
News Summary
Generated by OK AI. Editorially reviewed.- वीरेन्द्रनगर नगरपालिकाले २०८२/८३ का लागि पूर्वाधार, सामाजिक र समावेशीकरण विकासलाई प्राथमिकता दिने नीति प्रस्तुत गरेको छ।
- नगर प्रमुख मोहनमाया ढकाल भण्डारीले ‘हाम्रो शहर, समृद्ध वीरेन्द्रनगर बनाउने’ उद्देश्यसहित नीति र कार्यक्रमहरू घोषणा गरिन्।
- सामाजिक सेवा, पर्यटन, कृषि, स्वास्थ्य र युवा समर्पित विभिन्न कार्यक्रम र अभियानहरू कार्यान्वयन गर्ने योजना बनाइएको छ।.
१० असार, सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । १७औँ नगर सभामा मंगलबार नगर प्रमुख मोहनमाया ढकाल भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
उनले ‘हाम्रो शहर, समृद्ध वीरेन्द्रनगर बनाउने रहर’ भन्ने आम आकाङ्क्षालाई आत्मसात् गर्दै आगामी आर्थिक वर्ष नगरपालिकाले अवलम्बन गर्नुपर्ने नीति तथा कार्यक्रमहरूलाई प्रस्तुत गरेको बताइन् ।
नगरपालिकाले कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरलाई पूर्वाधार तथा सामाजिक र समावेशीकरण विकासको क्षेत्रलाई प्राथमिकता दिने नीति लिइएको छ ।
‘वीरेन्द्रनगर प्रदेश राजधानी भएसँगै यहाँ प्रचुर सम्भावना बढेको छ । दिन प्रतिदिन उच्च जनसङ्ख्या वृद्धि भइरहेको छ । सीमित स्रोत र साधनका कारण समुदायको आकाङ्क्षालाई पूर्ण सम्बोधन गर्न सकिएको छैन,’ नगरप्रमुख ढकालले भनिन्, ‘तर पनि नगरपालिकाका सामु उपलब्ध सीमित स्रोत र साधनबाट आशातीत नतिजा हासिल गर्नुपर्ने हुन्छ । सोही अनुसारको आगामी नीति ल्याइएको छ ।’
नगर प्रमुख ढकालले वीरेन्द्रनगरमा सम्भावनाको खोजी गर्दै बसाइँसराइ गरेर आउनेलाई स्वागत गर्दै उनीहरूसँग भएको रैथाने सिप र क्षमतालाई नगरको विकासमा उपयोग गर्न ‘नलेज बैंक’ स्थापना गर्ने नीति लिइएको बताइन् ।
वीरेन्द्रनगरले प्रदान गर्ने सम्पूर्ण सेवालाई छिटो छरितो र पारदर्शी बनाउन भन्दै एकीकृत डिजिटल सेवा प्रवाह प्रणाली लागु गर्ने नीति लिएको छ । त्यसका लागि ‘शीघ्र सेवा, तीव्र विकास’ अभियान मार्फत ‘सरल सरकार, सहज सेवा’को प्रत्याभूति हुने गरी कार्यान्वयन गरिने नगर प्रमुख ढकालले बताइन् ।
त्यस्तै सेवाग्राही लाइनमा हैन अनलाइनमा भन्ने समेत नीति कार्यान्वयन गरिने बताइएको छ ।
नगरको सुशासन प्रवर्द्धन गर्न नगर प्रहरी परिचालन गरी फुटपाथ व्यवस्थापन, आन्तरिक सुरक्षा व्यवस्थापन र शहरी सौन्दर्यका लागि परिचालन गरिने बताइएको छ । साथै सार्वजनिक ‘प्रशासनभित्र, सुरक्षित कार्यक्षेत्र’ अभियानलाई कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
कर्णाली प्रदेशका सबै स्थानीय तहहरूमा रहेका न्यायिक समितिहरूको अनुभवलाई एक आपसमा आदानप्रदान गर्न कर्णाली प्रदेश स्तरीय न्यायिक सम्मेलन गरिने बताइएको छ । भेरी लिफ्ट खानेपानी आयोजनालाई २ वर्षभित्रै सम्पन्न गर्ने, नगर गौरवको आयोजनाका रूपमा घण्टाघर पार्क निर्माण गर्ने र १५ शय्याको नगर अस्पताललाई थप प्रभावकारी ढंगबाट सुचारु गरिने नीतिमा उल्लेख छ ।
पर्यटकीय क्षेत्र बुलबुले उद्यान, बुलबुले ताल संरक्षण र चोक सुधार कार्यक्रम मार्फत चोक चौतारा संरक्षण कार्यलाई थप निरन्तर दिँदै नगरलाई व्यवस्थित बनाइने बताइएको छ । धार्मिक पर्यटकीय क्षेत्र देउती बज्यै, लाटीकोइली शिव मन्दिर र गढी क्षेत्रको विकासमा तीव्रता दिइने नगर प्रमुख ढकालले बताइन् ।
वीरेन्द्रनगरलाई प्रदेशकै शैक्षिक हबको रूपमा विकास गरी उत्कृष्ट शैक्षिक केन्द्र बनाउने दूर दृष्टिका साथ निर्माण गरिएको १० वर्षे शैक्षिक रणनीतिको कार्यान्वयन गर्ने, नगरका सबै वडामा महिला बालबालिका विपन्न सहयोग अपेक्षाकृत समुदायका पक्षमा कानुनी साक्षरता र सहयोग गर्न ‘मेरो पकेट, मेरो डस्टबिन’ चेतना अभियान सञ्चालन गर्ने नीति लिइएको छ ।
त्यस्तै ‘घर बलियो जगले, विद्यालय बलियो बाल विकास’ ले भन्ने नाराका साथ प्रारम्भिक बाल विकास कक्षालाई प्रभावकारी रूपमा व्यवस्थापन गर्ने नीतिलाई कार्यान्वयन गरिने बताइएको छ ।
८ कक्षासम्म हामी र हाम्रो वीरेन्द्रनगर नामको स्थानीय पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन गर्ने, सामुदायिक विद्यालयहरूलाई डिजिटलाइज्ड गर्ने, सामुदायिक विद्यालयमा नि:शुल्क पाठ्यपुस्तक, नि:शुल्क सेनेटरी प्याड वितरण र प्रयोग गर्ने कार्यलाई प्रभावकारी बनाउने नीति तथा कार्यक्रम उल्लेख छ ।
नगरपालिकाले भेरी आर्यघाटलाई व्यवस्थित आर्यघाटको रूपमा निर्माण गर्ने, कर्णाली बसपार्क निर्माण, मंगलगढी चोकमा आकासे पुल निर्माण गर्ने र सडक मर्मत युनिट गठन गर्ने विगतकै कार्यक्रमलाई निरन्तरता दिएको छ ।
विकास निर्माणका काममा युवालाई जोड्दै अगाडि बढ्ने वीरेन्द्रनगर नीति ल्याइको छ । त्यसका लागि नगरपालिकाले ‘युवासँग उद्यमशीलता’ कार्यक्रम सञ्चालन गर्ने मेयर ढकालले जनाइन् । उक्त कार्यक्रम मार्फत स्वदेशमै सम्भावना देख्ने युवाका लागि आवश्यकता, महत्त्व र विशिष्टताका आधारमा कार्यक्रम सञ्चालन गरिने नीति ल्याइएको छ । महिला, दलित, विपन्नलाई प्रोत्साहित गरिने बताइएको छ ।
नगर युवा परिषद् मार्फत खेलकुद र युवा लक्षित गतिविधिहरू अगाडि बढाइने, १०औं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशबाट सहभागी हुने खेलाडीलाई प्रशिक्षण, तालिम लगायत अन्य व्यवस्थापकीय कार्यमा नगरपालिको तर्फबाट सहयोग गर्ने र पदक हासिल गर्ने खेलाडीलाई नगद सहित सम्मान गर्ने नीतिमा उल्लेख छ ।
वीरेन्द्रनगरलाई बालमैत्री नगर घोषणा गरिने, महिलामैत्री स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गरिने, जोखिममा रहेका बालबालिकाहरूलाई विशेष संरक्षण गरिने, जेष्ठ नागरिकको सम्मानका लागि विशेष कार्यक्रम सञ्चालन गरिने बताइएको छ । विगतदेखि सञ्चालन हुँदै आएको नगरको छोरी बचत खातालाई थप व्यवस्थित रूपमा सञ्चालन गरिने नगर प्रमुख ढकालले बताइन् ।
वीरेन्द्रनगरले आकर्षक नाराका साथ कृषिलाई पनि प्राथमिकता राखेको छ । ‘वीरेन्द्रनगरको अठोट पकेट क्षेत्रमा जोड’ भन्ने नाराका साथ विभिन्न बालीका पकेट क्षेत्र निर्धारण गर्ने, ‘सिँचाइमा लगानी कृषकलाई आम्दानी’ अभियान सञ्चालन गर्ने, ‘कृषिजन्य वस्तुको आयात घटाउ स्थानीय उद्यमी बढाऊ’ भन्ने नाराका साथ नगरमा व्यावसायिक कृषि जन्य व्यवसाय गरिरहेका किसानको स्तर उन्नतिका लागि अनुदानका कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।
त्यस्तै ‘साना किसानको पहिचान विपन्नलाई अनुदान’, ‘वीरेन्द्रनगरको रहर विषादीमुक्त शहर’, ‘वीरेन्द्रनगरको खेती जलवायु मैत्री प्रविधि’, ‘बिउमा परनिर्भरता घटाऊ स्थानीय बिउ बचाऊ’, ‘हाम्रो रहर कौसी खेतीको शहर’, ‘जमिन बाँझो नराखौँ, सक्नेलाई खेती गर्न दिऊँ’ र ‘विदेशिने युवा घटाऊ, स्वदेशमै रोजगारी बढाऊ’ भन्ने जस्ता अभियान सञ्चालन गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको नगर प्रमुख ढकालले बताइन् ।
वीरेन्द्रनगर स्वास्थ्य सन्देश कार्यक्रम सञ्चालन गरिने, महिला तथा बालबालिका नगर अस्पताललाई स्तरोन्नति गरी स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख छ ।
वीरेन्द्रनगरभित्रका बर्थिङ सेन्टरबाट सुत्केरी हुने महिलाका लागि वीरेन्द्रनगर सुत्केरी पोषण कार्यक्रम लागु गरिने, गर्भवती महिलालाई प्रसूतिका लागि नि:शुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिने, सुत्केरी महिलालाई घरमै गई उपचार र परामर्श दिइने, हेल्लो गर्भवती आमा कार्यक्रमलाई थप प्रभावकारी रूपमा सञ्चालन गरिने नीति लिइएको छ ।
एक वडा, एक उद्यमशीलता कार्यक्रम सञ्चालन गर्ने, डिजिटल रोजगारीमा युवाको रहर, यही बाटो हो बन्ने समृद्ध नगर भन्ने नीति अनुरूप उद्यमशीलता र सूचना प्रविधिकलाई एक साथ जोडिने कार्यक्रम सञ्चालन गरिने नगर प्रमुख ढकालले बताइन् । युवामैत्री कार्यक्रमलाई अभियानका रूपमा सञ्चालन गरिर्ने, वीरेन्द्रनगरका पर्यटकीय स्थलको एप मार्फत लोकेसन ट्र्यापिङ गरिने र पर्यटन सूचना बोर्ड राखिने जस्ता कुराहरू पनि नीति तथा कार्यक्रममा समेवेश गरिएको छ ।
पूर्वाधारहरूको विकास तथा विस्तारबाट सेवा सुविधा, बजारमा पहुँच र उपयोग वृद्धि भई जीवनयापनमा सहजता ल्याउने, स्वच्छ खानेपानी तथा सरसफाइमा नगरवासीको सहज पहुँचमा वृद्धि गर्ने, कृषि तथा पशुपालन पेसा व्यावसायिक रोजगारमूलकतर्फ उन्मुख गर्ने, उद्योग तथा व्यवसायको सिर्जना, वृद्धि र विस्तार गर्ने, वीरेन्द्रनगर शैक्षिक पर्यटनको गन्तव्य बन्ने आधार तयार गर्ने लगाएतको नीति ल्याइएको नगर प्रमुख ढकालले जानकारी दिइन् ।
प्रतिक्रिया 4