+
+
Shares

म रिटायर्ड हुने समय आयो, कांग्रेसलाई एक बनाउने इच्छा छ : देउवा

‘कांग्रेस एक भए चुनावमा बहुमत आउँछ, अरु दलसँग गठबन्धन गर्नु पर्दैन’

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १३ गते १६:०८

१३ असार, चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिबाट रिटाएर्ड हुने समय आएको बताएका छन् । उनले रिटायर्ड हुनुअघि नै कांग्रेसलाई एकढिक्का बनाउने इच्छा पनि व्यक्त गरे ।

नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको प्रजातन्त्र सेनानी स्व गौरीदेवी प्रधानको सातौं  दिनको पूण्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जलीसभामा उनले पार्टी भित्रको गुटगत लडाइँप्रति चिन्ता व्यक्त गरे । ‘टिकट एउटाले पाउँछ, नपाउने हराउन लाग्छ । हाम्रो पार्टीको रोग नै यही हो,’ देउवाले भने, ‘हामी एक हुने हो भने हाम्रो पार्टीले एक्लैले बहुमत ल्याउन सक्छ । म रिटायर्ड हुन लाग्या छु । यो पार्टीलाई एक बनाउने इच्छा छ ।’

पार्टीभित्र एकता भए निर्वाचनमा एक्लै बहुमत ल्याउन सकिने र अरु पार्टीसँग तालमेल गर्न नपर्ने उनले बताए । ‘एक्लैले बहुमत न आउने भएपछि कुनै न कुनै पार्टीसँग मिल्नै पर्ने बाध्यता छ,’ उनले भने, ‘हिजो माओवादीसँग मिलियो, अहिले एमालेसँग मिलिएको छ, के गर्नुहुन्छ ? हामी ठूलो पार्टी भए पनि बहुमत थिएन । हाम्रो पार्टीमा सबै एक भयौं भने हाम्रो एक्लैले पनि बहुमत ल्याउन सक्छ ।’

नेपाली कांग्रेस बलियो बनाउने बाहेक अन्य सोच आफूमा नरहेको उनले बताए । ‘यही पार्टीको सभापति भएँ, पार्टीकै कारण पटक–पटक प्रधानमन्त्री पनि भएँ, पार्टीलाई मुलुकभर बलियो बनाउने बाहेक मेरो कुनै उद्देश्य छैन,’ देउवाले भने ।

निर्वाचनमा एक जनाले मात्र टिकट पाउने भएकाले टिकट नपाउनेले पाउनेलाई सहयोग गरेर अघि बढ्न सके पार्टी बलियो हुने उनको भनाइ छ ।

समानुपातिक र समावेशी प्रतिनिधित्वसहितको अहिलेको संविधान राम्रो भएको देउवाले बताए । ‘सबै जातजातिलाई समेट्ने छ । तर एउटै पार्टीले बहुमत ल्याउन गाह्रो छ,’ उनले भने ।

स्वर्गीय गौरीदेवी प्रधान र उनका श्रीमान् श्यामकृष्ण प्रधानले देखाएको बाटोमा लागेर उनीहरुले छाडेका अपूरा काम पूरा गर्न आवश्यक रहेको देउवाले बताए  । प्रधान परिवार प्रजातन्त्रमा आस्था राख्ने समाजसेवी र सहयोगी मनको भएको भन्दै उनले आफू पनि प्रधान परिवारसँग नजिक भएको स्मरण गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठले नेपाललाई समृद्ध बनाउने पार्टी कांग्रेस भएको बताए । इतिहासलाई सम्झेर जनताको चाहनाअनुसार पार्टीलाई अघि बढाउन सके कांग्रेस बलियो बन्ने उनले धारणा राखे ।

कांग्रेस नेता बिमलेन्द्र निधिले गठबन्धन आश्यकता र परिस्थिति हेरेर गर्न सकिने बताए । एक्लै बहुमत ल्याउन नसक्ने अवस्थामा गठबन्धन गरेर ठूलो दलका रुपमा आउन सकिने उनले बताए ।

कार्यक्रममा नेता डा शशांक कोइरालाले कांग्रेसलाई बलियो बनाउन सके संविधानको रक्षा हुने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमा रेग्मी र टेकप्रसाद गुरुङले समेत धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?