
१८ असार, काठमाडौं । नेकपा एमाले सांसद बासुदेव घिमिरेले राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य हो भन्न पनि लाज लागेको बताएका छन् ।
बुधवारको उक्त समितिको बैठकमा बोल्दै उनले कुलिङ पिरियडमा भएको चलखेलका कारण सांसदहरूलाई आम नागरिकले गिज्याइरहेको बताएका हुन् ।
‘राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य हौँ भन्न पनि लाज लाग्न थाल्यो,’ उनले भने, ‘नागरिकबाट यति धेरै गालीको वर्षा भएको छ, यो सामान्य खालको घटना होइन ।’
उनले थपे, ‘समितिको मात्र होइन, सिंगो संसदको अवहेलनाको काम गर्नुभएको छ ।’
सांसद घिमिरेले कुलिङ पिरियडमा दुई वर्ष हुनु हुँदैन भनेर भैलो खेल्न गएकाहरू पनि यसको छानबिनको दायरामा आउने बताए ।
सांसद घिमिरेले अधिकार सम्पन्न छानबिन समिति निर्माण गरेर दोषीउपर कारबाही गर्नुपर्ने माग गरे ।
उनले आम नागरिकले सांसदहरूले छलकपट गरेर ऐन पारित गरेको भन्दै आफूहरूको बेइज्जत गरिएको बताए ।
प्रतिक्रिया 4