
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १५औं महाधिवेशनका सभापतिको उम्मेदवारका लागि कसैलाई पनि समर्थन गर्ने वचन नदिएको बताएका छन्।
- देउवालाई भेट्न गएका पाँच पूर्वपदाधिकारीले कांग्रेस–एमाले सहमति कार्यान्वयन गर्न र मन्त्रीहरूको कामको मूल्यांकन गरेर फिर्ता गर्न सुझाव दिएका छन्।
६ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १५औं महाधिवेशनका सभापतिको उम्मेदवारका लागि कसैलाई पनि समर्थन गर्ने वचन नदिएको बताएका छन् ।
सभापतिलाई भेट्न बूढानीलकण्ठ गएका पाँच पूर्वपदाधिकारीलाई देउवाले आफूले कसैलाई पनि ‘ग्रिन सिग्नल’ नदिएको बताएको भेटमा सहभागी नेता गोपालमान श्रेष्ठले जानकारी गराए ।
नेताहरूको जिज्ञासामा सभापति देउवाले कोही कसैलाई आफूले समर्थन गर्ने नबताएको बताएका थिए ।
बैठकमा सभापतिसँग आफूले राखेको भनाइबारे श्रेष्ठले भने, ‘१४औं महाधिवेशनमा म सभापतिको उम्मेदवार हुन्छु भनेको थिएँ । तपाईंले १५औं महाधिवेशनमा मलाई बनाउने वचन दिनु भएको थियो । सोही कारण त्यसबेला मैले उम्मेदवारी छाडेको भन्दा उहाँ (देउवा) हाँस्नुभयो ।’
देउवालाई भेट्न नेताहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विजय गच्छदार, गोपालमान श्रेष्ठ र डा. प्रकाशशरण महत पुगेका थिए ।
सात जना पूर्वपदाधिकारी समूहमध्ये विमलेन्द्र निधि र डा. शशांक कोइराला भने भेटमा सहभागी थिएनन् ।
कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूको कामको मूल्यांकन गरेर फिर्ता गर्न सुझाव दिइएको उनले बताए ।
‘राम्रो काम गर्नेलाई राख्ने र राम्रा काम गर्न नसकेका मन्त्रीलाई हटाउन सुझाव दिऔं,’ श्रेष्ठले भने । बैठकमा सरकारको प्रभावकारिताका विषयमा पनि कुरा भएको उनले बताए ।
कांग्रेसका सात पूर्वपदाधिकारीले आगामी महाधिवशेनमा छुट्टै समीकरण बनाउने गरी निरन्तर भेटघाट गर्दै आएका छन् ।
त्यसै क्रममा सोमबार नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा नेताहरू छलफलमा जुटेका थिए ।
सिंह निवासमा भएको छलफलको आधारमा सरकार र सभापति देउवालाई कांग्रेस–एमाले बीचमा भएको सहमति कार्यान्वयन गर्न ध्यानाकर्षण गराउने उद्देश्यले नेताहरू बूढानीलकण्ठ पुगेका थिए ।
प्रतिक्रिया 4