
News Summary
Generated by OK AI. Editorially reviewed.- कर्णाली प्रदेशको वीरेन्द्रनगर नगरपालिकाले २०८२–८३ का लागि ४ अर्ब ३८ करोड बजेट प्रस्तुत गर्यो।
- बजेटमा पूर्वाधार, यातायात, स्वास्थ्य, शिक्षा र वातावरण संरक्षणलाई प्राथमिकता दिइएको छ।
- आगामी वर्षको राजस्व लक्ष्य ५१ करोड ६३ लाख रुपैयाँ रहेको छ।
१० असार, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि ४ अर्ब ३८ करोड बराबरको बजेट प्रस्तुत गरेको छ । १७ औँ नगर सभामा मंगलबार उपप्रमुख निलकण्ठ खनालले उक्त बजेट प्रस्तुत गरेका हुन् ।
यो बजेट चालु आर्थिक वर्षको तुलनामा ७९ करोड ९ लाख १५ हजार रुपैयाँले बढी हो । नगरपालिकाले चालु आर्थिक वर्षका लागि ३ अर्ब ५९ करोड १८ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।
नगरपालिकाले कुल बजेटमध्ये चालूतर्फ १ अर्ब ५९ करोड ४२ लाख ३० हजार (३६.३७ प्रतिशत) र पुँजीगततर्फ २ अर्ब ७८ करोड ८४ लाख ८५ हजार (६३.६३ प्रतिशत) विनियोजन गरिएको उपप्रमुख खनालले बताए ।
उपमेयर खनालले प्रस्तुत गरेको बजेटमा प्रशासनिक खर्चका लागि ३२ करोड ६५ लाख बजेट विनियोजन गरिएको छ ।
खानेपानी, सुशासन तथा पूर्वाधार प्रवर्द्धन कार्यक्रमका लागि म्याचिङ्ग फण्ड (भेरी पम्पिङ्ग आयोजना) सञ्चालन व्यवस्थापन र सहकार्यका लागि ११ करोड ६० लाख विनियोजन गरेको छ ।
वडा स्तरीय योजना तथा कार्यक्रमका लागि १९ करोड २८ लाख, नगर स्तरीय क्षेत्रगत कार्यक्रम सञ्चालन गर्न १ अर्ब २५ करोड ९२ लाख ७९ हजार विनियोजन गरिएको उपप्रमुख खनालले जानकारी दिए ।
उनले विकास साझेदार तथा गैर सरकारी संघ संस्थाले पेस गरेका ४० करोडको आयोजना तथा कार्यक्रम समेत सभामा प्रस्तुत गरेका छन् ।
खर्च व्योहोर्ने स्रोतको रूपमा नगरपालिकाले संघीय सरकारले दिने सशर्त अनुदान तर्फ २ अर्ब २० करोड ८ लाख र वित्तीय समानीकरण अनुदान तर्फ २४ करोड २४ लाख प्राप्त हुने अनुमान गरेको छ ।
आगामी आर्थिक वर्षको बजेट व्यवस्थापनका लागि वीरेन्द्रनगर नगरपालिका संघीय सरकारबाट प्राप्त हुने अनुदानमै बढी निर्भर भएको देखिन्छ ।
कुल बजेटको खर्च व्यहोर्न संघीय सरकारबाट वित्तीय समानीकरण, सशर्त अनुदान र राजस्व बाँडफाँट गरी कुल २ अर्ब ६४ करोड ८९ लाख ९३ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । संघीय राजश्व बाँडफाँट २० करोड ५७ लाख ९३ हजार प्राप्त गरेको छ ।
प्रदेश सरकार वित्तीय समानीकरण अनुदान तर्फ ३ करोड ३४ लाख ५३ हजार, प्रदेश सशर्त अनुदान तर्फ ३७ करोड ६१ लाख ३६ हजार, घर, जग्गा, रजिष्ट्रेसन तथा मनोरञ्जन कर बापत १५ करोड, दहत्तर वहत्तर शुल्क २ करोड ५० लाख, नगरपालिकाको आन्तरिक आय ५१ करोड ६३ लाख ५० हजार हुने हुने अनुमान छ ।
चालु आर्थिक वर्षबाट ४१ करोड २७ लाख ८३ हजार रुपैयाँ बैंक मौज्दात सर्ने अनुमान गरिएको छ भने सामाजिक सुरक्षा भत्ताका लागि ४० करोड रुपैयाँ छुट्टै अनुदान प्राप्त हुने अनुमान गरिएको छ ।
बजेटले ‘शैक्षिक, प्रशासनिक र पर्यटकीय सहर, स्वच्छ, स्वस्थ, समुन्नत वीरेन्द्रनगर’ को सोचलाई साकार पार्ने लक्ष्य लिएको उपमेयर खनालले बताए । ‘वीरेन्द्रनगरलाई व्यवस्थित राजधानीका रूपमा विकास गर्न पूर्वाधार निर्माण, खानेपानी, सहरी सौन्दर्य र सार्वजनिक यातायातलाई प्राथमिकतामा राखिएको छ,’ उनले भने ।
बजेटका मुख्य प्राथमिकताहरू
वीरेन्द्रनगर आगामी आर्थिक वर्षको बजेटमा पूर्वाधार विकास, सहरी सौन्दर्यीकरण, सामाजिक सुरक्षा र यातायात सुधारलाई प्राथमिक प्राथमिकतामा राखिएको छ ।
उपत्यकाको खानेपानी समस्याको दिगो समाधानका लागि संघीय र प्रदेश सरकारसँगको सहकार्यमा अघि बढाइएको भेरी पम्पिङ आयोजनाका लागि ११ करोड ६० लाख रुपैयाँ म्याचिङ फन्ड छुट्याइएको नगर उपप्रमुख खनालले जानकारी दिए ।
उनका अनुसार वीरेन्द्रनगरको खानेपानी समस्यालाई तत्काल समाधान गर्न डीप बोरिङ, खानेपानी पाइप लाइन विस्तार तथा पुराना आयोजनाहरूको मर्मत सम्भार र विस्तारका लागि वडास्तरीय कार्यक्रम सञ्चालन गरिने छ ।
सहरी पूर्वाधारहरूको विकास केन्द्रित आयोजना तथा कार्यक्रम सञ्चालनका लागि प्रत्येक वडामा कम्तीमा एक वटा ५० लाख भन्दा ठूला नगर गौरव पूर्वाधार आयोजना सञ्चालन गर्ने बताइएको छ ।्
नगरको यातायातलाई भरपर्दो र सर्वसुलभ बनाउन आगामी आर्थिक वर्षबाट नगर बस खरिद गर्न २ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
राजधानी केन्द्रित ट्राफिक लाइट, रोड मार्किङ, चोक साधार, फुटपाथ व्यवस्थापन, सीसी क्यामरा र हाई मास लाइट जस्ता सहरी पूर्वाधार निर्माणका लागि १२ करोड छुटाइएको छ । त्यस्तै नगरपालिकामा नागरिकका तर्फबाट आएका मागलाई सम्बोधन गर्न पूर्वाधार तर्फ थप २९ करोड ७९ लाख बजेट विनियोजन गरिएको उपप्रमुख खनालले बताए ।
वीरेन्द्रनगरलाई शैक्षिक हबको रूपमा विकास गर्न ५ करोड ५९ लाख ६६ हजार विनियोजन गरिएको छ । युवाहरूको क्षमता विकास गर्न र उनीहरूलाई नगर समृद्धिको अभियानमा परिचालन गर्न युवा सशक्तीकरण कार्यक्रम सञ्चालन गरिने बताइएको छ । त्यसका लागि ६० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
युवा तथा खेलकुद क्षेत्रमा ६१ लाख २५ हजार, गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि १ करोड ५९ लाख ५८ हजार र महिला बालबालिका नगर अस्पताललाई व्यवस्थित ढङ्गबाट सञ्चालन गर्न ३७ लाख ५० हजार बजेट विनियोजन गरिएको छ ।
वीरेन्द्रनगरलाई उपमहानगर उन्मुख सहरी सुविधा र सुशासन कायम गर्न १ करोड १० लाख छुट्याइएको छ । त्यस्तै फोहरको वर्गीकरण गर्दै वातावरणमैत्री व्यवस्थापनको आधार तयार गर्न ४ करोड ५० लाख विनियोजन गरिएको उपमेयर खनालले बताए ।
कृषि तथा पशुपालन पेशालाई व्यावसायिक र रोजगारमूलक तर्फ उन्मुख गराउने वीरेन्द्रनगरले नीति तथा कार्यक्रम र बजेटमा उल्लेख गरेको छ । नगरलाई विभिन्न उत्पादनमा आत्मनिर्भर बनाउन क्षमता विकास र आयआर्जन कार्यक्रम सञ्चालन गर्न १ करोड ३० लाख विनियोजन गरिएको छ ।
कर्णाली प्रदेशका सबै स्थानीय तहका न्यायिक समितिका पदाधिकारीहरूको प्रदेश स्तरीय सम्मेलन सहित न्यायिक पहुँचमा सुधार गर्न ६० लाख विनियोजन गरिएको छ ।
विकास प्रक्रियामा महिला, दलित, जनजाति, आदिवासी र अपाङ्गता भएका व्यक्तिहरूको पहुँचमा वृद्धिका लागि विभिन्न आयोजना तथा कार्यक्रम सञ्चालन गर्न ७५ लाख छुट्याइएको छ ।
यस्तो छ, राजस्व लक्ष्य
वीरेन्द्रनगरले आगामी आर्थिक वर्षका लागि स्वीकृत कर दस्तुरलाई समय सापेक्ष संशोधन सहित र करको दायरा विस्तारको नीति लिएको छ । करका दरहरूमा आवश्यकता र औचित्यताको आधारमा छुट एवं सहुलियत दिने नीति लिइने उपप्रमुख खनालले बताए ।
आगामी आर्थिक वर्षमा करको दायरा विस्तार गरी ५१ करोड ६३ लाख ५० हजार आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य राखिएको छ । कर संकलनलाई प्रभावकारी बनाउन नगरपालिकाले कानुन बमोजिम लिने प्रमुख करहरू प्रत्येक वडा कार्यालयबाट टोल विकास संस्था तथा निजी क्षेत्र सँगको सहकार्यमा संकलन गर्ने नीति लिएको छ ।
स्थानीय तहको अधिकार सूचीभित्र पर्ने सम्पत्ति कर, भूमीकर, घरजग्गा वहालकर, व्यापार व्यवसाय कर, जडीबुटी, कवाडी तथा जीवजन्तु कर, सवारी साधन कर, विज्ञापन कर, मनोरञ्जन कर, बहाल विटौरी शुल्क, पार्किङ शुल्क, विभिन्न सेवा शुल्क दस्तुर क्षेत्रलाई फराकिलो पार्दै कर संकलन कार्यलाई निरन्तरता दिइने बताइएको छ ।
बजेटका उद्देश्य
वीरेन्द्रनगरले आगामी आर्थिक वर्षका लागी पेश गरेको बजेटबाट १७ वटा उद्देश्य प्राप्ति हुने अपेक्षा राखेको छ । उपप्रमुख खनालले प्रस्तुत गरेको बजेटले आगामी आर्थिक वर्षमा पूर्वाधारहरूको विकास, सुविधा र बजारमा पहुँच, सहरी सौन्दर्यताका साथै जीवनयापन सुरक्षित र वातावरणमैत्री ढङ्गबाट सहजता ल्याउने उद्देश्य रहेको छ ।
नगरमा भएको खानेपानी समस्यालाई दिगो व्यवस्थापन गर्दै संस्थागत व्यवस्थापनको थालनी गर्ने, कृषि तथा पशुपालनले रोजगार तर्फ उन्मुख गराउने, महिलाहरूको संलग्नतामा विभिन्न उत्पादनमा नगरलाई आत्मनिर्भर उन्मुख बनाउने बताइएको छ ।
नगरपालिकालाई प्रदेशकै गुणस्तरीय शैक्षिक गन्तव्य बनाउने आधार तयार गर्ने, विद्यालय शिक्षामा सबै बाल बालिकाहरूको समतामूलक पहुँच सुनिश्चित गर्ने, युवाहरूमा अनुशासन, सक्षमता र स्वावलम्बनको विकास गर्न युवा प्रतिभा पहिचान तथा प्रवर्द्धन गर्ने पनि लक्ष लिइएको खनालले बताए ।
१० औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा आयोजक सहरका रूपमा व्यवस्थित आथित्यता प्रदान गर्दै स्थानीय पर्यटन प्रवर्धन गर्ने, प्रदेशवासीको गौरवको सहरका रूपमा विकास गर्ने, स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि र सुलभता ल्याउने बताइएको छ ।
त्यस्तै विद्युतीय सुशासनको क्रमश: विस्तार गर्दै लैजाने, विपद्जन्य जोखिम न्यूनीकरणका लागि पूर्व तयारीमा रहने, उद्यम व्यवसाय विकासमा महिलाहरूको अर्थपूर्ण सहभागितामा वृद्धि गरी आय आर्जनमा बढाउने, राजस्वको दायरा फराकिलो बनाउँदै नगरको आन्तरिक आय वृद्धि गर्ने पनि लक्ष लिइएको छ ।
वातावरणमैत्री ढङ्गबाट फोहर मैला व्यवस्थापन गर्ने, नगरको हरियाली प्रवर्द्धन गर्ने, वीरेन्द्रनगरमा उपमहानगर उन्मुख सहरी सुविधा र सुशासन कायम गर्ने बताइएको छ ।
प्रतिक्रिया 4