+
+
Shares

अन्तर्राष्ट्रिय सीमाबाट ५ किलोमिटरभित्र खुल्ने क्यासिनोलाई तोकियो सुरक्षा मापदण्ड

क्यासिनो स्थलमा कम्तीमा २० जना तालिम प्राप्त दक्ष सुरक्षाकर्मीको व्यवस्था गर्नुेपर्ने भएको छ ।

अच्युत पुरी अच्युत पुरी
२०८२ असार ३१ गते २०:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले अन्तर्राष्ट्रिय सीमा क्षेत्रबाट ५ किलोमिटरभित्र क्यासिनो खोल्न इच्छुक लगानीकर्ताले नयाँ सुरक्षा मापदण्ड पूरा गर्नुपर्ने नियमावली ल्याएको छ।
  • नयाँ नियमावली अनुसार क्यासिनो खोल्न पूर्वस्वीकृति लिन पर्यटन विभागमा निवेदन दिनुपर्ने र जिल्ला सुरक्षा समितिको सिफारिस आवश्यक पर्नेछ।
  • क्यासिनो सञ्चालनका लागि न्यूनतम चुक्ता पूँजी, सुरक्षा व्यवस्था, कर्मचारी संख्या र नेपाली नागरिकलाई प्रवेश निषेध लगायतका सर्तहरू तोकिएका छन्।

३१ असार, काठमाडौं । अन्तर्राष्ट्रिय सीमा क्षेत्रबाट ५ किलोमिटरभित्र क्यासिनो खोल्न इच्छुक लगानीकर्ताले अब तोकिएको सुरक्षा मापदण्ड पूरा गर्नुपर्ने भएको छ ।

सरकारले १२ वर्षपछि नयाँ क्यासिनो नियमावली ल्याएर यस्तो मापदण्ड बनाएको हो । नियमावलीले अब अन्तर्राष्ट्रिय सीमा क्षेत्रबाट ५ किलोमिटरभित्र क्यासिनो चलाउने लगानीकर्ताका हकमा सुरक्षा मापदण्ड ल्याएको हो ।

यसअघि २०७० सालमा आएको मापदण्डले ३ किलोमिटरभित्र क्यासिनो खोल्न नपाउने नियम राखेको थियो । त्यसमा अब परिवर्तन भएको छ ।

क्यासिनो खोल्न पूर्वस्वीकृति लिन चाहने व्यक्तिले पर्यटन विभागमा निवेदन दिनुपर्छ । त्यसक्रममा सीमाबाट ५ किलोमिटरभित्र क्यासिनो सञ्चालन गर्न चाहे सुरक्षा योजना सहित अन्तर्राष्ट्रिय सीमा सुरक्षो मूल्यांकन गरी प्रचलित कानुन बमोजिम जिल्ला सुरक्षा समितिले क्यासिनो सञ्चालनका लागि गरेको सिफारिस आवश्यक पर्ने छ ।

क्यासिनो स्थलमा कम्तीमा २० जना तालिम प्राप्त दक्ष सुरक्षाकर्मीको व्यवस्था गर्नुेपर्ने भएको छ । यसअघि नै सञ्चालनमा रहेका क्यासिनोले चैत २०८३ भित्र तोकिएको मापदण्ड पूरा गर्नुपर्ने गरी तोकिएको छ ।

बढ्यो चुक्ता पूँजी

सरकारले क्यासिनो स्थापना गर्दा आवश्यक चुक्ता पूँजी रकम समेत बढाएको छ । यसअघि २५ करोडको सीमा रहेको चुक्ता पूँजी ठूलो क्यासिनोका हकमा ३० करोड पुर्‍याइएको छ । साना क्यासिनो (मेसिन वा विद्युतीय उपकरणका माध्यमबाट खेलाइने) का हकमा २० करोड पुगेको नियमावलीमा उल्लेख छ ।

यस्तो चुक्ता पूँजी यसअघि सञ्चालनमा रहेका क्यासिनाले २०८५ चैत मसान्तभित्र पूरा गरिसक्नु पर्ने समेत नयाँ नियमावलीले समय तोकेको छ ।

चारतारे वा त्यसभन्दा माथिको होटलमा क्यासिनो खोल्दा अब उक्त होटल सञ्चालकले आफ्नो होटल वा रिसोर्ट परिसरमा क्यासिनो सञ्चालन गर्न दिएको लिखित सहमति समेत पूर्वस्वीकृतिका बेला बुझाउनु पर्ने छ ।

कम्पनी सञ्चालक १८ वर्ष नपुगेमा कम्पनी सञ्चालन अनुमति दिइने छैन । एक होटल/रिसोर्ट परिसरमा एकभन्दा धेरै क्यासिनो चलाउन पाइने छैन ।

क्यासिनोमा आवश्यक पूर्वाधार के तोकियो ?

पूर्वस्वीकृति पाइसकेपछि सञ्चालन लाइसेन्स लिन पूर्वाधार तथा योग्यता सम्बन्धी सर्त पूरा गरेको हुनुपर्ने छ । नियमावली अनुसार चोरी वा ठगी हुन नदिन निगरानी गर्ने विद्युतीय पूर्वाधार निर्माण हुनपर्ने गरी तोकिएको छ । हानि नोक्सानी अभिलेख तथा आन्तरिक र वाह्य नियन्त्रण प्रणालीको व्यवस्था गर्नुपर्ने भएको छ ।

कम्तीमा ४० हर्स पावर भएको अग्नि नियन्त्रण प्रणालीको व्यवस्था तोकिएको छ । सीसीटीभी क्यामराको फुटेजको अभिलेख ६ महिनासम्म भण्डारण गर्न सकिने हुनुपर्ने भएको छ । क्यासिनोमा अनुशासन कायम गर्न र भिड नियन्त्रण गर्न कम्तीमा ५ जना सुरक्षाकर्मी अनिवार्य गरिएको छ ।

यो अन्तर्राष्ट्रिय सीमा क्षेत्रबाट ५ किलोमिटरभित्रका क्यासिनोका हकमा भने सुरक्षा मापदण्ड अनुसार हुने भएको छ । यसबाहेक सुरक्षा, ग्राहक पहिचान, मनी लाउन्ड्रिङ सम्बन्धी नियमका सर्त तोकिएका छन् ।

इजाजतपत्र दस्तुर ठूलो क्यासिनोका हकमा १५ लाख र सानो क्यासिनोका हकमा १० लाख रुपैयाँ तोकिएको छ । इजाजतपत्र नवीकरण शुल्क भने ठूलो क्यासिनोलाई १ करोड ५० लाख र सानो क्यासिनोलाई ७५ लाख रुपैयाँ लाग्ने छ ।

न्यूनतम ५० नेपालीलाई रोजगारी दिने सुनिश्चितता

अब साना क्यासिनोका हकमा न्यूनतम ५० जनालाई रोजगारी दिनुपर्ने भएको छ । ठूलो क्यासिनोले १ सय ५० जनालाई रोजगारी दिनुपर्ने गरी सर्त तोकिएको छ । खेलाडीलाई ऋण वा सापटी दिई खेल खेलाउन नहुने समेत सर्त राखिएको छ ।

क्यासिनो स्थलभित्र अनैतिक, अमर्यादित वा आपराधिक क्रियाकलाप गर्न नहुने समेत कम्पनीको सर्तमा राखिएको छ । नेपाली परम्परा, संस्कृति र सामाजिक मर्यादा प्रतिकूल हुने गरी क्यासिनो खेलाउन समेत पाइने छैन । नेपाली खानाका परिकार प्रवर्द्धन गर्नुपर्ने भएको छ ।

नेपाली नागरिकलाई प्रवेश निषेध

नयाँ नियमावलीले समेत नेपाली नागरिकलाई क्यासिनो प्रवेश गर्न र खेल्न रोक लगाएको छ । तर, क्यासिनोका कर्मचारीका रूपमा प्रवेश गर्न भने रोक लगाइएको छैन । तोकिएको निकायका सरकारी कर्मचारीले कर्तव्य पालनका सिलसिलामा भने क्यासिनो प्रवेश गर्न सक्ने छन् ।

यस्ता छन् भुक्तानी सर्त

खेलाडीले जितेको रकम आकस्मिक लाभ कर कट्टी गरेरमात्र दिनुपर्ने भएको छ । त्यस्तो कर कट्टा भएकै दिन आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने सर्त तोकिएको छ ।

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?