सार्वजनिक गर्यो।
- बजेटमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, वातावरण संरक्षण र सशक्तीकरणमा विशेष जोड दिइएको छ।
- स्रोतमा भनिएको छ, संघीय र प्रदेश सरकारबाट अनुदान र ऋणमार्फत बजेट व्यवस्थापन गरिएको छ।}
१० असार, बुटवल । रुपन्देहीको देवदह नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ६३ करोड ८८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
नगरपालिकाको १६औँ नगर सभामा नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले अनुमानित कुल आय १ अर्ब ६३ करोड ८८ लाख हुने उल्लेख गरेकी छन् । यसमध्ये आन्तरिक राजस्वबाट २१ करोड ८६ लाख ४६ हजार उठाउने लक्ष्य राखिएको छ ।
बजेटमा शिक्षा, पूर्वाधार, स्वास्थ्य, भूमि व्यवस्थापन, वातावरण संरक्षण र सुशासनमा विशेष जोड दिइएको उल्लेख छ ।
बजेट वक्तव्यमा गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा,भूमिहीन व्यवस्थापन तथा आवास सुरक्षा, दिगो र गुणस्तरीय पूर्वाधार निर्माण, व्यावसायिक कृषि तथा पशुपालन, रोजगारी सिर्जना तथा पर्यटन प्रवर्द्धन, लक्षित वर्गको सशक्तीकरण, वातावरण संरक्षण र विपद् व्यवस्थापन, संस्थागत सशक्तीकरण र उत्तरदायित्वयुक्त सेवा प्रवाहलाई प्राथमिकता दिइएको छ ।
संघीय सरकारबाट अनुदान, पूँजीगत सशर्त अनुदान र सामाजिक सुरक्षालगायत शीर्षकमा रु. ८५ करोडभन्दा बढी प्राप्त हुने अनुमान छ । यसबाहेक लुम्बिनी प्रदेश सरकार, सडक बोर्ड र शहरी उत्थान कार्यक्रम अन्तर्गत ऋण तथा साझेदारीबाट समेत बजेट व्यवस्थापन गरिएको छ ।
बजेट वक्तव्यमा सबैभन्दा बढी बजेट शिक्षा क्षेत्रमा २६ करोड ९ लाख छुट्याइएको छ । यो रकम विद्यालयमा दरबन्दी पूर्ति, छात्रवृत्ति, परीक्षा प्रणाली सुधार, विद्यालय ग्रीन स्पेस, विज्ञान शिक्षाका लागि पूर्वाधार निर्माण, नि:शुल्क सेनेटरी प्याड, प्रतियोगितात्मक क्रियाकलापजस्ता कार्यक्रममा खर्च गरिनेछ ।
स्वास्थ्यमा ४ करोड ५७ लाख बजेट छुट्याइएको छ । स्वास्थ्य क्षेत्रमा आधारभूत र आकस्मिक सेवा, औषधोपचार सामग्री खरिद, स्वास्थ्य बीमा अभियान र नागरिकको सहज पहुँचमा केन्द्रित कार्यक्रम संचालन गरिने उल्लेख छ ।
पूर्वाधार निर्माण तथा मर्मतको लागि ६३ करोड ६० लाख विनियोजन गरिएको छ । यसमध्ये शहरी उत्थान कार्यक्रम अन्तर्गत ५२ करोड ३९ लाखको लगानी नगर–संघीय साझेदारीमा हुनेछ । अस्पताल, सडक, खानेपानी, विद्युत, विद्यालय संरचना र सिँचाइ पूर्वाधारमा समेत बजेट केन्द्रित गरिएको छ ।
सुकुम्बासी, अव्यवस्थित बसोबासी र भूमिहीनलाई जग्गा प्रमाणपत्र दिने, व्यवस्थित बसोबास सुनिश्चित गर्ने कार्यमा २ करोड छुट्याइएको छ ।
कृषि उत्पादन, बजार व्यवस्थापन, कृषि उपकरण, बिजुली सुविधा तथा कृषक सशक्तीकरणका लागि कुल ४५ लाख ३५ हजार छुट्याइएको छ । पशुपालन क्षेत्रमा रोग नियन्त्रण, औषधोपचार, बाँझोपन न्यूनीकरण, वंगुर पकेट विकासलगायतका कार्यक्रम सञ्चालन गरिनेछ ।
महिला, दलित, आदिवासी, मधेसी, मुस्लिम, अपांग, द्वन्द्वपीडित तथा पिछडिएको वर्गको सशक्तीकरणका लागि उपप्रमुखसँग महिला कार्यक्रम लगायत ५३ लाख बजेट विनियोजन गरिएको छ ।
हरित नगर निर्माण, वृक्षरोपण, फोहोर व्यवस्थापन, जलवायु सजगता तथा प्राकृतिक विपद् व्यवस्थापनका लागि ६२ लाख ५० हजार छुट्याइएको छ ।
नगर प्रशासन, सेवा प्रवाह, उत्तरदायित्व विकास, सूचना व्यवस्थापन र आन्तरिक राजस्व प्रणाली सुधारका लागि १७ करोड १६ लाख विनियोजन गरिएको छ ।
देवदह नगरका १२ वटै वडामा १–१ करोडका दरले कुल १२ करोड वडागत कार्यक्रमका लागि छुट्याइएको छ ।
प्रतिक्रिया 4