
News Summary
Generated by OK AI. Editorially reviewed.- सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-६ मा बच्चाले खाल्डोमा खसेको घटना देखाइएको छ।
- वडाध्यक्ष प्रकाश फुँयालले निर्माण कार्यको क्रममा पानी जम्दा खाल्डो भएको र त्यसको जानकारी ढिलो प्राप्त भएको बताए।
- पूर्वाधार विज्ञ आशिष गजुरेलले सूचनाको व्यवस्था र सावधानी अपनाउन आवश्यक रहेको र लापरबाहीलाई अपराध भनेका छन्।
११ असार, काठमाडौं । केही दिनयता सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल छ । भिडियोमा दुईजना बच्चा सडकमा हिँडिरहेका देखिन्छन् ।
सिमसिम पानी परेकोले एकजनाले छाता ओढेका छन् भने एकजना पानी जमेको सडक छेउतिर अलमल गरेजस्तो देखिन्छ । एकाएक ती बच्चा पानीभित्र जान खोज्छन् र खाल्डो ठूलो भएकोले जमेको पानीभित्र खस्छन् ।
केही समय पानीभित्र छट्पटाउँदै ती बालक तैरिने कोसिस गरिरहेका देखिन्छन् । उनका साथीले हात दिए पनि केही सिप लाग्दैन । पछि अर्का स्थानीयले देखेपछि बालकको उद्धार गर्छन् । भाग्यबस् बालकलाई केही हुँदैन ।
यसरी सडक छेउमा अलपत्र छोडिएको खाल्डोमा पानी जम्दा बच्चा खस्न पुग्छन्, जुन भिडियोलाई लिएर सामाजिक सञ्जालमा आक्रोशपूर्ण अभिव्यक्ति देख्न सकिन्छ । स्थानीय सरकार र ठेकेदारको लापरबाहीले झन्डै एकजना अवोध बालकले ज्यान गुमाउनुपरेको भन्दै आलोचना भइरहेको छ ।
हुन पनि निर्माण कार्य चलिरहेको उक्त खाल्डो वरपर सचेत गराउने कुनै सूचना बोर्ड वा घेराबेरा केही देखिन्न । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका- ६ को यो घटनालाई ‘राज्यले पासो थापेको’ अर्थमा लिनुपर्ने भन्दै टिप्पणी भएको देखिन्छ । कागेश्वरीको बाबा चोकमा घटेको उक्त घटनाको पुष्टि वडाध्यक्ष प्रकाश फुँयालले गरे ।
फुँयालकाअनुसार त्यहाँ ढल निकासका लागि मंगालको निर्माण कार्य चलिरहेको छ । मंगाल बनाउनको लागि खाल्डो खनेको र पानी परेर त्यसमा जम्दा उक्त घटना भएको उनले बताए ।
‘त्यो भिडिओमै हेर्नु न, बच्चा स्वीमिङ गर्छु भन्दै जिस्किँदै गएको जस्तो देखिन्छ । वरपरका कसैले पनि अपर्झट त्यस्तो चासो देखाएको, सिरियस भएको देखिँदैन । त्यो खाल्डोमा बच्चा खेल्न छिर्छु भन्दा त्यस्तो भएको हो, अरु केही होइन,’ उनले भने ।
स्थानीय भने यसरी बच्चा खसेको घटनापछि स्थानीय सरकारलाई खबर गर्दा बेवास्ता गरेको बताउँछन् । तर वडाध्यक्ष यसबारे आफूहरूले पनि ढिलो जानकारी पाएको बताउँछन् । यद्यपि, अहिले आफूहरूले उक्त खाल्डोबाट पानी निकालिसकेको उनले बताए । यस विषयमा प्रश्न उठिरहँदा ठेकेदारलाई जवाफदेही बनाउने, मापदण्डअनुसार काम गराउने भन्नेमा ध्यान दिनुभन्दा पनि रक्षात्मक सुनिए, फुँयाल ।
‘धेरै ठाउँमा अहिले सडक बन्दैछ । फेरि पानी यस्तो परिरहेको छ कि, विपदले पेलेको पेल्यै छ । बर्खामा नेपालमा काम यस्तै हो, उपभोक्ताले गर्ने काम पछिपछि नै हुन्छ । अनि हेर्न गयो, सबै ठाउँमा यस्तै अवस्था छ,’ उनले भने ।
तर, पानी निकासा गरे पनि खाल्डो भने यथावत् छ । ‘खाल्डो चाहिँ कहिले पुर्ने त ? पानी पर्दा फेरि जोखिम हुनेरैछ,’ भन्ने प्रश्नमा वडाध्यक्ष फुँयालले थपे, ‘धेरैतिर काम भइरहेकाले विस्तारै हुन्छ । पानी हामीले निकालिसक्यौं । अब भोलिपर्सि मंगालको काम सकेपछि खाल्डो पुरौँला नि ।’
सँगसँगै उनको प्रश्न छ- यस्ता पूर्वाधारको काम गर्दा खाल्डो खन्नु परिहाल्यो । अरु उपाय के हुन्छ र ? कि खन्नै भएन ।

यही प्रश्न हामीले पूर्वाधारविज्ञ आशिष गजुरेललाई सोध्यौँ । उनको जवाफ छ, ‘यसरी काम गर्दा सडकको छेउमा कम्तीमा ३००/४०० मिटर अगाडि नै ‘काम भइरहेको छ, सावधान रहनुहोस्’ भन्ने सूचना बोर्ड राख्नुपर्ने, रातको समयमा देखिने रिफ्लेक्टिभ कोन वा हरियो पर्दाले छेक्ने उपाय अपनाउनुपर्ने हुन्छ ।’
विना सूचना बोर्ड यसरी काम गर्नु गैरजिम्मेवारपूर्ण रहेको गजुरेललको भनाइ छ । उनकाअनुसार कागेश्वरीको हकमा त्यस्तो मंगाल बनाइरहेको ठाउँमा हरियो पर्दाले बेरेर काम गर्नुपर्ने हुन्थ्यो । यत्तिकै बेवारिसे तरिकाले काम गर्दा धेरै दुर्घटनाको जोखिम उनले औँल्याए ।
‘त्यहाँ मात्र हैन, मैले अलि अघि कीर्तिपुरदेखि चोभार जाने सडकमा हालै भइरहेको सडक विस्तारको काममा यस्तै लापरबाही देखेको थिएँ । त्यहाँ पनि दुवै साइडमा गहिरो खाल्डो थियो, भारी वर्षा परेपछि त्यहाँ पानी जम्छ र, खाल्डो नदेखिने हुँदा दुर्घटनाको सम्भावना अत्यधिक हुन्छ,’ गजुरेलले भने ।
यसरी लापरबाहीपूर्ण तरिकाले भइरहेको कामलाई राज्यले गरेको अपराध ठान्छन्, गजुरेल । ‘पासो थापेर आफ्नै नागरिकलाई दुर्घटनामा पार्न खोजेको बुझाउँछ । यस्ता काममा हामीले धेरै सचेत हुन आवश्यक छ,’ उनले भने ।
प्रतिक्रिया 4