+
+
Shares

मनमोहन बाहेकका कम्युनिष्ट नेताले असुली धन्दा चलाएकै छन् : जनार्दन शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ६ गते १५:४९

६ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नेपालका कम्युनिष्ट नेताहरूले असुली धन्दा गरेको ठहर भएको जिकिर गरेका छन् ।

पुष्पलाल स्मृति दिवसका अवसर पारेर मंगलबार मार्क्सवादी अध्ययन केन्द्रले काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उपमहासचिव शर्माले यस्तो बताएका हुन् ।

उनले ९ पटक कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बन्दा पनि देशको गरिबीको अवस्था उस्तै रहेको भन्दै चिन्ता व्यक्त गरे ।

उनले यो प्रश्न इतिहासकै सबैभन्दा बलियो प्रश्न रहेको पनि बताए ।

सम्बोधनको क्रममा उनले मनमोहन अधिकारी बाहेकका अन्य कम्युनिष्ट पार्टीका नेताले असुली धन्दा गरेको ठहर भएको जिकिर गरे ।

‘प्रधानमन्त्रीले भ्रष्टाचार नगर्ने र गर्न नदिने हो भने आधा भ्रष्टाचार त्यसै घट्छ । तर त्यस्तो संकल्प हाम्रो नेतृत्वमा देखिएन,’ उपमहासचिव शर्माले भने, ‘दु:खका साथ भन्नुपर्छ मनमोहन अधिकारीबाहेक अरू कम्युनिष्ट नेताले असुली धन्दा गरेकै छन्,यो ठहर भएकै छ ।’

उनले यसलाई आरोप नभइ यथार्थको रुपमा बुझ्न पनि आग्रह गरे ।

‘आज यहाँसम्म आइपुग्दा सायद ९ पटक कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बनेको छ । ९ पटक कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बनिरहँदा आज देशको गरिबीको अवस्था, बहुआयामिक गरिबीको जो अवस्था छ,’ उपमहासचिव शर्माले भने, ‘आज उत्पीडित जातीमाथिको अत्याचार के भइरहेको छ, पहिचानका मुद्दा जसरी हराइरहेका छन् । आज लाखौं लाख युवाहरू विदेशमा गएर विदेशको भूमिमा श्रम पसिना बगाइरहेका छन् ।’

उनले कम्युनिष्ट पार्टीको नेतृत्वमा बनेका सरकारले जनतालाई के दियो ? भन्दै प्रश्न गरे ।

‘आज इतिहासको सबैभन्दा कटु प्रश्न हो यो । ९/९ पटक सरकारको नेतृत्व गर्दा हामीले के दियौं ? के बदल्यौं ? वा के गर्‍यौं ? यो गम्भीर प्रश्न छ । यो समाज परिवर्तनको नयाँ अभियानसँग सम्बन्धित प्रश्न हो,’ शर्माले भने ।

यो प्रश्नको उत्तर आजका कम्युनिष्ट पार्टीका व्यवहार र तरिकालाई फेर्न सक्छौं कि सक्दैनौं भन्ने मुख्य कुरा रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?