
५ साउन, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य निरज आचार्यले जिल्ला कमिटीलाई समन्वय कमिटीमा बदल्नुपर्ने प्रस्ताव ल्याएका छन् ।
केन्द्रीय कमिटी बैठकमा आचार्यले जिल्लालाई अहिले जस्तो कार्यकारी भूमिकामा राख्न आवश्यक नरहेको प्रस्ताव ल्याएका हुन् । जिल्लाको साटो अब निर्वाचन क्षेत्रीय कमिटीलाई कार्यकारी कमिटी बनाउनुपर्ने सुझाव उनले राखेका छन् ।
‘राज्यको ढाँचा अनुरुप जिल्लालाई समन्वय कमिटीका रुपमा राख्नुपर्छ । यो कमिटी कार्यकारी हुने छैन,’ आचार्यको प्रस्ताव छ, ‘निर्वाचन क्षेत्रीय कमिटीलाई कार्यकारी कमिटी बनाउनु पर्छ । यसले त्यस निर्वाचन क्षेत्रको विकास, जनताको समृद्धिसँग सम्बन्धित भएर काम गर्ने छ ।’ पालिका र वडा कमिटीलाई पनि कार्यकारी कमिटी बनाउनुपर्ने उनको प्रस्ताव छ । ‘अबको सम्पूर्ण पार्टी कामको केन्द्र वडा विकास कमिटीलाई बनाउनुपर्छ’ उनले भनेका छन् ।
आचार्यले स्थायी कमिटीलाई पदाधिकारी मात्र रहने कमिटी बनाउनुपर्ने, पोलिटब्युरोलाई विभाग र प्रदेशको नेतृत्व गर्ने कमिटी बनाउनुपर्ने प्रस्ताव गरेका छन् ।
प्रदेश कमिटीले प्रदेश पार्टी कामको नेतृत्व गर्नुपर्ने उनको प्रस्ताव छ ।
प्रतिक्रिया 4