
२९ असार, काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले पुराना पार्टीहरूले देश बिगारे भन्ने गरिएको भन्दै घण्टी बजाउँदै आएकाहरूको हालत पनि देखिएको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद केसीले राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ लक्षित गर्दै यस्तो बताएका हुन् ।
‘गणतन्त्र लोकतन्त्र विरोधीले त संसद बहिष्कार गर्नु स्वाभाविक कुरा हो । पुराना पार्टीहरुले देश बिगारे, घुस खाए भनेर घण्टी बजाउँदै आएकाहरुको हालत पनि त हामीले देखिरहेका छौं । अब त हस्ताक्षर अभियान पो चलिरहेको छ देशभरि’ उनले भने ।
सत्ता र सरकारमै रहेकाहरुको देश लुट्ने र घुस खाने प्रवृत्तिले लोकतन्त्र र गणतन्त्र विरोधीलाई मलजल मिलिरहेको उनको भनाइ थियो । सत्ता र शक्तिमा बस्नेहरूको काम राष्ट्र र जनताको हितमा नभई व्यक्तिगत स्वार्थमा मात्रै सीमित भएको टिप्पणी उनले गरे ।
‘स्वयं सत्तामा, सरकारमा बसेक मन्त्रीहरु भ्रष्टाचार गर्न, देश लुट्न, घुस खान लाजै नमान्ने भएपछि नेपाली जनतालाई गणतन्त्र र लोकतन्त्र आवश्यक छैन भनेर व्यापक रुपमा प्रचार गर्ने तत्वहरुलाई मलजल भएको छ कि छैन ?’ उनले भने, ‘अहिले पनि सत्ता र शक्तिमा बस्नेहरूको काम राष्ट्र र जनताको काम होइन कि विशुद्ध घुस खाने, भ्रष्टाचार गर्ने भयो त्यही बहानामा कति दिनदेखि संसद्मा होहल्ला भइरहेको छ ।’
प्रतिक्रिया 4