
७ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले पनि आफू कम्युनिष्टहरूको एकताका लागि झण्डा बोकेर हिँडिरहेको बताएका छन् ।
कम्युनिष्ट आन्दोलनमा आफ्नो ३६ वर्षीय लामो भूमिकाको स्मरण गर्दै उनले यस्तो बताएका हुन् ।
पुष्पलाल स्मृति दिवसको अवसरमा आज काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्ने क्रममा उनले विद्रोह, शान्ति प्रक्रिया र पार्टी एकताका लागि आफूले नेतृत्व गरेको बताए ।
उनले पुष्पलालको श्रद्धाका लागि पनि कम्युनिष्ट आन्दोलनलाई एक बनाउन लाग्नुपर्ने पनि बताए ।
‘कहिले विद्रोह, कहिले शान्ति प्रक्रिया, कहिले पार्टी एकता- यी सबैमा मैले नेतृत्व गरेको हुँ । अहिले पनि म कम्युनिष्टहरूको एकताको झण्डा बोकेको छु,’ प्रचण्डले भने ।
वर्तमान परिस्थितिमा केही भ्रम फैलाउने प्रवृत्ति देखिएको उल्लेख गर्दै त्यसविरुद्ध जनता र क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध गराउनुपर्नेमा प्रचण्डले जोड दिए ।
अध्यक्ष प्रचण्डले नेपाली कम्युनिष्ट आन्दोलनका साझा व्यक्तित्वका रूपमा पुष्पलाललाई स्मरण गर्नुपर्ने उनले बताए । ‘पुष्पलाल हामी सबैको साझा केन्द्र हुनुहुन्छ। उहाँलाई केन्द्रमा राखेर सच्चा कम्युनिष्टहरूले पार्टी एकता र मोर्चा निर्माण गर्नु आजको आवश्यकता हो,’ प्रचण्डले भने ।
पुष्पलाललाई जनयुद्धका क्रममा सम्मान गर्ने गरी नै आफूले दस्तावेज लेखेको प्रचण्डको भनाइ थियो ।
अध्यक्ष प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई संस्थागत गर्दै अगाडि बढ्नका लागि पुष्पलालको विचारलाई मूल मार्गदर्शक मान्नुपर्ने धारणा व्यक्त गरे ।
प्रतिक्रिया 4