
News Summary
Generated by OK AI. Editorially reviewed.- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फिल्म ‘महाभोज’ हेरेर यसको गहिरो भाव बुझ्न आजको पुस्तालाई आग्रह गर्नुभएको छ।
- प्रचण्डले फिल्मलाई चाखलाग्दो, तथ्यपरक र सन्देशमुलक भनेका छन् र सामन्तवाद अन्त्य भए पनि अवशेष बाँकी रहेको उल्लेख गर्नुभएको छ।
- फिल्मले सहकारी संकट र पूर्वमाओवादी लडाकुहरू शान्ति प्रक्रियामा आएर आर्थिक क्रान्तिमा अघि बढेको कथा भन्छ र दयाहाङ राई लगायत कलाकारको अभिनय छ।
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार फिल्म ‘महाभोज’ हेरेका छन् । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वउपराष्ट्रपति वर्षमान पुन, नेताहरू पम्फा भुसाल, शक्ति बस्नेत, देव गुरुङ लगायतले फिल्म हेरे ।
फिल्म हेरेपछि प्रचण्डले सामाजिक संजालबाट फिल्मको समीक्षा गरेका छन् । आजको पुस्ताले यो फिल्म हेरेर यसको गहिरो भाव बुझ्न सक्ने उनले जनाएका छन् ।
लामो समयपछि हलमा पुगेर फिल्म हेरेको र यो फिल्म आफूलाई चाखलाग्दो, तथ्यपरक र सन्देशमुलक लागेको प्रचण्डले जनाएका छन् ।
‘त्याग र बलिदानबाट सामन्तवादको अन्त्य भए पनि यसको केही अवशेष अझै बाँकी छन् । यही देशमै केही गर्नुपर्छ, गर्न सकिन्छ भन्ने अठोटका साथ समाज परिवर्तनका लागि लडेका योद्धाहरू अझै पनि सामन्तवादका विरुद्ध लड्ने साहस राख्छन्, र एकदिन समाज परिवर्तन गरेरै छाड्छन् भन्ने सन्देश यो चलचित्रले दिन खोजेको छ’ उनले भनेका छन् ।
‘ यस सन्देशलाई जीवन्त अभिनयमार्फत प्रस्तुत गर्ने सम्पूर्ण कलाकार मित्रहरू, निर्माता, निर्देशक तथा निर्माण टिमका सबै सदस्यहरूलाई म मनदेखि धन्यवाद दिन चाहन्छु । आजको पुस्ताले यो चलचित्र एक पटक अवश्य हेरेर यसको गहिरो भाव बुझुन् भन्ने मेरो हार्दिक अपिल छ’ उनले भनेका छन् ।
दिनेश राउत निर्देशित यो फिल्मले सहकारी संकटको कथा भन्छ । फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, अन्जना बराइली, गौमाया गुरुङ लगायतको अभिनय छ । दुई पूर्वमाओवादी लडाकु शान्ति प्रक्रियामा आएर सहकारीमार्फत आर्थिक क्रान्तिमा अघि बढेको कथा पनि यसमा छ ।
प्रतिक्रिया 4