
News Summary
Generated by OK AI. Editorially reviewed.- जिल्ला अदालत काभ्रेपलाञ्चोकले थुनामा पठाउने आदेश उल्टाउँदै वडाअध्यक्ष अशोककुमार गौतमलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश उच्च अदालत पाटनले दिएको छ।
- गौतमलाई सरकारी सम्पति झुलुङ्गे पुल र पक्की पुलको फलाम कबाडीलाई बेचेर दोहन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धुलिखेलले पक्राउ गरी मुद्दा चलाएको थियो।
- गौतमले कबाडी व्यवसायी मार्फत फलाम बिक्री वापतको रकम मोबाइल बैंकिङ प्रणालीबाट भुक्तानी लिएको प्रमाणका आधारमा पक्राउ गरिएको थियो।
८ असार, काभ्रेपलाञ्चोक । राज्यको सम्पति बेचेर आफ्नो निजी बैंक खातामा पैसा जम्मा गराएको आरोपमा पक्राउ परेका रोशी गाउँपालिका-७ का अध्यक्ष अशोककुमार गौतमलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले पूर्पक्षका लागि थुनामा पठाउन दिएको आदेश उच्च अदालत पाटनले उल्ट्याइदिएको छ ।
बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्धय श्यामकुमार भट्टराई र खडानन्द तिवारीको इजलासले वडाअध्यक्ष गौतमलाई ५ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको जिल्ला अदालतको आदेश उल्ट्याउँदै धरौटीमा छाड्न आदेश दिएको जिल्ला अदालत काभ्रेपलाञ्चोकका निमित्त श्रेस्तेदार कविता दाहालले अनलाइनखबरलाई जानकारी दिइन् । वडाअध्यक्ष गौतम पक्षले जिल्ला अदालतको आदेश पुनर्विचार गर्न माग गर्दै १९ असारमा उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए ।
जिल्ला कारागार काभ्रेमा रहेका गौतमलाई उच्चबाट प्राप्त पत्रका आधारमा धरौटी रकम लिएर छाडिएको दाहालले बताइन् । उनका अनुसार गौतमले ५ लाख रुपैयाँ नगद धरौटी बुझाएका थिए । वडाध्यक्ष गौतमसँगै पूर्पक्षमा गएका कबाडी व्यवसायी मन्टुकुमारको मुद्दा भने उच्च अदालतमा विचाराधीन छ ।
वडाअध्यक्ष गौतमलाई रोशी गाउँपालिका-७ रघुचौरको झुलुङ्गे पुल र रोशी गाउँपालिका र महाभारत गाउँपालिकाका नागरिक आवतजावत गर्ने पक्की पुलको फलाम सम्बन्धित पक्षसँग समन्वय नगरी कबाडीलाई बेचेर सरकारी सम्पति दोहन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धुलिखेलले पक्राउ गरेर मुद्दा चलाएको थियो ।
उक्त मुद्दाको फैसला गर्दै गत असार ५ गते जिल्ला अदालत, काभ्रेपलाञ्चोकका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले गौतम र कबाडी व्यवसायी मन्टुकुमारलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
वडाअध्यक्षले सम्बन्धित पक्षसँग समन्वय नगरी सरकारी सम्पति मनोमानी ढंगबाट बिक्री वितरण गरेको भन्दै स्थानीयले गौतमको विरुद्ध उजुरी दिएका थिए ।
उजुरीको आधारमा कटुञ्जे प्रहरी चौकीले रोशी–७, थानसिङ्गबेशीबाट गत जेठ १२ गते राति कबाडीमा लान लोड भएका पुलका सामान बोकेका बा ५ ख ४६२६ र बा २ ख ४००१ नम्बरका ट्रक नियन्त्रणमा लिएको थियो ।
प्रहरीले ट्रकसहित कबाडी व्यवसायी मन्टुकुमार र जितेन्द्र पासवानलाई नियन्त्रणमा लिएको थियो । साथै टिपर चालक काभ्रेको भुम्लु गाउँपालिका–९ का मानबहादुर तामाङ र रोशी गाउँपालिका–८ का रमेश लामालाई समेत प्रहरीले पक्राउ गरेको थियो ।
वडाअध्यक्ष गौतमलाई जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले काभ्रे भन्ज्याङ्गबाट पक्राउ गरेको थियो । गौतमले कबाडी व्यवसायी मार्फत फलामको बिक्री वापतको रकम मोवाईल बैकिङ्ग प्रणाली मार्फत भुक्तानी लिईसकेको व्यवसायी मन्टुकुमारले प्रहरीलाई बयान दिएका थिए ।
सोही बयान र प्रमाणका आधारमा गौतमलाई पक्राउ गरिएको थियो । उनले दुईठाउँको पुल बिक्री गरेका थिए ।
प्रतिक्रिया 4